निर्वाचनका कारण पल शाहको पेसी स्थगित

निर्वाचनका कारण पल शाहको पेसी स्थगित

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २६, २०७९

तनहु ।  नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । 

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो । 

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाई स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिनुभएको छ । 

    निर्वाचनका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारी तर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिनुभयो ।