समाजवादी प्रेस संगठन नेपालद्वारा निर्वाचन आयोग कदमको प्रतिवाद र अवज्ञा आन्दोलनमा सरिक हुन आव्हान

समाजवादी प्रेस संगठन नेपालद्वारा निर्वाचन आयोग कदमको प्रतिवाद र अवज्ञा आन्दोलनमा सरिक हुन आव्हान

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १५, २०७९

काठमाडौँ ।  समाजवादी  प्रेस  संगठन नेपालले एक प्रेस  विज्ञप्ति प्रकाशित गरी निर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण प्रति घोर आपत्ति जनाउँदै  आयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गरेकाे छ । 

 संगठनका महासचिव  भूपराज खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा भनिए काे छ '२०७९ मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरो समेत संलग्न गराई संयन्त्र निर्माण गर्ने निर्वचन आयोगको निर्णय प्रति समाजवादी प्रेस संगठन नेपालको गम्भीर ध्यनकृष्ट भएको छ ।' 

संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने तथा नियन्त्रणात्मक नियतका साथ संयन्त्रमा सेना र प्रहरीलाई संलग्न गराउने निर्वचन आयोगको निर्णय अलोकतान्त्रिक मात्र होइन आपत्तिजनक र खेदजनक कार्य भएको समाजवादी प्रेस संगठन नेपालको निष्कर्ष रहेको उल्लेख गर्दै  आचारसंहिता अनुगमन, मतदाता शिक्षालगायतका कामका सन्दर्भमा यसअघि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपालजस्ता सञ्चार क्षेत्रका सर्वस्वीकार्य निकायलाई दिने गरिएको जिम्मेवारी बिना आधार र तर्क खोस्दै सेना र प्रहरीलाई जिम्मा दिने कार्यले प्रेस काउन्सिल नेपालको भूमिकालाई निषेध गर्ने उद्देश्यका साथ ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गर्ने कार्यले समग्र प्रेस जगतलाई त्रस्त तुल्याएको समाजवादी प्रेस संगठन नेपाल ठहर रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अन्तमा  निर्वाचन आयोगले जसरी निरङ्कुशताको झल्को आउने गरी संयन्त्र निर्माण गर्ने कार्य गरिरहेको छ, त्यसप्रति समाजवादी प्रेस संगठन नेपाल घोर आपत्ति जनाउँछ र आयोगलाई तत्काल त्यस्तो निर्णय सच्याउन माग गर्दछ । आयोगले आफ्नो गलत र आपत्तिजनक निर्णय नसच्याएमा नेपाली सञ्चार क्षेत्रलाई प्रतिवाद र अवज्ञा आन्दोलनमा सरिक हुँदै सशक्त प्रतिवाद गर्न आव्हान समेत गरिएको छ ।