एमालेमा ओलीको टिकटमा तजबिज: आदेश पालकलाई टिकट, प्रतिस्पर्धीलाई निषेध

एमालेमा ओलीको टिकटमा तजबिज: आदेश पालकलाई टिकट, प्रतिस्पर्धीलाई निषेध

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २२, २०७९


मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले टिकट वितरण अन्तिम चरणमा पु¥याएको छ । राप्रपा र जसपासहित अन्य केही साना दलसँग गठबन्धन गरेको एमालेले अन्य दललाई दिने र भागबण्डा मिल्न बाँकी सिटमा बाहेक अन्य सिटमा टिकटको टुंगो लगाएको छ । टिकट वितरणको अन्तिम अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको थियो ।

ओलीले प्रदेश–१, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा टिकट वितरण गरिसकेका छन् । अब जसपासँग गठबन्धन भएको मधेस प्रदेशमा मात्रै टिकट वितरण गर्न बाँकी रहेको नेताहरुले बताएका छन् । 

सत्ता गठबन्धन एक भएको अवस्थामा मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा एमाले कमजोर थियो । तर अब जसपासँग गठबन्धन हुने भएपछि एमाले केही निर्वाचन क्षेत्रमा जित्ने अवस्थामा आइपुगेको छ । अन्य प्रदेशमा भने अध्यक्ष ओलीले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहित सम्बन्धित प्रदेश कमिटीसँग छलफल गरी टिकट वितरण गरेका हुन् । 

राप्रपा र जसपासँग तालमेल गर्दा ती दललाई दिनुपर्ने सिट छाडेर टिकट वितरण गर्दा एमालेका शीर्ष र प्रभावशाली तथा अध्यक्ष ओलीका विश्वासपात्रलाई प्राथमिकता दिइएको छ । एमालेको विवादमा माधवकुमार नेपाललाई साथ दिएका तर १० बुँदे सहमति गरी एमालेमै बसेका केही नेताले टिकट पाएका छन् । एमालेमा बसेर ओलीको गुणगान गाउने तथा एकीकृत समाजवादी र सत्ता गठबन्धनलाई गालीगलौज गर्ने नेताले टिकट पाउँदा एमालेमा ओलीसँग प्रतिस्पर्धी भावना राख्ने वाम एकताबारे नरम सोच राख्ने नेताले भने टिकट पाएनन् । 

कतिपय प्रभावशाली नेताको नाम निर्वाचन क्षेत्र र जिल्ला कमिटीले एकल रुपमा नै सिफारिस गरेको थियो । जसअनुसार अध्यक्ष ओली झापा–५, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं–५, उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–३, उपाध्यक्ष सुवास नेम्वाङ इलाम–२, महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१, सचिवहरु गोकर्ण बिष्ट गुल्मी–२, छबिलाल विश्वकर्मा रुपन्देही–१, लेखराज भट्ट कैलाली–४, टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट उम्मेदवार बन्ने टिकट पाएका छन् । 

यसअघि नै निर्वाचन नलड्ने घोषणा गरेका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्यलाई काठमाडौं–८ र रामबहादुर थापा बादललाई काठमाडौं–१० बाट उम्मेदवार बनाउने ओलीले फैसला सुनाएका छन् । तर निर्वाचन क्षेत्रबाट एकल रुपमा सिफारिस भएका प्रभावशाली नेता भीम रावल र अर्का नेता घनश्याम भुसालले भने टिकट पाएनन् । रावलले गत महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका थिए भने भुसाल उपाध्यक्षमा उम्मेदवार बनेका थिए । गत स्थानीय चुनावको परिणाम पछि पनि भुसालले एमालेको पराजयका पछि ओली जिम्मेवार रहेको बताएका थिए । निरन्तर वाम गठबन्धनको पक्षमा उभिएका भुसाल र एमाले विभाजनपछि एमालेले निरन्तर गरेको संसद अवरोधको विपक्षमा उभिएका रावलसँग ओलीले प्रतिशोध पूर्ण बदला लिएका छन् । 

एमालेले नवौं महाधिवेशनमा पारित गरेको वैचारिक कार्यक्रमका प्रस्तावक घनश्याम भुसाल समेत ओलीको कैंचीको शिकार भएका छन् । भुसालले आफ्नो घर भएको क्षेत्र रुपन्देही–१ बाट उम्मेदवार हुन चाहेका थिए । तर रुपन्देही–३ बाट उनको नाम सिफारिस भएको थियो । सो स्थान एमालेले राप्रपाका दीपक बोहोरालाई दिने तयारी गरेको छ । अघिल्लो पटक काँग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहोरा भुसालसँग पराजित भएका थिए । 

यसबाट एमालेमा फरक मत राख्न निषेध छ भन्ने सन्देश ओलीले दिएका छन् । जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै नभएर राष्ट्रिय राजनीतिमा समेत आफ्नो छवि निर्माण गरेर पनि टिकट नपाउने नेताहरु विगतमा ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनको विपक्षमा उभिने र सन्तुलित राजनीतिको पक्षमा आवाज उठाउने नेताहरु नै छन् । 
ओलीको पहिलो टार्गेटमा नेता भीम रावल परेका छन् । उनको नाम अछाम–१ बाट सर्व सहमतिले सिफारिस भएको थियो । तर उनको स्थानमा जिल्ला, निर्वाचन क्षेत्रले सिफारिस नै नगरेका र माओवादीबाट एमालेमा गएका झपट बोहोराले टिकट पाएका छन् । 

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री बोहोरा नेकपा विघटन हुँदा माओवादी केन्द्र छाडेर एमालेमै बसेका थिए । एमाले सुदूर पश्चिमले भने रावल पार्टीको सम्पर्कमा नभएको भन्दै अछाम–१ कृष्णप्रसाद जैसीलाई उम्मेदवार बनाउन अध्यक्ष ओलीलाई सुझाव दिएको थियो । तर उनी उम्मेदवार बन्न नचाहे पछि बोहोराले टिकट पाएका हुन् । 

रावलले यहाँबाट २०५१, २०७० र २०७४ मा चुनाव जितेका थिए । रावलको प्रभाव क्षेत्र अछाममा अन्य नेतालाई चुनाव जित्न रावलकै सहयोग बिना कठिन छ । त्यसैले रावल आफैं उम्मेदवार बन्ने भएपछि अन्य नेताले दाबी गरेका थिएनन् । तर ओलीले आफूसँग गत महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका रावललाई टिकट दिएनन् । यसअघि नै ओलीले सबैतिरबाट २–३ जनाको नाम सिफारिस भएकोमा अछामबाट किन रावलको मात्रै नाम सिफारिस भयो भनेर चासो राखेका थिए । 

एमालेमा सधैं माधवकुमार नेपालको कित्तामा उभिएका रावलले गत वर्ष १० बुँदे सहमति गरेर एकीकृत समाजवादीमा नगई एमालेमै बसेका थिए । डोटीमा १० बुँदे पक्षधर चक्र मल्लको नाम सिफारिस भएकोमा सिफारिसमै नपरेकी गौली वलीले टिकट पाएकी छन् । 

उता कञ्चनपुर–३ का निवर्तमान सांसद डा.दीपक प्रकाश भट्टको नाम सिफारिस भए पनि बाटोमै हरायो । त्यहाँ १० बुँदे पक्षधर भट्टको नाम काटेर ओलीले आफूनिकट निरु पाललाई टिकट दिएका छन् । 

ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो असंवैधानिक हर्कतमा साथ नदिने र गत महाधिवेशनमा आफ्नो आज्ञा पालना नगरेर उम्मेदवार बन्ने नेतालाई यसपटक निशानामा राखेर टिकट वितरणमा भेदभाव पूर्ण नीति लिएका छन् । 

एमालेले नवौं महाधिवेशनमा पारित गरेको वैचारिक कार्यक्रमका प्रस्तावक घनश्याम भुसाल समेत ओलीको कैंचीको शिकार भएका छन् । भुसालले आफ्नो घर भएको क्षेत्र रुपन्देही–१ बाट उम्मेदवार हुन चाहेका थिए । तर रुपन्देही–३ बाट उनको नाम सिफारिस भएको थियो । सो स्थान एमालेले राप्रपाका दीपक बोहोरालाई दिने तयारी गरेको छ । अघिल्लो पटक काँग्रेसको समर्थनमा उम्मेदवार बनेका बोहोरा भुसालसँग पराजित भएका थिए । 

ओलीको निशानामा परेका अर्का नेता हुन्, झापाका रविन कोइराला । ओलीको गृहजिल्ला झापाको १ नम्बर क्षेत्रबाट उनको नाम सर्व सहमतिले सिफारिस भएको थियो । २०७० मा उनले विश्वप्रकाश शर्मालाई हराएका थिए । पार्टीभित्र बलियो उम्मेदवार रहेका कोइरालाको नाम काटेर ओलीले आफू प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता रहेका अग्नि खरेललाई टिकट दिएका छन् ।

ओलीले १० बुँदे पक्षधर नेताले टिकट पाउन आफूसँग लिखित माफी माग्नुपर्ने शर्त राखेका थिए । तर माफी नमाग्ने र आफ्नो आज्ञा पालना नगरी सत्ता गठबन्धन र आफूबाट विभाजित भएको एकीकृत समाजवादी माथि गालीगलौजको योग्यता पूरा नगर्ने नेताहरु ओलीको निशानामा परेका छन् । विगतमा आफूसँग गुट नमिलेका तर १० बुँदे र त्यसको आसपास ओली खेमामा लागेका नेताहरुले समेत टिकट पाएनन् । टिकट नपाउनेमा पछिल्लो समयमा ओलीको पक्षमा सत्तापक्ष र माधवकुमार नेपालविरुद्ध खनिदै आएका विष्णु रिजाल समेत छन् । उनी दैलेखबाट उम्मेदवार हुन चाहेका थिए । सिन्धुपाल्चोकका अरुण नेपाल, बैजनाथ चौधरी सहितका नेताहरु टिकटबाट बञ्चित हुँदा योगेश भट्टराई निकट मानिने सिन्धुलीका गणेश पहाडी ओली निकट  नेताहरुले असहयोग गर्ने बताएपछि चुनावी मैदानबाट भाग्न बाध्य भएका छन् । 

नेकपा विभाजन हुँदा माओवादी छाडेर ओलीको कित्तामा उभिएका पूर्व माओवादी नेताहरुमध्ये रामबहादुर थापा काठमाडौं–१०, टोपबहादुर रायमाझी (अर्घाखाँची), लेखराज भट्ट (कैलाली–४), गौरी शंकर चौधरी (कैलाली–३), प्रभु साह रौतहट–३ बाट उम्मेदवार बन्ने भएका छन् ।