'नेपाल सम्बत र शंखधर साख्वाः बारे म परिचित छु'

'नेपाल सम्बत र शंखधर साख्वाः बारे म परिचित छु'

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २७, २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्बतको नयाँ वर्ष र राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफु परिचित रहेको बताउनु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको एक प्रतिनिधिमण्डललाई भेटघाट गर्ने क्रममा प्रम देउवाले भन्नुभयो– नेपाल सम्बतको नयाँ वर्ष तथा राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको बारेमा म परिचित छु ।

उहाँले प्रतिष्ठानले विगतदेखि नेपाल सम्बत र शंखधर साख्वाःको योगदान बारे कार्य गर्दै आएकामा प्रशंसा ब्यक्त गर्दै प्रतिष्ठानले मध्यपुर थिमिमा र काठमाडौँको बसन्तपुरमा कार्यक्रम नियमित गरिने गरेको चर्चा गर्नुभयो । 

भेटघाटको क्रममा प्रतिनिधिमण्डलको तर्फबाट प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल सम्बत र राष्ट्रिय विभूति साख्वाःको बारे जानकारी गराउदै प्रतिष्ठानको गतिविधि समावेश भएको पुस्तिका प्रदान गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले नेपाल सम्बतको नयाँ वर्षको दिनमा हरेक वर्ष नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखको हैसियतले माल्यार्पण गर्ने परम्परा रहेको र सो समारोहमा प्रमुख आतिथ्यताको लागि प्रम समक्ष आग्रह गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठले प्रतिष्ठानको विगतका गतिविधि बारे प्रम देउवा समक्ष जानकारी दिनुभएको थियो । प्रतिनिधिमण्डलमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष सुरेश प्रधान र सहसचिव विनोद कोजुको उपस्थिति थियो ।