कसैले भोको पेट सुत्नु नपरोस

कसैले भोको पेट सुत्नु नपरोस

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १४, २०७६

खाना पहिलो आवश्यकता हो त्यसपछिमात्र बास र कपासको कुरो आउँछ । यसै तथ्यलाई मध्यनजर गर्दै भारतका एक युवाले ‘सर्व निडी’ नामक गैरसरकारी संस्था मार्फत एक हजार भन्दा धेरै गरीबल‍‍‌ाई खाना खुवाएर विश्व रेकर्ड कायम गरेका छन् । 

काठमाडौ‌ं, एजेन्सी । भारतको तेलंगानाका गौतम कुमारले एक दिनमा एक हजार भन्दा धेरै मान्छेलाई खाना खुवाएर विश्व रेकर्ड बनाएका छन् । यस कामको प्रशंसा गर्दै उक्त कार्यलाई युनिभर्सल बुक अफ रेकर्डमा पनि शामेल गरिएको छ । यसका लागि गौतम कुमारलाई संस्थाले सम्मानित गरेको हो । 

गौतम हैदराबादमा ‘सर्व निडी’ नामक गैरसरकारी संस्था चलाउँछन् । संस्था मार्फत उनले यो सामाजिक काम गर्दै आएका छन् । 

२०१४ मा कसैले भोको पेट सुत्नु नपरोस भन्ने संकल्पका साथ संस्थाको शुरुवात गरिएको हो । धेरै भन्दा धेरै मान्छेलाई भोजन गराउने दिशामा संस्थाले काम गरिरहेको छ । अहिले संस्थासँग १४० जना स्वयंसेवक लगातार काम गरिरहेका छन् ।  

संस्थाले आइतवार हैदराबादको गांधी अस्पताल,  राजेंद्र नगर तथा अम्मा नन्ना अनाथालय गरी तीन अलग अलग स्थानमा भोजनको व्यवस्था गरेको थियो । 

विश्व रेकर्ड बनेपछिु युनिभर्सल बुक अफ रेकर्डका भारतीय प्रतिनिधि केवी रमन्ना राव तथा  तेलंगानाका प्रमुख टीएम श्रीलताद्वारा गौतमलाई विश्व रेकर्डको प्रमाणपत्र  प्रदान गरिएको थियो ।