बझाङमा गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीको मनोनयन

बझाङमा गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीको मनोनयन

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २३, २०७९

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बझाङमा बाम­ लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले आइतबार उम्मेदवारी दर्ता गराउनु भएको हो ।
 
जोशी बझाङका पुराना र लोकप्रिय कम्युनिष्ट नेता मानिनु हुन्छ । पूर्व वन मन्त्रीसमेत भइसकेका जोशी २०५१ र २०६४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचत हुनु भएको थियो । आसन्न निर्वाचनका लागि वाम­ लोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा एसको भागमा परेपछि पार्टी स्थायी कमिटी सदस्य जोशी उम्मेदवार बन्नु भएको हो । 

दुईपटक सांसद तथा एकपटक मन्त्री भएर जोशीले बझाङको विकासमा उल्लेखनीय योगदान दिनु भएको छ । सरल स्वभाव र स्वच्छ छविको परिचय जोशी आम बझाङी जनताबीच लोकप्रिय नेता मानिनु हुन्छ । 

यसैगरी, यही गठबन्धनका तर्फबाट प्रदेशसभा अन्तर्गत निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंह र ख मा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् । वाम ­लोकतान्त्रिक गठबन्धनको यो कसिलो तालमेलले आफ्ना उम्मेदवारको जित सुनिनिश्चत भएको नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता अर्जुनजङ्ग बहादुर सिंहको दाबी छ ।

यस्तो छ बझाङको अंक गणित 
 
प्रतिनिधि सभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा वैशाख ३० गतेको स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा वाम लोकतान्त्रिक गठबन्धन प्रतिस्पर्धी एमाले भन्दा करिब १० हजार मतले अगाडि छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २० हजार, माओवादी केन्द्रले ९ हजार र  नेकपा एकीकृत समाजवादीले करिब ८ हजार गरी गठबन्धनले ३७ हजार मत ल्याएको थियो । एमालेका उम्मेदवारले २८ हजार मत ल्याउँदा एमालेसँग अहिले गठबन्धन गरेको राप्रपाले १ सय २८ मत ल्याएको थियो । यो अंक गणितको हिसाबले पनि यहाँ वाम­ लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जित हात पार्न सजिलो देखिन्छ ।

गठबन्धनमा एकमत

केही समय अघिसम्म नेकपा (एकीकृत समाजवादी)लाई बाहिर राखेर माओवादीसँग मात्रै तालमेल गर्ने विज्ञप्ती निकालेको यहाँको नेपाली कांग्रेसले अन्तिम समयमा भागवण्डा मिलाउन आफ्नो दाबि छोडेर नेकपा (एकीकृत समाजवादी)लाई समर्थन गरेको छ । बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्ग बहादुर सिंह, पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेको थिए । पृथ्वीबहादुर सिंहले वाम­ लोकतान्त्रिक गठबन्धनतर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका छन भने अर्जुनजङ्ग बहादुर सिंह र  नरेशबहादुर सिंहलगायतका कांग्रेसका प्रभावशाली नेताहरुले एक ढिक्का भएर वाम­लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरिसकेका छन् ।

बझाङमा नेकपा एमालेको तर्फबाट विद्यार्थी नेता ऐन महर चुनवी मैदानमा उत्रिएका छन् ।