चेक अनादर मुद्दामा दोषी हैन आरोपित थिए राजु गुरुङ: एमालेको योजना र सेटिङमा उम्मेदवारी खारेज !

चेक अनादर मुद्दामा दोषी हैन आरोपित थिए राजु गुरुङ: एमालेको योजना र सेटिङमा उम्मेदवारी खारेज !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २७, २०७९

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारमाथिको दाबी विरोध सकिएर निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न समेत वितरण गरेको छ । बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिह्न प्रदान गरिरहेका बेला रुपन्देही–२ मा भने सत्ता गठबन्धनका दलहरु जिल्ला निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाइरहेका थिए ।

सत्ता गठबन्धनमा आबद्ध पार्टीका युवा संगठनहरुले विज्ञप्ति नै निकालेर निर्णय सच्याउँदै तत्काल नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गर्न माग गरेको छ । आयोगले कुनै उजुरी नै नपरी मध्यरातमा उम्मेदवारी खारेज गरेको भन्दै गठबन्धनका युवाहरु आक्रोशित बनेका छन् । 

चेक अनादार मुद्दामा दोषी हैन आरोपित थिए राजु गुरुङ । बैंकिङ कसुरमा दोषी देखिएको भन्दै निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गरेको हो । जब कि २०७९ असोज २५मा उच्च अदालतले निर्वाचन कार्यालय क्षेत्र नं २ रुपन्देहीलाई लेखेको पत्रमा चेक अनादार मुद्दामा २०७९ जेठ २७ मा दर्ता भई मुद्दा चलिरहेको ब्यहोराकाे पत्र  पठाएको थियो । त्यही पत्रका आधारमा नै राजु गुरुङकाे उमेदवार खारेज गरिएको  छ । गुरुङ एमाले उपाध्यक्ष विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी थिए । गत स्थानीय तहको निर्वाचन परिणामले रुपन्देहीमा पौडेललाई चुनाव जित्न कठिन हुने देखाएको थियो । तर प्रमुख प्रतिस्पर्धीको बिना उजुरी उम्मेदवारी खारेजको निर्णयले षडयन्त्र देखिएको सत्ता गठबन्धनको बुझाई छ । 

त्यसो त सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका डा.कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी मंगलबार मध्यराति खारेज गरिएको छ । उनको उम्मेदवारी खारेज न्यायसंगत नभएको र ‘सेटिङ’ मा गरिएको भुसाल र भुसाल पक्षधर युवाको आरोप छ । प्रमुख पार्टीका उम्मेदवारलाई टक्कर दिने देखिएपछि आफ्नो उम्मेदवारी खारेज गरेको उनले दाबी गरेका छन् । 

रुपन्देहीमा स्थानीय निर्वाचनले नै विष्णु पौडेलको अवस्था कमजोर देखाएको थियो । त्यसैले यहाँ सबैभन्दा बलियो सत्ता गठबन्धनलाई उम्मेदवार बिहीन बनाउदा पौडेललाई सहज हुन्थ्यो । रुपन्देही–२ गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको छ । एमालेबाटै विभाजित भएका कारण एकीकृत समाजवादीसँग एमालेको अन्तरविरोध पनि चर्को छ । त्यसैले उम्मेदवारी खारेजीका प्रक्रिया मध्यरातमा अँध्यारो कोठामा एमालेको योजनाअनुसार नै भएको शंका गर्ने ठाउँ प्रशस्त देखिएको  छ ।

उनले लौरो चुनाव चिह्न भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए । तर लाभको पदमा रहेकोे भन्दै उनको उम्मेदवारी खारेज गरेको हो । निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकोले निजको उम्मेदवारी खारेज भएको ।’

प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) उम्मेदवार हुन कुनै लाभको पदमा रहेको हुन नहुने उल्लेख छ । डा.भुसाल सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्नातकोत्तर तहमा अध्ययनरत छन् । 

यसैका आधारमा स्वतन्त्र उम्मेदवारहरू विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले भुसालविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा भुसालको उम्मेदवारी खारेज गरेको हो । तर, भुसालले निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेकोबारे आफूलाई जानकारी नगराएको बताएका छन् । 

उजुरी र उम्मेदवारी कायम रहने वा खारेज हुनेबारे निर्णय गर्न आयोगले दिनभरी कुराएको थियो । तर मध्यरातमा एमाले कार्यकर्तामार्फत उम्मेदवारी खारेज भएको सूचना सार्वजनिक भएको भन्दै उनले यसमा षडयन्त्र रहेको आशंका गरेका छन् । 

डा.भुसाल लाभको पदमा रहेकाले उम्मेदवारी खारेज गरेको निर्वाचन कार्यालयले भने पनि उनी कुनै लाभको पदमा छैनन् । बरु उनी त्रिवि शिक्षण अस्पतालमा आवासीय डाक्टरका रुपमा पढ्न छात्रवृत्ति पाउँछन् । कार्यालयले छात्रवृत्तिलाई लाभको पदका रुपमा परिभाषित गर्दै उम्मेदवारी खारेज गरेको हो । 

लाभको पद भन्नाले नेपाल सरकारको कुनै दर्जामा रहेर राज्यकोषबाट तलब खानु हो । तर छात्रवृत्तिमा पढ्दैमा चुनावै लड्न नपाउने निर्वाचन आयोगको कार्यालयले नयाँ नजिर प्रतिपादन गरेको छ । कानुनी हिसाबले पनि उनी उम्मेदवार बन्न अयोग्य हैनन् । 

विवादमा निर्वाचन अधिकृत

रुपन्देही–२ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले उम्मेदवारी खारेजीको सूचना निकालेका हुन् । तर यहाँको निर्वाचन अधिकृत भने उद्वीर नेपाली हुन् । सत्ता गठबन्धनका राजु गुरुङसहित ३ जनाको उम्मेदवारी खारेजीले उनी विवादमा मुछिएका छन् । मध्यरातमा उम्मेदवारी खारेज गराएका अधिकृत नेपाली सम्पर्कमा आउन चाहेका छैनन् । उनी एमाले निकट रहेको पाइएको छ । नेपाली अघिल्लो चुनावमा एमालेबाट गण्डकी प्रदेशको सांसद बनेकी जुनादेवी नेपालीका श्रीमान् हुन् । उनले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको सचिव भएर समेत काम गरेका थिए । निर्वाचन अधिकृत नियुक्त हुनुअघि उनी सर्वोच्च अदालतमा कार्यरत थिए । उनी राजनीतिक शक्तिकै आधारमा एमाले उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार हुने रुपन्देही–२ मा गएका हुन् । 

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एमालेबाट निर्वाचित मात्रै होइनन्, उनले राष्ट्रियसभा अध्यक्षको रुपमा भन्दा बढी एमाले कार्यकर्ताको रुपमा बेलाबेला भूमिका खेल्ने गरेका छन् । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि सभामुख निवास कब्जादेखि अग्नि सापकोटा र पुष्पा भुसालका विरुद्ध समेत उनले कदम चालेका थिए । सापकोटासँग त उनको सम्बन्ध औपचारिकतामा मात्रै सीमित थियो । त्यसैले एमाले जिताउने मिसनअनुसार नै एमालेबाट परिचालित भएको बुझ्न कठिन छैन । 

यतिबेला देश निर्वाचन मय छ । सत्ता गठबन्धन र एमाले गठबन्धन चुनावी मैदानमा छन् । तर देशैभर अधिकांश निर्वाचन क्षेत्रमा एमाले कमजोर छ । रुपन्देहीमा स्थानीय निर्वाचनले नै विष्णु पौडेलको अवस्था कमजोर देखाएको थियो । त्यसैले यहाँ सबैभन्दा बलियो सत्ता गठबन्धनलाई उम्मेदवार बिहीन बनाउदा पौडेललाई सहज हुन्थ्यो । रुपन्देही–२ गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको छ । एमालेबाटै विभाजित भएका कारण एकीकृत समाजवादीसँग एमालेको अन्तरविरोध पनि चर्को छ । त्यसैले उम्मेदवारी खारेजीका प्रक्रिया मध्यरातमा अँध्यारो कोठामा एमालेको योजनाअनुसार नै भएको शंका गर्ने ठाउँ प्रशस्त देखिएको  छ । अब यहाँ आयोगले नयाँ निर्णय गर्छ द्वन्द नै गरेर अगाडि बढ्छ, त्यो हेर्न भने बाँकी छ ।