गगन थापाको प्रधानमन्त्रीमा दाबी: चुनौतीका पहाडा छिचोल्ने, प्रतिस्पर्धी परास्त गर्ने ध्येय !

गगन थापाको प्रधानमन्त्रीमा दाबी: चुनौतीका पहाडा छिचोल्ने, प्रतिस्पर्धी परास्त गर्ने ध्येय !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २५, २०७९

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउन अब ४० दिन बाँकी छ । निर्वाचन कार्यतालिका अनुुसार आज उम्मेदवारको नामावली प्रकाशन गरी भोलि निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । 

यस पटकको निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्दै आधा दर्जन नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । तीमध्ये एक हुन्, काँग्रेस महामन्त्री गगन थापा । उनी यसपटक प्रत्यक्ष निर्वाचित सांसदका रुपमा ह्याट्रिक गर्ने दाउमा छन् । पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापा, २०७० र २०७४ मा लगातार २ पटक काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनले २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई पराजित गरेका थिए ।

यसपटक पनि मुख्य रुपमा गगन र राजन भट्टराईबीच नै चुनावी प्रतिस्पर्धा हुँदैछ । यसपटक परिस्थिति भने फेरिएको छ । अघिल्लो चुनावमा गगन थापा काँग्रेसको एकल उम्मेदवार थिए भने राजन भट्टराईलाई माओवादी केन्द्रको पनि साथ थियो । यसपटक भने गगन थापाले माओवादी केन्द्रको साथ पाउनेछन् भने राजन भट्टराईको एकल प्रतिस्पर्धा हुनेछ । 

गगन थापाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । थापाले प्रधानमन्त्री बन्छु भने पनि उनलाई प्रधानमन्त्री बन्न सहज भने छैन ।  तर थापा निकटले  'थापा जिते प्रधानमन्त्री, भट्टराई जित भए सल्लाहकार'  भनेर भोट मागिरहेको छन् । प्रधानमन्त्री बन्नका लागि उनलाई पहिलो शर्त भनेको मंसिर ४ गतेको निर्वाचनमा जित हात पार्नु हो ।त्यसपछि पनि उनले काँग्रेसभित्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालाजस्ता नेतालाई संसदीय दलको निर्वाचनमा पाखा लगाउनुपर्नेछ । 

त्यसअघि उनको निर्वाचन क्षेत्र काठमाडौं ४ मा उनले जित्ने सम्भावना कस्तो छ भन्ने हेर्न जरुरी छ । चुनावी प्रतिस्पर्धाका लागि काठमाडौं र सर्लाहीबाट थापाको नाम सिफारिस भएको थियो । अन्तिम समयमा काठमाडौं–४ मा स्वर्णिम वाग्लेलाई दिने शर्तमा थापा सर्लाहीमा चुनाव लड्न पनि तयार भएका थिए । तर थापा सर्लाही जाने अवस्थामा काठमाडौं–४ मा देउवाले नैनसिंह महरलाई टिकट दिने तयारी गरेपछि थापा काठमाडौंबाटै चुनाव लड्ने अवस्थामा पुगे र मनोनयन दर्ता गराइसकेका छन् । 

यसपटक पनि यी नै दुई नेताबीचको भिडन्तलाई चासोपूर्वक हेरिएको छ । गगन थापालाई निर्वाचनमा लोकप्रियताको मतले साथ दिँदै आएको छ । यसपटक गगन थापाले चुनाव जितेर पनि निर्वाचन क्षेत्रका लागि धेरै काम गर्न नसकेको आरोप छ । उनलाई धोबी खोलाले कपन सहितका बस्ती डुबानमा पर्दा पनि त्यसको समाधान गर्न नसकेको जस्ता विषय एमालेले चुनावी मुद्दा बनाउने देखिन्छ । 

गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने थापालाई यो क्षेत्रमा चुनाव जित्न यसअघिको भन्दा सरल चाहिँ छैन । थापाको चुनाव क्षेत्र काठमाडौं–४ मा काठमाडौं महानगरपालिकाको १, ७, ८ र ३० नम्बर वडा, बूढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्छन् । थापाको निर्वाचन क्षेत्रमा रहेका १२ मध्ये ९ वटा वडामा एमाले विजयी भएको छ भने तीन वटा वडा मात्रै काँग्रेसले जितेको छ । २०७४ को स्थानीय चुनावमा एमालेले १० वटा वडा जितेको थियो भने काँग्रेसले २ वटा मात्रै वडा जितेको थियो । 

वडाध्यक्षहरुले पाएको मतका आधारमा काठमाडौं महानगरपालिकाका वडाहरू १, ७, ८ र ३० मा कांग्रेसले सात हजार ८३ मत पाउँदा एमालेले एमालेले पाँच हजार ९२ मत, राप्रपाले एक हजार ३४ मत, एकीकृत समाजवादीले एक हजार २९७, स्वतन्त्रहरूले एक हजार ३८ मत पाउँदा नेकपा माओवादी केन्द्रले २६४,  लोकतान्त्रिक समाजवादी पार्टीले २२ र नेपाल मजदुर किसान पार्टीले २१ मत पाएका छन् । 

बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडामा भने एमालेले १० हजार ५६२ मत पाउँदा कांग्रेसले सात हजार ४२५ मत, नेकपा एकीकृत समाजवादीले एक हजार ११४, राप्रपाले ७५९, माओवादी केन्द्रले ५८० मत र लोकतान्त्रिक समाजवादी पार्टीले १६ मत पाएका थिए । 

दुवै स्थानीय तहका १२ वडामा नेकपा एमालेले १५ हजार ६५४ मत पाउँदा कांग्रेसले १४ हजार ५०८ मत, एकीकृत समाजवादीले दुई हजार ४११ मत र स्वतन्त्रले एक हजार ४५ मत पाएका छन् । माओवादीले ८४४, लोकतान्त्रिक समाजवादी पार्टीले ३८ र नेपाल मजदुर किसान पार्टीले २१ मत पाएका छन् । 

थापालाई चुनावमा सत्ता गठबन्धनमा रहेको कांग्रेससहित माओवादी र एकीकृत समाजवादीको मत प्राप्त हुनेछ । यसो गर्दा थापाको पक्षमा १७ हजार ७६३ मत हुन्छ । प्रतिनिधिसभा निर्वाचनमा एमाले र राप्रपा गठबन्धन हुने भनिए पनि यो क्षेत्रमा गठबन्धन भएको छैन । त्यसैले राप्रपाले पाएको मत उसकै उम्मेदवारलाई जाने देखिन्छ । 

स्वतन्त्र उम्मेदवारले पाएको १ हजार भन्दा बढी मत यो क्षेत्रमा निर्वाचन जित्न निर्णायक हुने देखिन्छ । त्यसैले यो पटक भट्टराई र थापा बीचको भिडन्त निकै रोचक हुने देखिएको छ । २०७४ को प्रतिनिधिसभा चुनावमा थापाले २१ हजार ५५८ मत प्राप्त गरी विजयी हुँदा भट्टराईले १८ हजार १४० मत पाएर निकटतम प्रतिद्वन्द्वी भएका थिए । 

यसपटक पनि यी नै दुई नेताबीचको भिडन्तलाई चासोपूर्वक हेरिएको छ । गगन थापालाई निर्वाचनमा लोकप्रियताको मतले साथ दिँदै आएको छ । यसपटक गगन थापाले चुनाव जितेर पनि निर्वाचन क्षेत्रका लागि धेरै काम गर्न नसकेको आरोप छ । उनलाई धोबी खोलाले कपन सहितका बस्ती डुबानमा पर्दा पनि त्यसको समाधान गर्न नसकेको जस्ता विषय एमालेले चुनावी मुद्दा बनाउने देखिन्छ । 

यसैगरी उनले संसदबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन खेलेको भूमिकालाई धेरैले मन पराएका छैनन् । यस्ता विषयले चुनावमा मत प्रभावित पार्छ । त्यसमाथि एमालेलाई राप्रपाले साथ दिएको अवस्थामा विपक्षी गठबन्धन बलियो बन्नेछ र स्वतन्त्र मत निर्णायक हुनेछ ।