मुख्य प्रतिस्पर्धी नै 'अयोग्य' ! राजु गुरुङको उम्मेदवारी खारेजीसँगै विष्णु पौडेललाई सहज

मुख्य प्रतिस्पर्धी नै 'अयोग्य' ! राजु गुरुङको उम्मेदवारी खारेजीसँगै विष्णु पौडेललाई सहज

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २६, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुको संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जना उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । उजुरीमाथि छानबिन गरी कायम रहेका उम्मेदवारीमध्ये अब बुधबार उम्मेदवारले नाम फिर्ता लिन समय पाउनेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजका निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्नेछन् । 

उम्मेदवारी फिर्ताको समय सकिएपछि बुधबार नै १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि ४ बजेदेखि साँझ ७ बजेसम्ममा निर्वाचन चिह्न प्रदान गरिनेछ । 

आइतबार देशभरि मनोनयन दर्तापछि निर्वाचन आयोगले सोमबार उजुरीको समय तोकेको थियो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा दिएको उम्मेदवारी विरुद्ध समेत उजुरी परेको थियो । देउवाको मतदाता नामावलीमा एउटा र नागरिकतामा अर्को जन्ममिति रहेको भन्दै काँग्रेस बीपीबाट उम्मेदवार बनेका कर्ण मल्लले उजुरी हालेका थिए । तर आयोगले मतदाता नामावलीमा प्रिन्ट मिस्टेक भएको भन्दै देउवाको उम्मेदवारी कायम राख्ने पक्षमा निर्णय गरेको हो । 

टीकापुर घटनामा दोषी भई कैद सजाय काटिरहेका रेशम चौधरी र फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएको छ । चौधरी बर्दिया–२ र थारु कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार थिए । 

७ भदौं, २०७२ मा सुरक्षाकर्मीसहित ९ जनाको बीभत्स हत्याका आरोपी चौधरीलाई जन्मकैदको र थारुलाई ३ वर्ष कैदको फैसला अदालतले सुनाएको थियो । 

उता रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको पनि उम्मेदवारी रद्द भएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धामा रहेका गुरुङसँगै हाम्रो नेपाली पार्टीका डा.कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको हो । गुरुङ बैंकिङ कसुरमा सजाय पाएका व्यक्ति हुन् । गुरुङका मुख्य प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेजीले उनलाई चुनाव जित्न सहज हुने भएको छ । 

बागी फिर्ता लिन अल्टिमेटम

सत्ता गठबन्धन आबद्ध दलका शीर्ष नेताले विज्ञप्ति जारी गर्दै गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका सबैलाई उम्मेदवारी फिर्ता लिन समय दिएको छ । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । 

सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारविरुद्ध खडा भएका बागी उम्मेदवार त्यो समयभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासित हुनेछन् । 

यसैगरी नेपाली काँग्रेसले अलग्गै विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेकाले उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित सबै स्वतः पार्टीबाट निष्काशित हुने जनाएको छ । 

जताततै बागी

सत्ता गठबन्धन र एमालेको गठबन्धनबीच हुन लागेको चुनावी प्रतिस्पर्धामा दुवैतर्फ बागी उम्मेदवारको ओइरो छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गोरखा–२ मा काँग्रेसबाट बागी उम्मेदवारी परेको छ । काँग्रेस नेतृ माधवी भट्टले प्रचण्डविरुद्ध उम्मेदवारी दिएकी छन् । भट्टले काठमाडौं–२ बाट उम्मेदवार बन्न चाहे पनि सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्र माओवादीको भागमा परेपछि उनी प्रचण्डविरुद्ध बागी उम्मेदवार बनेकी हुन् ।

यसैगरी प्रचण्डले छाडेको चितवन–३ मा पनि काँग्रेसका दिनेश कोइराला बागी उम्मेदवार छन् । सत्ता गठबन्धनमा माओवादीको भागमा परेको चितवन–३ मा डा.भोजराज अधिकारी उम्मेदवार छन् । माओवादीका महासचिव देव गुरुङविरुद्ध पनि ‘बागी’ उम्मेदवारी परेको छ । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका गुरुङविरुद्ध सत्ता गठबन्धनमा रहेको दल कांग्रेसका प्रकाश जोशीले बागी उम्मेदवारी दिएका छन् । 

सहरी विकासमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी उम्मेदवार रहेको दाङ–१ मा शान्ता चौधरी एमालेबाट प्रतिस्पर्धी छन् । उनका विरुद्ध एमालेकै गंगा चौधरी सत्गौवाले बागी उम्मेदवारी दिएकी छन् । एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरविरुद्ध अछाम–१ मा कांग्रेसका राजन कुँवरले बागी उम्मेदवारी दिएका छन् । 

सिन्धुपाल्चोक–२ मा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत विरुद्ध कांग्रेसकै बद्रीप्रसाद चौलागाई, सर्लाही–४ मा कांग्रेसका नागेन्द्र कुमार रायविरुद्ध काँग्रेसकै प्रभावशाली नेता अमरेशकुमार सिंह, धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादवविरुद्ध सत्ता साझेदार दल एकीकृत समाजवादीका रामचन्द्र झा, सर्लाही–१ मा जसपाका उम्मेदवार प्रमोद साहविरुद्ध एमालेका मानबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् । 

सर्लाही–३ मा माओवादीका नरेश साह कलवारविरुद्ध एकीकृत समाजवादीका उत्तमकुमार मैनाली, धादिङ–२ मा कांग्रेसका रामनाथ अधिकारीविरुद्ध कांग्रेसकै रमेश धमला, काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसीविरुद्ध माओवादी केन्द्रकी अञ्जना विशंखे, रौतहट–३ मा माओवादीका रवीन्द्र पटेलविरुद्ध कांग्रेसका ओमप्रकाश जयसवाल, पर्सा–१ मा लोसपाका लक्ष्मणलाल कर्णविरुद्ध कांग्रेसका  अजय द्विवेदी, चितवन–१ मा कांग्रेसका विश्व पौडेलविरुद्ध कांग्रेसकै राजेन्द्र बुर्लाकोटी बागी उम्मेदवार बनेका छन् । यस्तै अन्य धेरै क्षेत्रमा सत्ता गठबन्धन र एमालेको गठबन्धनका उम्मेदवारविरुद्ध गठबन्धन र पार्टीभित्रैबाट बागी उम्मेदवार मैदानमा उत्रिएका छन् । 

जसको आवाज हुनेछैन संसदमा

निकै खरो रुपमा प्रस्तुत हुने केही नेताको आवाज भने आगामी ५ वर्ष संसदमा सुनिने छैन । काँग्रेसका डा.मिनेन्द्र रिजाल, रामशरण महत आगामी संसदमा हुनेछैनन् । यसैगरी पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वसभामुख कृष्णबहादुर महरा, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीजस्ता प्रभावशाली नेताहरु पनि संसदमा हुने छैनन् । गत भदौंमा एक्लैले २० मिनेट संसद अवरुद्ध गरेर चर्चा कमाएका एमालेका भीम रावल पनि आगामी संसदमा पुग्ने बाटोबाट बञ्चित भएका छन् भने संसदमा रोचक शैलीमा आफ्ना भनाई राख्ने गजेन्द्र महत पनि आगामी संसदमा हुने छैनन् ।