मिना श्रेष्ठ : बाल्यकाल कि छुच्ची जुझारु कविदेखि व्यवसायी हुँदै राजनीतिकर्मीसम्म

मिना श्रेष्ठ : बाल्यकाल कि छुच्ची जुझारु कविदेखि व्यवसायी हुँदै राजनीतिकर्मीसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  आश्विन १५, २०७९

उहाँको पूर्खाहरुले भने भक्तपुरको सैजु हो । जसको काम दही बनाउने हो । तर, उहाँको अजा भने प्रहरीमा जागिर हुनुहुन्थ्यो र जागिरको सिलसिलामा खोटाङ पुग्नुभयो । उहाँको बुवा खोटाङमा जन्मनु भयो भने उहाँ पनि खोटाङमै जन्मनु भयो । बुवा व्यापारको सिलसिलामा इटहरी झर्नुभयो । र उहाँ पनि बुवासँगै इटहरी आउनु भयो । बुवाको पोष्ट कार्ड पसल तथा सिसाको पसल थियो । व्यापार खासै ठूलो थिएन यसकारण उहाँ आफ्नो परिवारलाई मध्यम वर्गीय भन्न रुचाउनुहुन्छ ।  

इटहरीमा पहिलो सिसा पसल उहाँको बुवाको थियो, श्रेष्ठ फ्रेमिङ सेन्टर । उहाँ व्यापारमा बुवालाई सघाउनु हुन्थ्यो । व्यापार सानैदेखि, जानेको बुझेकोले होला उहाँमा पनि सानैदेखि व्यापारिक सोच तथा मन हुनगयो । आमाको पनि आफ्नै व्यापार थियो स्विटर बुन्ने । आमाको सुइटर व्यवसायमा सहयोग गरेकोलो होला ८/९ वर्षको उमेरमै उहाँलाई मेसिनमा सुइटर बुन्न आउँथ्यो । त्यस बेला मात्र होइन अहिले पनि पर्यो भने स्विटर बुन्न उहाँ तयार हुनुहुन्छ र आउँछ पनि । कुरुस तथा काँटाले अहिले पनि उहाँलाई सबै कुरा बुन्न आउँछ । 

०००

उहाँको जन्म २०३४ सालमा खोटाङमा भएको हो । उहाँ बाल्यकालमा एकदमै चञ्चले तथा छुच्ची हुनुहुन्थ्यो । शुक्रवार यदि स्कूलमा कोही साथीसँग रिस उठेको छ भने यसलाई बाटो ढुकेर, कुटेर, पछारेर रिस शान्त नहोउन् जेल गर्नुपर्ने जति गरेर मात्र जान दिनुहुन्थ्यो । 

सानोमा गाडीमा उखु लैजाँदै गरेको देख्यो भने दौडेर त्यो उखु झिक्ने प्रतियोगिता नै चल्थ्यो उहाँका साथीहरुको । उहाँहरु सानोमा उखुलाई चिनीको बोट भन्नुहुन्थ्यो । उहाँले वरपरका माछा नमारेको पैनी छैन, बयर र अम्बा नचोरेको त कुनै छिमेकी छैन । 

इटहरीमा अहिले रहेको मेची–महाकाली पोखरीमा पौडी खेल्न जाँदा धेरै बच्चाहरु डुबे । तर, उहाँहरु भने त्यो पोखरीमा पुगेर बीचमा रहेको खम्बालाई छोएर आउनुहुन्थ्यो । कोपी खेल्ने अनि गुच्चा खेल्ने । गुच्चा खेलेर जितेर कट्टुमा गुच्चा छिन्द्रिङ छिन्द्रिङ बजाएर घर आउनै पर्ने थियो उहाँको बानी अनि एकदमै जिद्दी अनि हठ स्वभाव थियो उहाँको सानोमा । माछा मारेर सिलमा माछा लिएर आउनुहुन्थ्यो अनि घरमा आएपछि माछासँगै कुटाइ पनि खाने । यसरी उपद्रो गर्दा उहाँलाई आफूले जति कुटाइ कसैले खाएन जस्तो लाग्छ उहाँलाई । 

०००
उहाँको प्रारम्भिक शिक्षा इटहरीको जनता माविमा भएको हो । बस्नलाई डेस्क बेन्चको राम्रो व्यवस्था थियो । सानोमा एकदमै छुच्ची उहाँ स्कूलमा पढ्न थालेपछि भने त्यस्तो रहनु भएन । स्कूलमा एकदमै अनुशासित । बिहानै उठेर पढ्ने । अरुको भए पनि फूल टिपेर मन्दिर जाने ।

स्कूलमा उहाँले गृह विज्ञान विषय लिनु भएको थियो । कसरी भात पकाउने, बच्चाको भोटो कसरी सिलाउने, अन्य परिकार कसरी बनाउने भनेर पढ्नु पर्थ्यो । पहिले पहिले यो विषय किन पढाएको भन्ने लाग्थ्यो उहाँलाई । तर, अहिले छोरीको आमा भै सक्दा भने छोरीलाई यस्ता कुरा सिकाउनु पर्दा कक्षामा त्यस बेला पढाएको ठिक रहेछ भन्ने लाग्छ उहाँलाई । त्यो एकदमै व्यवहारिक रहेछ भन्ने लाग्छ उहाँलाई अहिले ।

उहाँ ९ कक्षामा पढ्दा २०४६ सालको जनआन्दोलन भएको थियो । अनि इटहरीमा रहेको राजाको मूर्ति ढुंगा हानेको पुलिसले खेदाएको उहाँलाई अहिले पनि सम्झना छ । 

उहाँले २०४९ सालमा एसएलसी दिनुभएको हो । एसएलसी दिँदा उहाँको उमेर केवल १४ वर्षको थियो । अनि सरहरूले उमेर मिलाएर १६ बनाइदिनु भएको थियो । उहाँको ब्याचका त्यस बेला झण्डै सय जनाले जाँच दिएका थिए । छात्राहरु झण्डै ३० जना पास भए जस्तो लाग्छ उहाँलाई । 

एसएलसी पास भएपछि उहाँले जनता बहुमुखी कलेज इटहरीमा मानविकी पढ्नुभयो । र दुई वर्षमा आइए सकेर बिए  भर्ना हुनुभयो । तर, अरु विविध कारणले पढ्न नपाएको बिएलाई भने अहिले उहाँ सकाउने सोचका साथ फेरि पढ्दै हुनुहुन्छ । 

एसएलसी पछि नै आर्ट तथा ब्युटी पार्लर सिक्नुभयो । उहाँले आर्ट सिक्दा भने कपडामा पेन्ट गर्न सिक्नु भएको हो । तर, पछि भने उहाँले माटोमा पेन्ट गर्न सिक्नु भयो । अनि अरुलाई सिकाउनु भयो । अनि अनि आफ्नो पकेट खर्च त्यो उमेरदेखि आफैँले कमाउन थाल्नु भएको थियो । 

आमाबुवाको आफ्नो आफ्नो व्यवसाय भए पनि आफ्नो खर्च आफैँ जुटाउनु पर्छ भनेर उहाँ आफैँ स्विटर बुन्नुहुन्थ्यो । 

०००

९ कक्षापछि नै उहाँ राजनीतिमा सक्रिय हुनुहुन्थ्यो नजानी नजानी । जनसांस्कृतिक मञ्च इटहरीमा त्यतिखेर नै उहाँ गाउँमा जनताको जनसांस्कृतिक गीत गाएर हिँड्नुहुन्थ्यो । उहाँ जनता बहुमुखी क्याम्पसको जनसांस्कृतिक मञ्चको टोलीमा हुनुहुन्थ्यो प्रारम्भिक कमिटिमा । २०५४ सालसम्म उहाँ अनेरास्ववियुमा नै रहनुभयो । त्यसपछि प्ररायुसंघ, पार्टी कमिटि गर्दै अहिले एमाले पार्टीको केन्द्रिय विभागमा हुनुहुन्छ । 

०००

२०४९ सालमा एसएलसी दिएपछि कलेज जाँदा कलेजको भित्तामा जाली लगाएर, ताल्चा लगाएर भित्ते पत्रिका राख्ने चलन थियो । त्यहाँ उहाँ अरुको कविता तथा सामग्री पढ्न जानुहुन्थ्यो । अनि कक्षामा कविता गोष्ठीमा भाग लिने गर्दै गर्दा कविता लेख्ने क्रम शुरु भयो । 

कविता लेख्दै गएपछि ओहो मिना कमरेड तपाईँको कविता त राम्रो छ भनेर अरुले भन्न थाले । अनि तपाईँको कविता राम्रो छ भित्ते पत्रिकामा तपाईँको कविता राख्ने भनेर नाम अनि कक्षासमेत राखेर निकाल्दा उहाँ एक्लै गएर भित्ते पत्रिकामा आफ्नो कविता कति पढ्नुभयो भयो । अरु कति पढे होलान् अनि अरुले पढ्दा कस्तो होला भन्ने लाग्थ्यो । ‘जिन्दगी’ शीर्षकको पहिलो कविता उहाँको कलेजको भित्ते पत्रिकामा छापिएको थियो । यो प्रेम सम्बन्धी कविता थियो । 

उहाँले अरु थुप्रै कविता लेखिसक्नु भएको छ । तर, ‘जिन्दगी’ र अर्को एउटा कविता मात्र उहाँको प्रेम कविता हो । अब भने उहाँ प्रेमसम्बन्धी कविता संग्रहको तयारीमा हुनुहुन्छ । अब आउने संग्रहमा भने प्रेम र जीवनसम्बन्धी कविता मात्र बनाउने उहाँको सोच छ । अब आउने संग्रहमा भने जीवन जिउने उर्जा प्रेम हो दर्शाउन पनि उहाँले प्रेम कवितामा जोड दिनु भएको छ । 

पहिलो संग्रह भने ‘बिस्कुन यो मनको’ २०७० सालमा निस्किएको हो । उहाँले सुदूरपश्चिममा घडी पसल पनि गर्नुभयो । उहाँ आफैँ घडी पनि बनाउनुहुन्छ । घडी बनाउने थोरै महिलामध्ये हुनुहुन्छ । उहाँले त्यस बेला घडी व्यवसायको सन्दर्भमा देखेको सुदूरपश्चिम र जनआन्दोलन पनि त्यसै बेला भइरहेको हुनाले यी विविध परिस्थितिलाई उहाँले यसमा उतार्नु भएको छ

उहाँको कविता कृति ‘फर्गेट एस्टर्डे’ मा क्रान्ति, निरसता, महिलालगायत अरु थुप्रै चिज छन् । यसभित्र रहेको आइमाई बस्ने घर भने निकै चर्चित कविता हो । यो कविता उहाँले धेरै वटा अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि वाचन गर्नु भएको छ । 

एउटा कृति निस्केपछि अर्को कृति त निकालिहाल्छु नि भन्ने उहाँको सोच थियो । तर, किताब भनेको जिन्दगी जस्तै हो सबै बान्की मिलाएर लयमा हिँड्नु पर्ने कारण त्यो उहाँले सोचे जस्तो भएन । 

राजनीति र साहित्य कतिपयले सजिलो भने पनि उहाँलाई यो विषय अलि अप्ठ्यारो लागेको छ । अक्करे भिर जस्तो लाग्छ उहाँलाई राजनीति र साहित्य । कारण जनताका नजरमा शासकका कतिपय कुरा चित्त बुझेका हुँदैनन् । तर, त्यो आफ्नै पार्टीको भएको कारणले बोल्न नमिल्ने परिस्थिति पनि बन्न जान्छ । अनि उहाँले अनुभव गर्नु भएको अर्को कुरा भनेको उहाँको कृति विमोचन गर्दा आफ्नै पार्टीको नेताको हातबाट गराउँदा कवि भनेको त नेता पो हु नुहुँदो रहेछ भन्ने टिप्पणी पनि सुन्नु भएको छ उहाँले । कृतिलाई भित्र पल्टाएर नहेरी यत्तिकै टिप्पणी गरेकोमा उहाँको चित्त दुखाइसमेत छ । 

उहाँ अच्छाराई रसिक प्रतिष्ठान, साहित्य सञ्चार समूह, इटहरी, सुदूरपश्चिमाञ्चल साहित्य समाजलगायत अन्य थुप्रै साहित्यिक संघ संस्थाहरुमा पनि उहाँको संलग्नता छ । उहाँ थुप्रै संस्थाहरुबाट सम्मानित पनि हुनुहुन्छ । 

महिलाले साहित्य सृजना गर्नु नै ठूलो रहेको लाग्छ उहाँलाई । कारण भने विभिन्न जिम्मेवारीबाट समय निकालेर सृजनात्मक कर्ममा लाग्नु महिलाका लागि ठूलै चुनौती रहे झैँ लाग्छ उहाँलाई । झन उहाँ जस्तो राजनीति तथा व्यवसायमासमेत संलग्न महिलाका लागि त समय निकाल्नु नै ठूलो कुरा हो । तर, यसलाई पनि उहाँ प्रविधिले अहिले सजिलो बनाएको मान्नुहुन्छ । कारण कुनै भाव मनमा आयो भने कुनै कार्यक्रममा रहँदा पनि मोबाइलको नोटिसमा लेख्न सकिने उहाँको तर्क छ । यसरी सृजना गरिएको चिजलाई उच्च मूल्यांकन गर्नुपर्नेमा महिलाको लेखनीलाई खासै मूल्यांकन न गरिएकोमा पनि उहाँको गुनासो छ ।

महिला सर्जकले उत्कृष्ट कविता लेखे पनि ए महिलाले लेखेको भनेर हेयको दृष्टिले हेर्ने पुरुष सर्जक समाज रहेको उहाँको भोगाइ छ । अहिले आउँदै गरेका नव महिला कवयित्रीहरू एकदमै सशक्त भएर आउनु भएकोमा उहाँलाई गर्व पनि लाग्छ । अहिले आउँदै गरेका कविहरूलाई उहाँ रोनाधोना नभएर सशक्त भएर कलम चलाउन पनि उहाँको आग्रह छ । 

साहित्य समाजको ऐना भएका कारण हामीले बाँचिरहेको समाज साहित्यमाा देखिनु पर्छ भने जस्तो लाग्छ उहाँलाई । यसकारण पनि नव महिला कविहरूलाई यथार्थपरक भएर साहित्यम आउन पनि आग्रह छ उहाँको । गुनासो नभएर अब आउँदा गर्व हुने किसिमले आउन पनि उहाँ आग्राह गर्न चाहनुहुन्छ । यथार्थ र सशक्त कविता लिएर आउन आग्रह र अनुरोध दुवै छ उहाँको । 

०००
उहाँको पहिलो संग्रह भने ‘बिस्कुन यो मनको’ २०७० सालमा निस्किएको हो । उहाँले सुदूरपश्चिममा घडी पसल पनि गर्नुभयो । उहाँ आफैँ घडी पनि बनाउनुहुन्छ । घडी बनाउने थोरै महिलामध्ये हुनुहुन्छ । उहाँले त्यस बेला घडी व्यवसायको सन्दर्भमा देखेको सुदूरपश्चिम र जनआन्दोलन पनि त्यसै बेला भइरहेको हुनाले यी विविध परिस्थितिलाई उहाँले यसमा उतार्नु भएको छ । 

उहाँको सुदूरपश्चिममा त्यस बेला घडी पसलसँगै चुरा पसल पनि थियो । अनि १२ वर्षका बच्चीहरू विवाह के हो भन्ने थाहै नपाइ हात भरी चुरा लगाउन पाएर मक्ख परेर अरुलाई ‘तम्रा पनि बेच्या हो’ बाल विवाह, अर्थात मेरो त विवाह हो तिम्रो पनि हो भनेर अरु साथीलाई भनेको सुनेको र देखेको अनुभव पनि छ यो संग्रहमा । 

उहाँले देख्दा सुदूरपश्चिममा बहु विवाह र जारी प्रथा तीनवटैै थियो । विवाह के हो थाहा नहुँदै विवाह भएका कारण त्यहाँ यी तीनवट कुरा सँगै घटेको उहाँको अनुभव छ । कारण विवाह नै थाहा नहुँदा विवाह भएका कारण पुरुष तथा महिला दुवैले पछि अरुसँग विवाह गर्ने कारणले यी सबै घट्ना घट्ने उहाँको अनुभव छ । यसै संग्रहमा आफू महिला अधिकारकर्मी भएर अरुलाई अधिकार दिलाउन जाँदा दिलाउन नसकेका कुरा पनि छन् यस संग्रहमा । 

००० 

उहाँले कैलालीको अत्तरियालाई रोज्नुभयो घडी व्यवसायका लागि । सानो दखि व्यापारिक सोच र चिन्तन अनि नयाँ ठाउँ र नयाँ परिवेशमा व्यापार गर्नुपर्छ भन्ने सोचले उहाँलाई अत्तरिया पुर्याएको थियो । उहाँले अरु ५/७ ठाउँ व्यापारका लागि हेर्नु भएको थियो । तर, त्यसमध्ये उहाँलाई अत्तरिया उपयुक्त लाग्यो । अहिले पनि उहाँलाई कुनै नयाँ ठाउँ पुग्यो भने यो व्यवसाय यहाँका लागि उपयुक्त हुन्छ भन्ने लाग्छ । 

उहाँ अहिले राजनीतिमा बढी सक्रिय भएका कारण भने उहाँले घडी व्यवसाय छोड्नु भयो । उहाँले २०५३ सालमा शुरु गर्नु भएको हो । २०६२/६३ को जनआन्दोलनमा पूर्ण रुपले होमिएपछि भने उहाँले अत्तरियाको व्यवसाय छोड्नु भयो । तर, अहिले पनि उहाँको भोजपुरमा रिर्सोट छ ।