कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना : ९६ मेगावाट विद्युत् उत्पादन

कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना : ९६ मेगावाट विद्युत् उत्पादन

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २६, २०७९

स्याङ्जा ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले दैनिक ९६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । 

दसैँ तिहारको चाडवाडका समयमा उद्योग धन्दा तथा कलकारखाना पूरै नचल्ने र उत्पादित विद्युत् खपत नहुने भएकाले यही समयमा मर्मतकार्य गरिएको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना मिर्मीका प्रमुख पशुपतिराज गौतमले जानकारी दिनुभयो ।

'समय–समयमा मेसिन मर्मत गर्नुपर्ने/फेर्नुपर्ने हुन्छ' उहाँले भन्नुभयो, ';अन्य बेलामा मर्मत गर्दा विद्युत् अभाव समस्या हुने भएकाले अहिले खपत नहुने समयमा मर्मत गर्दा उपभोक्ता तथा उद्योग, कलकारखानालाई सहज हुने गरि चाडवाडको मौकामा मर्मत गरेका हौंँ' ।

दसैँ बिदामा पाँच दिनसम्म उत्पादन पूरै बन्द गरेर मर्मत गरिएको उहाँले जानकारी दिनुभयो । दुईवटा टर्वाइनको मर्मत सकिएको र बाँकी रहेको एउटा टर्वाइनसहित अन्य मर्मत कार्य तिहार पछिसम्म चल्ने उहाँले बताउनुभयो ।

कालीगण्डकी नदीमा पानीको सतह बढेकाले अहिले बाँधमा रहेका सबै ढोका खुल्ला गरिएको छ । 'दुई वटा टर्वाइन चलाउन ९४ मिटर क्यूब प्रतिसेकेण्ड पानी आवश्यक पर्छ” उहाँले भन्नुभयो, 'अहिले नदीमा पानीको बहाव एक हजार दुई सय मिटर क्यूब प्रतिसेकेण्ड रहेको छ ।' नदीको पानीको बहाव बढी रहेकाले कात्तिकको अन्तिम सातातिर मात्र ढोका बन्द गरिने उहाँले बताउनुभयो ।

बाँध थुनेसँगै नदीमा सात किलोमिटर लामो जलाशय बन्ने र सोही जलाशयमा स्टिमर सेवा सञ्चालन हुँदै आएको छ । वर्षाका कारण अहिले रोकिएको जलयातायात सेवा नदीमा पानीको सतह घट्नासाथै पुनः सुरु हुन्छ । स्याङ्जाको मिर्मी (आँधीमुहान) देखि स्याङ्जा, पर्वत र गुल्मीको सङ्गलमस्थलमा स्थित धार्मिक एवं पर्यटकीयस्थल सेतीवेणी शीलासम्म जलयातायात सञ्चालन हुँदै आएको छ । आँधीमुहानदेखि सेतीवेणी शीलासम्म जलयातायात मार्फत पुग्न झण्डै ३० मिनेट लाग्दछ ।