गृहस्थको जीवनको तन्तु : सन्तति बृद्धिकाे सुखानुभूति र सम्झना लायक बालापन

फर्कलान् र ती दिनहरु

गृहस्थको जीवनको तन्तु :  सन्तति बृद्धिकाे सुखानुभूति र सम्झना लायक बालापन

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  आश्विन १५, २०७९

सबैभन्दा सम्झना लायक समय भनेको बालापन नै हो भनिन्छ । हुन त सबै समय फर्केर आउँदैन , चाहे त्यो सुखानुभूतिको होस् या दुःखानुभूतिको होस् । फेरि दुःख र सुख भनेको पनि अमूर्त अनुभूति हुने रहेछ ।

मिठो खान पाउनु सुख हो ? राम्रो लागेको लाउन पाउँदा सुख अनुभूति हुने हो त ? एउटै घटना कसैलाई सुखानुभूति दिने अनि कसैलाई दुःखानुभूति दिने पनि हुँदो रहेछ । अनि कुनै घटनामा कसैलाई दुःख लागेको होला भन्ने अरुलाई लागेको भए पनि स्वयं दुःखी हुनुपर्नेमा त्यो अनुभूति पाइँदैन भने जसलाई त्यसले कुनै असर नपार्नु पर्ने हो भन्ने  लाग्छ नि, उनीहरुमा त्यो घटनाले पारेको असर दीर्घकालसम्म रहने रहेछ ।

त्यो प्रभाव भनेको मानवीय संवेदनाका कारणले हो । हामी कुनै चलचित्र हेर्दैछौँ भने  त्यहाँको कथाले पार्ने प्रभावले हामीलाई कति दिनसम्म दुखित पार्छ, हेर्दाहेर्दै रुन थाल्छौँ, रुवाइ रोकिँदै रोकिँदैन । झन कसैको जीवनमा देखिएको साँच्चै घटनाले वरिपरिको परिवेशलाई नकारात्मक प्रभाव पारे कै हुन्छ ।

भारतीय भूमिका प्रख्यात चक्र वर्ती राजा विक्रमादित्यको कथामा बारम्बार दोहोरिने दुःखको निवारण बेतालको कथाबाट अन्त्य हुन्छ भनिएको छ । कथा कति सत्य होला वा नहोला तर त्यसले मानवीय जीवनका अनेक पाटालाई प्रकाशित गरेको हुन्छ र एउटा राजा वा शासकले कति कुरासँग जुध्नु पर्दोरहेछ र तिनको कति मिहिन तरिकाले विश्लेषण गर्नु पर्ने रहेछ भनेर उदाहरणीय रुपमा देखाइएको छ ।

सायद त्यसैलाई बेताल पच्चिसीका नामले समस्या र समाधानका उपायहरुको बुद्धि विलासका सामग्री अझै पनि प्रख्यात छन् । त्यसमा एउटा समस्या र समाधानले मैले ठुलो पाठ सम्झेको छु ।

कथा यस्तो छ -एउटा माझीको बस्ती समुद्रको किनारामा थियो । एकपटक ठुलो तुफान आयो र समुद्रको किनारामा आएको छालले बस्ती सखाप पारेको थियो । माछा मार्न गएका माझीहरू कता हराए हराए । बल्ल बल्ल एउटा माझी कसो कसो किनारामा आउँदै थियो, बाटामा तुफानका कारणले, छालका कारणले उसको अत्यन्त मिल्ने माझीको परिवारका ६ ओटा बच्चाहरु बाँचेका रहेछन् तर उनीहरुका बाबु र आमा त्यहीँ नजिकै मरेका रहेछन् । साथीका बच्चाहरुको बिजोग देख्न नसकेर माझीले बच्चाहरुलाई आफ्नो क्षतविक्षत झोपडीमा ल्यायो र मझिनीलाई बच्चाहरु ल्याएको कारणसहित अब हामीले नै आफ्ना ७ओटा बच्चासहित पाल्ने बचन दिएको कुरा बतायो । मझिनीले त्यो बचनलाई सहर्ष स्वीकार गरी र बच्चाहरु अब त्यही परिवारका सदस्यहरु बने । अब बेतालले सोध्यो राजा विक्रमादित्यलाई कि हे राजा यो घटनामा को बढी दयालु ? माझी कि मझिनी ? अनि राजाले भने-मझिनी किनभने यदि मझिनीले म पाल्न सक्दिन , जे सुकै गर भनेकी भए ती बच्चाहरु त्यही समुद्र किनारामा असरल्ल पर्ने थिए । फेरि के समस्या थियो भने बेतालले राखेका प्रश्नहरुको उत्तर राजाले जानेको भए दिनै पर्थ्यो ,अन्यथा राजाको टाउको हजार टुक्रा भएर फुट्ने थियो । तर कुनै प्रश्नको उत्तर थाहा पाउन र मनमा मन्थन गर्दागर्दै राजाको गन्तव्यसम्म आउँदा भने राजा बाँच्ने थिए । 

बेताल एउटा सजीव पिशाच हो जसमा ज्ञानको भण्डार छ । विक्रमादित्यलाई मार्न प्रत्यक्ष युद्धमा नसक्ने भएपछि उनका नजिकका हकदारहरूले पिशाचको शरणमा पुगेर मार्नका लागि तरिका खोजेका थिए र पिशाचले पनि त्यो समस्याको समाधान कसरी हुन सक्छ भनेर भनेको रहेछ । यदि राजाले उसका जिज्ञासाको उत्तर थाहा हुँदाहुँदै पनि नदिएमा उनी आफैँ टाउको फुटेर मर्ने थिए तर समस्याको समाधान दिन  नसकेको बेलामा भने राजा बाँच्ने थिए । फेरि कस्तो समस्या थियो भने पिशाच एउटा शवको रुपमा रुखमा झुन्डिएको थियो । जब राजाले त्यो शव बोक्थे र गन्तव्यसम्म ल्याउन बोक्थे, अनि त्यो पिशाच बोल्न थाल्थ्यो र कथाको रुपमा समस्याग्रस्त कथा भन्न थाल्थ्यो ।

त्यो विश्रुतासँग उसले बोल्न नथाल्दा पनि म बोल्थेँ, हाँस्थेँ, र उसले ६ महिनादेखि नै राम्रोसँग मानिसलाई चिन्दै अलि अलि बोल्न थालेको मलाई याद छ । त्यतिमात्र होइन, उसकी हजुरआमाको हेरचाहमा बढी बसेकीले होला, बुढी कालिम्पोङ् गएकी बेलामा आमा आमा भनेर रुँदै गर्दा सिद्धिले आमाको गाउन लगाएर नजिक जाँदा खुसी भएर हाँसेकी मलाई अहिले पनि सम्झना छ ।

ती कथाहरु राजा विक्रमादित्यको राज्य सञ्चालनका लागि सहयोगी नै भएको मानिन्छ एकातिर भने राजाले ती ज्ञानहरू पाएका रहेछन् भन्ने समाधानका उपायहरु हामीलाई दिएको पाइन्छ । भविष्य पुराणका केही अध्यायहरुमा त्यस्ता समस्यापूर्तिका कथाहरु पाइँदो रहेछ । मैले यी बेतालका कथाहरु लोककथाको रुपमा सुनेको हुँ सानैमा तर बेतालको कथा पढियो या सो  सरहका कथाहरु सुनियो, अनि थाहा भयो, बालापनमा बुद्धि तिखार्ने तरिकाले यस्ता कथाहरु सुनाइने रहेछ, पढाइने रहेछ । 

सबैको बालापन स्मरणीय नहोला तर, र केही कुराहरु बाहेक धेरै बिर्सिन पनि थालियो तर अहिले नातिनीहरु सँगको जीवनले आफ्ना बालापनलाई पनि ताजा पार्न थालेका छन् । मैले सिकेको बाल मनोविज्ञानको प्रयोग अहिले निवृत्त जीवनमा हुन थालेको छ । तत्काल रिसाउने, तत्कालै फकाउने, केही किनिदिए खुसी हुने, नत्र बोल्दिन भन्दै ठुस्किने । अनि माया कति गर्ने हो, माया पनि कति पो लाग्ने रहेछ ती आफ्ना सन्ततिको । सायद गृहस्थीहरुको जीवनको सबैभन्दा मनोरम अवस्था भनेका सन्तति वृद्धिको मोहक अवस्था हो जस्तो लाग्यो किनभने जसरी मेरा पुर्खाको म र मेरा भाइबहिनीहरू भयौँ, मेरा बा आमा हुनुभयो, त्यस्तै मेरा लाग , म अमर हुनका लागि या पुनरुत्पादनका लागि ती हुनै पर्ने रहेछ र भए नि । 

अहिलेसम्म अर्थात् मैले यी हरफहरू लेख्दा सम्म मेरा जेठा छोराका दुईवटा छोरीहरु छन् विश्रुता र आरुषि । जेठी छोरीकी एउटी छोरी छिन् सुदेष्णा पौडेल । माहिली छोरीकी एउटी छोरी छिन् प्रसिद्धि काफ्ले र कान्छी छोरी अर्चनाकी एउटी छोरी छिन् अदिति सापकोटा । कान्छा छोराका सन्तान जन्मेका छैनन् । एउटा शिक्षकका लागि सबैका सन्तान आफ्ना जस्तै लाग्ने रहेछन् र मलाई नाता लगाएर कुरा गर्न मन लाग्ने पहिलेदेखि ।

जस्तो कि छोरा विद्यार्थीकी पत्नीलाई बुहारी, छोरी विद्यार्थीका पतिहरूलाई ज्वाईँ साहेब, उनीहरुका सन्तानलाई नाति या नातिनी भन्ने । तर आफ्नै रगतमा , मेरा निजी सन्तानका सन्तानका रुपमा ठुलो छोरो सिद्धि र बुहारी विजयाको पहिलो सन्तानका रुपमा विश्रुता जन्मेकी हो । जब मेरी बुढीले शुभसमाचार सुनाइन् कि जेठा छोराको बच्चा हुने भयो ।

मलाई एउटा अव्यक्त खुसी भयो जसको अनुमान त्योभन्दा पहिले मलाई थिएन । मलाई नाति या नातिनी जे भए पनि हुने तर छिटै हजुरबा चाहिँ हुनु परेको थियो । मेरो प्रतीक्षा व्यग्रताका साथ थियो तर बेलाभन्दा पहिले म साँच्चै हजुरबा हुन पाउने थिइन । नयाँ  जिज्ञासा, नयाँ खुसी र नयाँ अनुभवका लागि व्यग्र प्रतीक्षा गरिरहेको थिएँ जुन कुरा न त बाहिर भन्न सक्थेँ, न त देखाउन नै सक्थेँ ।

तर कल्पनामा त्यो भावी अतिथिसँग खेलेको, बोलेको, रिसाएको र लुकालुकी खेलेको कल्पना गर्थेँ एक्लै हिँड्दा पनि । अचानक हाँसो उठ्थ्यो र ती साना साना हातमा समाएर कतै हिँडेको एउटा काल्पनिक बच्चाको माया र व्यवहारको कल्पना गर्थेँ । कस्तो खुसी आफैँमा पलाउने रहेछ कल्पनाले मात्रै पनि । नभन्दै जब नातिनी जन्मी, मलाई पाटन अस्पतालबाट जानकारी आयो, बाबा तपाईँकी नातिनी जन्मी । मैले तत्काल पात्रो हेरेँ र कल्पनामा एउटा नाम टिपेँ, एउटा नाम नक्षत्रका आधारमा सम्झन थालेँ । सुन्ने बित्तिकै जुन मिठास, खुसीको अनुभव गरेँ, त्यसपछि जन्मिएका सबै हरिवंशका या मेरा सबै सन्तानको खुसी उस्तै हुने रहेछ । तर पनि साँच्चै भन्नुपर्दा मलाई यो संसारमा पहिलोपटक भावी सन्तानका रुपमा जन्मिएकी पहिलो पौत्रीको जुन रहर रह्यो, अरुले झन थप खुसी त दिए तर पहिलो सन्तान जस्तै अरुले दिने खुसीको चाहना थपिँदै जाने रहेछ । लाग्छ, म यो संसारमा अमर हुने उपाय भनेको तिनै मेरा वंशवृद्धिका कारणले हुनेछ ।

मलाई याद छ, त्यो विश्रुतासँग उसले बोल्न नथाल्दा पनि म बोल्थेँ, हाँस्थेँ, र उसले ६ महिनादेखि नै राम्रोसँग मानिसलाई चिन्दै अलि अलि बोल्न थालेको मलाई याद छ । त्यतिमात्र होइन, उसकी हजुरआमाको हेरचाहमा बढी बसेकीले होला, बुढी कालिम्पोङ् गएकी बेलामा आमा आमा भनेर रुँदै गर्दा सिद्धिले आमाको गाउन लगाएर नजिक जाँदा खुसी भएर हाँसेकी मलाई अहिले पनि सम्झना छ ।

मेरो कान्छो छोरो जन्मेको करिब २३ वर्षपछि पहिलो नातिनी जन्मेकीले सबैको हातहातमा ऊ हुर्किई , हामी बुढाबुढीको त के कुरा भयो र, मेरो आमाको कुरा गरौँ । उहाँकी पनातिनी नेपालमा जन्मँदा उहाँ अमेरिकाको सियाटलमा हुनुहुन्थ्यो र विरामी भएर हस्पिटलमा हुनुहुन्थ्यो । बहिनीले भनी-आमा तपाईँकी पहिलो पनातिनी जन्मी नेपालमा सिद्धिकी छोरी, हरिदाइकी नातिनी, हामी सबैको पहिली नातिनी । आमाको खुसीको सीमा रहेन रे पनातिनी जन्मेकीमा । सायद गुहस्थीको यही रहेछ खुसी र सुखको क्षण । खासगरी देखिने गरी  आफ्ना सन्तानको खुसी र सुखका लागि जे पनि दुःख खप्न सक्ने भनेको माता जातिले नै रहेछ । त्यो किन होला भने जीवनको एउटा लक्ष्य भनेको वरत्र र परत्रको राम्रो अवस्थाको लागि हो । हाम्रो परम्परामा सन्तानका लागि पनि विवाह गरिने हो, गृहस्थको एउटा यज्ञ भनेको सन्तान वृद्धि पनि हो । 

वेदमा भनिएको रहेछ, सानासाना नानीहरुलाई खेलाउनू, गाली नगर्नू र त्यस्तो खेलाउने काम बाजे बज्यैले गर्ने हुन् , गर्छन् । मलाई पनि लाग्छ, सबै बाजेबज्यैको अनुभव मेरो जस्तै हुनुपर्छ । त्यो मायामा कुनै कमी नहुने रहेछ र भावी दिनहरु उनीहरुका कसरी आफ्ना खुट्टामा टेक्ने गराउने भन्ने आशीर्वाद र उपाय बताउने काममात्र बाजेबज्यैको हुनेरहेछ । छिनमा झगडा, छिनमा माया, छिनमा खेलाइ, छिनमा हाँसो अनि छिनमा रुवाइ नै बालापनको महत्व रहेछ जुन अहिले म मेरा नातिनीहरुको अनुहारमा आफूलाई देखिरहेको छु र आफ्नो बालापनको अनुभव अहिले ज्येष्ठ नागरिकका रुपमा मज्जाले स्वाद लिँदैछु । न अब मलाई फकाउन आमा हुनुहुन्छ, म दिक्क हुँदा माया गर्ने आमा हुनुहुन्छ तर अहिले आमा नभए पनि ती नातिनीहरु छन् जसले त्यो नियास्रो मिटाउँदैछन् । क्रमशः