सोच, चिन्तन र कार्यशैली बेगरको बैकल्पिक शक्ति 'डेट एक्स्पायर एजेण्डा' मा अवसान !

सोच, चिन्तन र कार्यशैली बेगरको बैकल्पिक शक्ति 'डेट एक्स्पायर एजेण्डा' मा अवसान !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १३, २०७९

नेपालले राजनीतिक अस्थिरता र सामाजिक विशृङ्खलताको लामो समय पार गरेको छ । वि.सं. २००२ सालयता कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष सरकारको नेतृत्व गर्न पाएका छैनन् । प्रजातन्त्र, पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्र अनेकौँ तन्त्रहरु आए पनि जनताको तन्त्र अझैसम्म आउन सकेको छैन । जनताले गरिबी, अशिक्षा र अन्धकारको लामो युग पार गरेका छन् ।

देश बनाउँछु भन्नेहरु जनताको अभिमत लिएर सत्तामा पुग्ने र देश लुट्नमै मस्त छन् । विकास र समृद्धि यहाँ केबल भनिने र भ्रम दिने कुरा हुन् । नेताको समृद्धि भएपछि जनताको समृद्धि सधैं ओझेलमा पर्छ । बजार बिचौलियाको हातमा छ । तिनै बिचौलियाको हातमा छन्, नेता ।

जनतालाई महँगीको मारबाट जोगाउने अभिव्यक्ति दिन पनि बिचौलियाको खर्चमा सवार हुन्छन् । जनता र बिचौलियासँग गरेका बाचाहरू परस्पर विरोधी हुन्छन् । एकको भलाई गर्दा अर्कोलाई निमोठ्नुपर्छ । अक्सर निमोठिनेहरू निमुखा, निम्न र निम्न मध्यम वर्गका जनता नै हुन्छन् ।

यसले नेपालको राजनीतिक र राजनीतिक दलप्रति जनतामा चरम निराशा बढ्दै गएको छ । यही चरम निराशालाई मौकाको रुपमा प्रयोग गर्दै विभिन्न व्यक्तिहरुले वैकल्पिक राजनीतिको जग बसाउने उद्‍घोषसहित पार्टी खोज्ने क्रम केही वर्षयता ह्वात्तै बढेको छ । 

२०७२ सालमा संविधान जारी गरेपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै डा.बाबुराम भट्टराईले माओवादी पार्टी छाडे र नयाँ शक्ति नामको राजनीतिक पार्टी बनाए । २०७३ को स्थानीय तह निर्वाचनसँगै विवेकशील नेपाली र साझा पार्टीले आफूलाई वैकल्पिक शक्तिका रुपमा उभ्याए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा साझा पार्टीबाट उम्मेदवार बनेका रविन्द्र मिश्रले काँग्रेसका प्रकाशमान सिंहलाई कडा टक्कर दिए । 

मिश्रको एउटै कुरा थियो, अब देशलाई विकास र समृद्धिको दिशामा लैजानुपर्छ । त्यसका लागि पुराना राजनीतिक शक्तिबाट सम्भव छैन । जनतालाई उनी सधैं प्रश्न गर्थे– होटलमा मेनु हेर्ने हेर्ने अनि मःमः नै अर्डर गर्ने ? यो प्रवृत्तिबाट मुक्त हुनुपर्छ र वैकल्पिक शक्ति रोज्नुपर्छ । 

यो बिचमा उनी साझाबाट विवेकशील नेपालीसँग एकता गर्दै विवेकशील साझाको अध्यक्ष बने । एक एक पटक फुट र जुट तथा पछिल्लो समयमा विचारभन्दा माथि देश भन्ने दस्तावेज ल्याए सँगै विवेकशील साझा एक पटक फेरि थला पर्‍यो । अघिल्लो निर्वाचनमा काठमाडौंमा बलियो उपस्थिति देखाएका विवेकशील र साझा पार्टीले गत स्थानीय तह निर्वाचनमा एक भएर लड्दा समेत प्रभाव देखाउन सकेनन् ।

बैकल्पिक राजनीतिक शक्ति बनाउन हिँडेका बाबुराम नयाँ शक्तिबाट, संघीय समाजवादी, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टीबाट आइपुगेका छन् र एक खुट्टो माओवादीमा र अर्को खुट्टो नेपाल समाजवादी पार्टीमा बनाएर बसेका छन् । वैकल्पिक शक्ति भन्ने विवेकशील साझा थला परेको अवस्थामा छ । 

देशैभर एक स्थानीय तहमा मात्रै विवेकशील साझाले जित्यो । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागेका मिश्र अन्ततः राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा बोक्दै औपचारिक रुपमा राप्रपामा प्रवेश गरेका छन् । मिश्र आफैंले पाँच वर्ष लगाएर मेनु हेरे र पुरानै दलका नेताको शैलीमा मःमः तिर लहसिए । राप्रपा यस्तो ‘मःमः’ हो जसको जरा बहुदल कालसँग मात्रै होइन, पञ्चायतसँग जोडिन्छ । देश गणतन्त्रमा प्रवेश गरेको डेढ दशक पुग्दा पनि यो पार्टीले हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेको छ । 

वैकल्पिक राजनीतिक शक्ति बनाउन हिँडेका बाबुराम नयाँ शक्तिबाट, संघीय समाजवादी, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टीबाट आइपुगेका छन् र एक खुट्टो माओवादीमा र अर्को खुट्टो नेपाल समाजवादी पार्टीमा बनाएर बसेका छन् । वैकल्पिक शक्ति भन्ने विवेकशील साझा थला परेको अवस्थामा छ । 

यसबाट नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको क्रम करिब असफल साबित भएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेकाहरू कि त घुमिफिरी पुरानै शक्तिमा फर्किने वा समाप्त हुनुपर्ने गम्भीर अवस्थामा देखिन्छन् । 

रविन्द्र मिश्रको वैकल्पिक राजनीतिक शक्ति चुनावमार्फत जनताबाट अस्वीकृत भएपछि उनी हिन्दु राष्ट्र र राजतन्त्रको 'डेट एक्स्पायर एजेण्डा'  लिएर राप्रपामा पुगेका छन् ।

मिश्रले राप्रपा प्रवेश गर्दै वैकल्पिक राजनीतिक शक्ति बनाउने अभियान जनताको असहयोगका कारण सम्भव नभएको र मार्ग परिवर्तन गरेर राप्रपामा आएको बताए । देशमा संघीयता आर्थिक सँगै राजनीतिक नधान्ने, चामलका बोरामा बाइबल राखेर धर्म परिवर्तन गराएको, नेपाल कमजोर हुँदा भूराजनीतिको केन्द्र बनेको, दलहरूले राजनीतिका नाममा रजाइँ गरेकोले आफूले विचारभन्दा माथि देशमार्फत राप्रपामा राजनीतिक अवतरण गरेको कारण पेस गरे ।

कार्यक्रममा उनी काँग्रेस र कम्युनिस्ट विरुद्ध निकै कडा रुपमा प्रस्तुत भए । काँग्रेसले बीपीको अपमान गरेको देखि गणेशमान र कृष्णप्रसाद भट्टराईलाई रुवाउँदै पार्टीबाट हट्न बाध्य बनाएको तथा घरमा चारतारे झण्डा राख्दा घाँटी काट्नेहरूसँग अग्रगामी भन्दै काँग्रेसले गला जोडेको भन्दै आक्रोश पोखे । 

मिश्रको राप्रपा प्रवेशसँगै नेपाली राजनीतिमा ५ छोटो समय देखिएको एउटा भ्रमको अन्त्य भएको छ । शक्ति र सत्ताका लागि जुनसुकै व्यक्ति जतिसुकै बेला जहाँ पनि पुग्नसक्छ भन्ने अर्को भद्दा मानक यसले स्थापित गरेको छ । देशको राजनीतिक व्यवस्था, स्थिरता र विकासका लागि राजनीतिक दल हैन, सोच, चिन्तन र कार्यशैलीमा परिवर्तन जरुरी छ ।