भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १४, २०७९

काठमाडौँ । साहित्यकार भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अर्पण गर्नुभयो । उहाँले ढुङ्गानालाई माला, खादा र सम्मान पत्र सहित २५ हजार नगद पुरस्कार अर्पण गरियो ।

मान्छेको खुसी साना साना कुरामा पनि रहेको हुन्छ भन्दै यो खुसी आफ्नो लागि ठूलो भएको ढुङ्गानाले बताइन् । कार्कीले आफ्ना माता–पिताको नाममा स्थापना गरेको सम्मान पहिलो पटक आफूले पाउँदा गर्व लागेको उनले बताइन् । २८ वर्ष अघिको भेट र आशीर्वादले आज राधा कार्की साहित्यको क्षेत्रमा पनि परिचित नाम बन्न पुगेकोमा उनले खुसी व्यक्त गरिन् । कार्कीले लगनशीलता, काम गर्ने कर्मठ बानी र सबैसँग हेलमेल हुन सक्ने स्वभावले यो सफलता प्राप्त गरेको उनले उल्लेख गरिन् । उनको प्रगतिमा सानो इटा थप्न पाउँदा आफूलाई पनि खुसी लागेको उनले बताइन् । क्षमता भएको मान्छेलाई सानो सहयोग गर्दा पनि उन्नती र प्रगति पथमा पुग्दछ भने सबैले त्यो काम गर्न आवश्यक रहेको उनले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले प्राज्ञ परिषद् सदस्यसमेत रहेकी ढुङ्गानालाई आफूले सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । राधा कार्कीले आफ्नो प्रगतिको जरो पकडेर सम्मान गर्नु अनुकरणीय कार्य रहेको उनले बताए । आफ्ना बा–आमालाई सम्झेर कार्कीले यो सम्मान अर्पण गरेकोमा उनले धन्यवाद समेत ज्ञापन गरे । आफ्ना सन्तानको अध्ययनका लागि काठमाडौँ प्रवेश गरेकी कार्कीले त्यो मिसन पुरा गर्दै आफू पनि साहित्यमा काविल बन्नु चानचुने कुरा नभएको उनले उल्लेख गरे ।

दिवंगत माता–पिताको सम्झनामा यो सम्मान तथा पुरस्कार स्थापना गरिएको संस्थापक राधा कार्कीले बताइन् । ‘भुवन मेडमको प्रेरणाले नै म यो स्थानमा छु’ उनले भनिन्, ‘उहाँले लेख्नुपर्छ, लेख, राम्रो काम गर भन्नु भयो, त्यसै प्रेरणाले मैले लेख्न थालेकी हुँ ।’ झापाकी नेतृ चेतकुमारी दाहालको स्मरण गर्दै उनले भुवन मेडमको साथ सहयोग र प्रेरणाले आफू यो ठाउँमा रहेको उल्लेख गरिन् । आफूलाई सधैं आशीर्वाद दिने मान्छेलाई सम्मान गर्न पाउँदा खुसी लागेको पनि उनले सुनाइन् । प्रज्ञा–प्रतिष्ठानजस्तो वौद्धिक, प्राज्ञिक र साहित्यिक संस्थामा बसेर काम गर्न र विद्वानहरुको संगत गर्न पाउँदा गर्व महसुस भएको उनले बताइन् ।