व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार लक्षित एक महिने हिन्दु महामिलन पर्वको आयोजना

व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार लक्षित एक महिने हिन्दु महामिलन पर्वको आयोजना

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन २५, २०७९

 तनहुँ ।  व्यासको जन्मभूमि दमौलीको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीय स्थल बनाउने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अट्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेद व्यासको अवतरण भूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुन लागेको हो । 

महामिलन पर्व आउँदो कात्तिक १ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष दुर्गा भक्त अधिकारीले जानकारी दिनुभयो । व्यास भूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरुको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने उहाँले बताउनुभयो । 

उक्त कार्यक्रममा मुक्तिनाथ पीठका पीठाधीश अनन्त श्रीविभूषित स्वामी कमलनयनाचार्यको उपस्थिति रहनेछ । त्यसक्रममा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ । 

यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महशुस गरिएको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो, “पूर्वीय साहित्यका महाकवि वेदव्यासले यहि भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन सकेको छैन ।”

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा १०८ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपुरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ सय ३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार चार सय १९ लागत साझेदारी गरेको छ ।

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् । 

व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विसं २०४१ सालमा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाई व्यक्त गर्नुभएको थियो । 

करिव ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ ।