वैदेशिक रोजगारीमा ४३ लाख युवा

वैदेशिक रोजगारीमा ४३ लाख युवा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १४, २०७६

काठमाडौं । युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याइए पनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष (आव) २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष र एक लाख ९८ हजार १०५ महिला रहेका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष कामदारको संख्या निकै कम मात्र रहेको छ । १.५ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै अर्धदक्ष २४ प्रतिशत र अदक्ष कामदार ७४.५ प्रतिशत वैदेशिक रोजगारीमा गएका छन् ।

आव २०७५/७६ को फागुन मसान्तसम्म सबैभन्दा बढी युवा रोजगारीका लागि मलेसिया गएका छन् । मलेसियामा ३०.०१, कतारमा २७.४, साउदी अरबमा २०.०२, संयुक्त अरब इमिरेट्स (युएई)मा १३.१ र अन्य मुलुकमा ९.२ प्रतिशत रहेका छन् ।

आव २०७४/७५ मा तीन लाख ३९ हजार १३८ पुरुष र २२ हजार ८०३ महिला गरी तीन लाख ६१ हजार ९४१ कामदार वैदेशिक रोजगारीमा गएका थिए । चालू आवको फागुन मसान्तसम्म एक लाख ५६ हजार ९३ कामदार वैदेशिक रोजगारीमा गएका छन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारको संख्या पछिल्ला वर्षमा घट्दो क्रममा छ ।

चालू आवको पहिलो आठ महिनाको अवधिमा ५४ हजार ३९ युवा श्रम स्वीकृति लिएर कतार, दुई हजार ७११ मलेसिया, २७ हजार ४१९ साउदी अरेबिया, ४० हजार ८६५ संयुक्त अरब इमिरेट्स र १० हजार ८६ कुवेत गएका छन् । त्यस्तै, तीन हजार ११७ बहराइन, एक हजार ७३६ ओमन, दक्षिण कोरिया चार हजार १४२, लेबनान चार, इजराजय ४६, एक हजार सात अफगानिस्तान, ५४७ जापान र १० हजार ३७४ युवा अन्य मुलुक गएका छन् ।

सरकारले संस्थागत रूपमा ११० वटा देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । त्यस्तै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भने १६७ भन्दा बढी देश खुला गरिएको छ । सरकारले ११० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारमा जान खुला गरेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा १७२ मुलुकमा नेपाली कामका लागि वैदेशिक रोजगारीमा गएका छन् । हाल लिबिया र इराकमा काम गर्न जान श्रम स्वीकृति दिन स्थगित गरिएको छ ।

नेपाली कामदारको मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, कुवेत, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रहेका छन् । आव २०६६/६७ देखि २०७५/७६ फागुन मसान्तसम्म करिब ४५ लाख ४० हजार ९०६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

आव २०७५/०७६ को फागुसम्म आव २०७४/०७५ को सोही अवधिको तुलनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको कुल संख्यामा कमी आएको छ । विगत केही समयदेखि वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य मुलुक मलेसियामा कामदार जान अवरोध भएकाले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो ।

आव २०७३/७४ मा चार लाख १९ हजार ८१३, आव २०७४/०७५ मा चार लाख १३ हजार ७७१ र चालू आवको फागुन मसान्तसम्म तीन लाख ३२ हजार ४२६ युवाले श्रम स्वीकृति लिएका छन् । सरकारले क्षेत्रगत रूपमा राष्ट्रिय रोजगार नीति, २०७१ र वैदेशिक रोजगार नीति, २०६८ कार्यान्वयनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय श्रम संगठन अभिसन्धिमार्फत् सुरक्षित रोजगारीको प्रवद्र्धन, बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य र उत्पादकत्व अभिवृद्धि गर्ने रणनीतिअनुरुप विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

सबै नागरिकलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रूपमा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्ने, आन्तरिक रोजगारी र उद्यमशीलताको प्रवद्र्धन गरी वैदेशिक रोजगारीको बढ्दो निर्भरतालाई कम गर्ने नीति लिएको छ ।

कामका लागि पारिश्रमिकमार्फत् गरिबी न्यूनीकरण र सामाजिक संरक्षणमा योगदान पुर्याउने, स्थानीयस्तरमा विकास निर्माण कार्यमार्फत् सार्वजनिक पूँजी निर्माण गरी स्थानीय जनताको जीवनस्तर सुधार गर्न मद्धत पुर्याउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

रोजगारीको सिर्जना गर्दा सार्वजनिक क्षेत्रका विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजनामा श्रमिकको माग हुने र मागबमोजिमका श्रमिकको आपूर्ति रोजगार सेवा केन्द्रमार्फत् हुने भई सबै स्थानीय तहमा श्रमको माग र आपूर्तिको औपचारिक संयन्त्रको विकास गरिएको राससमा अशोक घिमिरे लेखेका छन् ।