सत्तारुढ गठबन्धनका गड बडै गडबड : एमाले पनि राप्रपासहितको खाका तयार

सत्तारुढ गठबन्धनका गड बडै गडबड : एमाले पनि राप्रपासहितको खाका तयार

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १६, २०७९

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धनमा रहेका दलहरु यतिबेला सिट बाँडफाँट र अन्य दलसँगको सम्भावित प्रतिस्पर्धाको जोड घटाउमा व्यस्त छन् । सत्तारुढ पाँच दलीय गठबन्धनमा भने सिट बाँड फाँटमा असन्तुष्टि बढाइरहेको छ भने विपक्षी एमाले पनि सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्न गठबन्धन निर्माणको प्रयास गरिरहेको छ । 

सत्ता गठबन्धन प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमै भागवण्डाको अन्तिम चरणमा पुग्दा सबै दलभित्र असन्तुष्टिका चर्को स्वर सुनिएको छ । गठबन्धनमा १६० भन्दा बढी सिटमा लगभग सहमति जुटिसकेको बताइए पनि सबै दल आफूले पाएको भागमा सन्तुष्ट छैनन् । समानुपातिक सूचीलाई लिएर आन्तरिक विवादमा फसेको काँग्रेसले प्रत्यक्ष तर्फको सिटले अर्को किचलो थपिएको छ ।

काँग्रेसको शेखर कोइराला समूहले समानुपातिकको बन्द सुचीमा आफ्नो समूहलाई सम्मानजनक हैसियत नदिएको भन्दै असन्तुष्टि जनाइरहेको छ भने प्रत्यक्षतर्फ गठबन्धनमा १ सय भन्दा कम सिटमा सहमति गर्न नहुने अडान राखेको थियो । तर गठबन्धनमा काँग्रेसले ८५ सिट पाउने निश्चित छ र त्यसमा केही सिट थपिन सक्ने सम्भावना छ । तर काँग्रेसभित्र समानुपातिकको लफडा भइरहेका बेला प्रत्यक्ष मा पाएका कम सिटमा नेता व्यवस्थापनको चुनौती छ ।

गठबन्धनमा सीमित सिट पाइने र एकएक व्यक्तिको व्यवस्थापन गर्न नसक्दा समस्या हुने भएकाले काँग्रेसभित्रै असन्तुष्टि छ । समानुपातिक सूची संशोधन गरी आफ्नो समूहलाई सम्मानजनक हैसियत नदिए विद्रोह गर्ने शेखर कोइराला समूहको धम्कीले काँग्रेसभित्रै र गठबन्धनमा काँग्रेस बाहेकका दलले पाएका सिटमा चुनाव जित्न कठिन हुने सम्भावना पनि छ । 

उता मधेश प्रदेशमा पनि एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको कोशिस गरिरहेको छ । तर मधेसका ३२ वटै सिटमा एमाले र लोसपा गठबन्धन सत्ता गठबन्धनभन्दा कमजोर देखिएको छ । जसले गर्दा मधेसमा लोसपासँगको गठबन्धन संकटमा परेको बताइन्छ । 

गठबन्धनको अर्को ठूलो दल हो, माओवादी केन्द्र । माओवादी केन्द्रले गठबन्धनमा ४४ देखि बढीमा ४७ सिट पाउने सम्भावना छ । माओवादी केन्द्र देशको तेस्रो ठूलो राजनीतिक शक्ति पनि हो । त्यसैले सबै दल एक्लाएक्लै प्रतिस्पर्धा गरेको अवस्थामा पनि सरकार बनाउन माओवादी निर्णायक शक्तिजस्तै हुन्छ । काँग्रेससहितको गठबन्धनमा रहेको माओवादी आगामी निर्वाचन पछि पनि सरकारको चाबी आफ्नो हातमा राख्न चाहन्छ ।

त्यसैले सिट बाँडफाँटमा काँग्रेसले अरुसँग मिलेर सरकार बनाउने अवस्था नआओस् भन्नेमा निकै सतर्क देखिन्छ । त्यसैले उसले काँग्रेससँग सकेसम्म बढी सिट माग्ने र अन्य दललाई चेक एन्ड ब्यालेन्समा राख्न चाहन्छ । माओवादी केन्द्रमा सिट बाँड फाँटलाई लिएर केही असन्तुष्टि छ भने केही ठाउँमा विद्रोह समेत भएको छ । तर मुख्य रुपमा माओवादी केन्द्र गठबन्धनभित्रको निर्णायक शक्तिका रुपमा आफूलाई राख्न चाहन्छ । 

अर्को चुनौतीपूर्ण अवस्थामा एकीकृत समाजवादी छ । एकीकृत समाजवादी पहिलो पटक संसदीय निर्वाचन लड्दैछ । एमालेसँग विभाजन भएर आएकाले एमालेको भोट काट्ने मुख्य काम यही एकीकृत समाजवादीले गर्छ । त्यसैले एकीकृत समाजवादीका उम्मेदवार हुँदा गठबन्धन र पार्टीभित्र भोट पर्ने र उम्मेदवार नभएको अवस्थामा एकीकृत समाजवादीका कतिपय मतदाताले एमालेमा भोट हाल्न सक्छन् । त्यसैले गठबन्धनमा एकीकृत समाजवादीले बढी सिट मागेको छ । तर उसले १७ देखि २० सिट पाउने सम्भावना छ । यो भन्दा बढी सिट दिन गठबन्धन दलहरु तयार भएनन् । यो सिटमा एकीकृत समाजवादी खुसी छैन । 

जनता समाजवादी पार्टी (जसपा) ले पनि सिट बाँडफाँटमा काँग्रेस लचिलो नभए अन्य दलसँग मिल्ने विकल्प खुला राख्ने निर्णय नै गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म गठबन्धन र शीर्ष नेताबीच चुनावी तालमेलका विषय ब्रिफिङ गरेका थिए । उनले सिट बाँड फाँटबारे प्रयास जारी भए पनि काँग्रेसले बढी सिट दाबी गर्दा कुरा नमिलेको बताए । 

यस्तो अवस्थामा जसपा सकेसम्म गठबन्धन जोगाएर चुनावमा तालमेल गर्ने त्यो नभए मिलेको जति मिलेर जाने र बाँकीमा स्वस्थ प्रतिस्पर्धा गर्ने र अर्को विकल्पका रुपमा जुनसुकै दलसँग भए पनि गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा छ । सत्ता गठबन्धनमा ९ वटा सिटमा दोहोरो दाबी छ । गत साउनको तेस्रो साता प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० सिटमा तालमेल गरेर चुनाव लड्ने निर्णय गरेका थिए । 

यता एमाले पनि सत्ता गठबन्धन विरुद्ध गठबन्धन बनाएर लड्ने तयारीमा छ । देशै भरि बाट सत्ता गठबन्धनलाई चुनौती दिन एमालेले राप्रपासँग गठबन्धन गर्ने तयारी गरेको छ । त्यसका लागि राप्रपालाई ६ सिट दिने एमालेको तयारी छ । जसमा काठमाडौं–१ मा प्रकाशमान सिंहविरुद्ध राप्रपाका रविन्द्र मिश्र, झापा–३ मा राजेन्द्र लिङ्देन, बाँके–२ मा धवल शमसेर राणा, चितवन–३ मा विक्रम पाण्डे, रुपन्देही–१ मा दीपक बोहोरा र जुम्लामा ज्ञानेन्द्रबहादुर शाहीलाई एमालेले सघाउने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्नेगरी गठबन्धनको खाका बनाएको छ । 

उता मधेश प्रदेशमा पनि एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको कोशिस गरिरहेको छ । तर मधेसका ३२ वटै सिटमा एमाले र लोसपा गठबन्धन सत्ता गठबन्धनभन्दा कमजोर देखिएको छ । जसले गर्दा मधेसमा लोसपासँगको गठबन्धन संकटमा परेको बताइन्छ । 

सत्ता गठबन्धनमा तलमाथि भएमा र जसपा अलग चुनाव लड्ने वा जसपासँगै गठबन्धन बन्ने सम्भावना भएमा एमालेले मधेशमा लोसपासहितको गठबन्धन बनाउने तयारी पनि भित्रभित्रै गरिरहेको छ ।