त्रिशूली अस्पताल : दसैँ बिदामा समेत सात सयको आकस्मिक उपचार

त्रिशूली अस्पताल : दसैँ बिदामा समेत सात सयको आकस्मिक उपचार

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २६, २०७९

नुवाकोट ।दसैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दसैँ बिदामा दोब्बर बढी बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार अघिल्ला दुई वर्षको दसैँ पर्वमा कोरोना सङ्क्रमणको जोखिम रहेको समयमा समेत तीन सयको हाराहारीमा बिरामीले सेवा लिएका थिए । 'यस समयमा सबैभन्दा बढी ज्वरो र डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन्', उहाँले भन्नुभयो । 

दसैँ बिदामा ज्वरोका बिरामी दुई सय ३०, डेङ्गुका एक सय ६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडा बान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चार लगायतलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको थियो । अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्ने मध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका मेसु डा पाण्डेले बताउनुभयो । उहाँका अनुसार अस्पतालले दसैँ बिदाको समयमा बहिरङ्ग विभाग ९ओपिडी० सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दसैँ बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित ५० शय्याको त्रिशूली अस्पतालले आन्तरिक स्रोतबाट १०० शय्यामार्फत नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाका बिरामीलाई सेवा पुर्‍याउँदै आएको छ ।