गठबन्धन बैठक: संविधान मिच्ने पक्ष धरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने

गठबन्धन बैठक: संविधान मिच्ने पक्ष धरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २४, २०७९

मकवानपुर  । सत्ताधारी गठबन्धनमा आबद्ध तीन ठूला राजनीतिक दलको बैठक मनहरीमा सोमबार बिहान बसेको छ । मकवानपुर प्रतिनिधि निर्वाचन क्षेत्र २ अन्तर्गतका दलका नेताहरुको उपस्थितिमा बैठक बसेको हो । 

बैठकले तत्कालीन प्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि लोकतान्त्रिक शक्ति र इमान्दार बामपन्थी शक्तिहरु एक भएर संविधान रक्षाका लागि गठबन्धन गरेको स्मरण गराउँदै अबको निर्वाचनमा संविधान मिच्ने पक्षधरलाई परास्त पार्न सबैखाले शक्ति परिचालन गर्ने निर्णय गरेको छ । बैठकले ओली र ओलीका अगुवापछुवाहरु विभिन्न बहानामा जनतामाझ आउने र गठबन्धन दलप्रति भ्रम फिजाउन सक्नेतर्फ चनाखो हुनुपर्ने भन्दै संविधान रक्षा गर्ने शक्तिहरु एक भएर मंसीर ४ गतेको निर्वाचनमा संविधान विरोधी शक्तिलाई परास्त गर्नुपर्ने सन्देश वडा र तल्लो तहमा समेत पुर्‍याउन आ–आफ्ना दलहरुमार्फत भूमिका निर्वाह गर्ने र छिट्टै संयुक्त बैठक बस्ने तयारी समेत गर्ने निर्णय गरेको छ ।

‘स्थानीय तहको निर्वाचनमा पनि मकवानपुरबाट गठबन्धनका उम्मेदवारहरुलाई जिताएर जनताले एकपटक संविधान मिच्नेहरुलाई दण्ड दिएका छन्’, नेपाली काँग्रेस प्रदेश ख समितिका सभापति रन्जन कालाखेतीले भन्नुभयो–‘ओलीको व्यक्तिवादी प्रबृत्तिलाई आत्मसात गरेर हिँड्नेहरुलाई अब मंसीर ४ मा अन्तिम धक्का दिइनेछ ।’  

कमल थापासँग मिलेर संविधान बन्न नदिने, राजतन्त्रको वकालत गर्ने र जन आन्दोलन दबाउने व्यक्तिलाई एमालेले बोकेर आफ्नो राजतन्त्रप्रतिको मोह प्रकट गरेकोबारे पनि बैठकमा चर्चा भएको छ । गठबन्धनमा भएका बिगतका केही कमी कमजोरीलाई सच्याएर लैजाने र तत्कालै बैठक, छलफलहरु एकल र सामूहिक रुपमा राखेर जनतालाई एमालेले छर्न सक्ने भ्रमप्रति सचेत हुनका लागि आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा २ का इन्चार्ज बीरबहादुर घलान ज्वाला, नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा २ का संयोजक भूमिनन्द अर्याल, प्रदेश ख कमिटी संयोजक टंकबहादुर मुक्तान नेपाली काँग्रेस जिल्ला सदस्य नुरोज कुमार पौडेल, नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी गाउँ कमिटी उपाध्यक्ष दिलबहादुर स्याङ्बो लगायत नेताहरुको सहभागिता रहेको थियो ।