प्रभु साहद्वारा टिकट परित्याग गरी स्वतन्त्र ! जसपाका १६ वटै क्षेत्रमा साहका स्वतन्त्र उम्मेदवार !!

प्रभु साहद्वारा टिकट परित्याग गरी स्वतन्त्र ! जसपाका १६ वटै क्षेत्रमा साहका स्वतन्त्र उम्मेदवार !!

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २४, २०७९

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि आइतबार देशैभर मनोनयन दर्ता भएको छ । संविधान जारी भएपछिको दोस्रो निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् । यसपटकको निर्वाचनमा दुई गठबन्धनका कारण देशभर मनोनयन दर्तामै केही रोचक दृश्य देखिएका छन् । 

पछिल्ला ५ वर्षमा विकसित राजनीतिका कारण यसपटक दुई गठबन्धन एक अर्कालाई निषेध गरेर निर्वाचनको मैदानमा उत्रिएका छन् । दुई गठबन्धनको कडा टक्करमा शीर्ष नेताहरु तुलनात्मक रुपमा सुरक्षित देखिएका छन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा लगातार दोस्रो पटक हुन लागेको यो निर्वाचनमा उनी आफैं सातौं पटक चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुराबाट प्रत्यासी रहेका देउवा सबैभन्दा सुरक्षित छन् । उनले डडेल्धुराबाट जितको दोहोरो ह्याट्रिक पूरा गरिसकेका छन् ।

२०४८ देखि यो क्षेत्रबाट निरन्तर जित हात पार्दै आएका देउवा यसपटक सत्ता गठबन्धनको साथले अझै बलियो बनेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा कांग्रेसले सातमध्ये पाँच पालिका र २९ वडा अध्यक्ष तथा सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले दुई पालिका र १३ वडा अध्यक्ष जितेकाले देउवा चुनाव जित्नेमा निश्चित छन् । 

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा–५ मा राप्रपाको साथ पाएर सुरक्षित देखिन्छन् । एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका ओली यो क्षेत्रबाट २०६४ मा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओलीको यसपटक भने राप्रपाको साथले सहज जित हुने देखिन्छ । झापा–५ मा स्थानीय तहको चुनावमा एमालेले ४५ हजार ५१५ मत ल्याएको थियो भने कांग्रेसले २४ हजार ९९५ मत, नेकपा माओवादी केन्द्रले १२ हजार ४४४ मत, राप्रपाले ८ हजार ७७४ मत, स्वतन्त्रले ३ हजार ४७२ मत र नेकपा एकीकृत समाजवादीले १ हजार ९९१ मत ल्याएका थिए । 

समानुपातिक सूचीमा रहे पनि नाम फिर्ता लिएका महरा प्रत्यक्षतर्फ उम्मेदवार भएनन् । माओवादी शान्ति प्रक्रियामा आउँदा विद्यार्थी संगठनको अध्यक्ष रहेका लेखनाथ न्यौपाने चर्चित युवा नेता मात्रै होइनन्, मासलाई आफूतिर तान्नसक्ने खुबी भएका नेता पनि हुन् । तर प्रचण्डप्रति आलोचक रहेका न्यौपानेले अहिलेसम्म कुनै अवसर पाएका छैनन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बनेका छन् । उनलाई यसपटक ७ वर्षअघि साथ छाडेका बाबुराम भट्टराईको पनि साथ छ । अघिल्लो पटक गोरखा–२ मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । यसपटक दुवै नेता प्रचण्डको साथमा छन् । गोरखामा गत स्थानीय तहको निर्वाचनमा माओवादीले ११ मध्ये ९ स्थानीय तह जितेको थियो भने काँग्रेसले २ पालिका जितेको थियो । गोरखामा पहिलो शक्ति माओवादी र दोस्रो शक्ति काँग्रेस भएकाले दुई दलबीच गठबन्धन हुँदा प्रचण्डको जित निश्चित देखिन्छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं–२ छाडेर यसपटक रौतहट–१ मा उम्मेदवार बनेका छन् । जहाँ एक्लाएक्लै प्रतिस्पर्धा गर्दा पनि उनको पार्टी सबैभन्दा ठूलो दल हो । 

वडाअध्यक्षले पाएको मतका आधारमा एकीकृत समाजवादीले १९ हजार ६९८ मत ल्याउँदा कांग्रेसले १६ हजार ९२८ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १२ हजार ६२ मत, जसपाले ८ हजार २४१ मत र माओवादी केन्द्रले ८ हजार १९१ मत पाएको छ ।

नेपाललाई कांग्रेस, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टीको साथ रहेकाले उनको जित निश्चित छ । शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार छन् । उनलाई चुनाव जित्न एकल मतले पुग्दैन । काँग्रेस र माओवादी केन्द्रले पूर्ण साथ दिएको अवस्थामा खनाल विजयी हुनसक्छन् । 

गत स्थानीय निर्वाचनमा एमालेले २६ हजार ८४३ मत पाउँदा कांग्रेसले २५ हजार ७७२ मत, एकीकृत समाजवादीको ९ हजार ८४१ मत र माओवादी केन्द्रले १ हजार २३५ मत पाएको थियो । त्यसैले काँग्रेस र माओवादीको साथ भए खनाल विजयी बन्नेछन् । 

यसरी हेर्दा शीर्ष नेता र पूर्व प्रधानमन्त्रीहरूमा खनाल बाहेक अरु सबै नेता आफ्नो बलियो पकडका कारण ‘सेफ जोन’ मा छन् भने खनाल पनि गठबन्धनका कारण बलियो छन् । 
बलिया टिकटमै बञ्चित

यसपटकको निर्वाचनमा केही बलिया उम्मेदवार भने टिकट पाउन बाटै बञ्चित भएका छन् । एमालेबाट भीम रावल र घनश्याम भुसालले टिकट पाएनन् । भुसाल टिकट नपाए पनि रुपन्देहीबाट गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । उम्मेदवारका रुपमा चर्चा भएर पनि हरिबोल गजुरेल, मिनेन्द्र रिजाल, कुलप्रसाद केसी, त्रिलोचन भट्ट, स्वर्णिम वाग्लेले टिकट पाएनन् भने अग्नि सापकोटाले चुनाव नलड्ने घोषणा गरे । 

यसपटक चुनावी मैदानबाट किनारा लागेका अर्का नेता हुन्, कृष्णबहादुर महरा । समानुपातिक सूचीमा रहे पनि नाम फिर्ता लिएका महरा प्रत्यक्षतर्फ उम्मेदवार भएनन् । माओवादी शान्ति प्रक्रियामा आउँदा विद्यार्थी संगठनको अध्यक्ष रहेका लेखनाथ न्यौपाने चर्चित युवा नेता मात्रै होइनन्, मासलाई आफूतिर तान्नसक्ने खुबी भएका नेता पनि हुन् । तर प्रचण्डप्रति आलोचक रहेका न्यौपानेले अहिलेसम्म कुनै अवसर पाएका छैनन् । 

यी भिडन्त

यसपटकको निर्वाचनमा केही क्षेत्रमा रोचक भीडन्त देखिने भएको छ । गुल्मी–२ मा एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, सर्लाही २ मा सत्ता गठबन्धनकै उम्मेदवारहरु राजेन्द्र महतो र महेन्द्र राय यादव, सप्तरी २ मा उपेन्द्र यादव र सिके राउत, रुपन्देही–१ मा एमाले त्यागेका घनश्याम भुसाल र छविलाल विश्वकर्मा, चितवन–१ मा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल र रेखा शर्मा, मकवानपुर २ मा विरोध खतिवडा र महेश बर्तौला, धादिङ–२ मा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी, मकवानपुर–१ मा कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्याय, कमल थापा र राप्रपाका दीपक सिंह बीचको भिडन्त रोचक हुनेछ । 

यस्तै लमजुङमा गण्डकीका पूर्व मुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादीका महासचिव देव गुरुङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । 
एमालेलाई प्रभु साहको चुनौती

जसपासँग गठबन्धन गरेपछि माओवादी छाडेर एमालेमा गएका प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिँदै मधेसमा जसपाका उम्मेदवार विरुद्ध बागी उम्मेदवार उठाएका छन् । नेता साहले पार्टी परित्याग गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । घनश्याम भुसालले पार्टी छाडेको भोलिपल्ट साहले पनि एमाले छाडेका हुन् । जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको र जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी समेत दिएको उनले बताएका छन् ।