‘अपजसे’ प्रधानमन्त्री देउवाद्वारा ४ मन्त्री बर्खास्त प्रकरण: जसपाको पनि प्रदेशबाट जवाफी कारबाही !

लोकसंवाद टिप्पणी

‘अपजसे’ प्रधानमन्त्री देउवाद्वारा ४ मन्त्री बर्खास्त प्रकरण: जसपाको पनि प्रदेशबाट जवाफी कारबाही !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २८, २०७९

नेपालको राजनीतिमा लामो समयदेखि एक प्रमुख राजनीतिक खेलाडी हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा यतिबेला पाँचौ पटक देशको प्रधानमन्त्रीको कुर्सीमा छन् । नेपालको संसदीय अभ्यासमा देउवा एक किसिमले ‘अपजसे’ प्रधानमन्त्री पनि मानिन्छन् ।  २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा माओवादीले सशस्त्र युद्ध सुरु गर्‍यो । २०५८ र २०६१ मा प्रधानमन्त्री भए । तर उनलाई त्यसबेला प्रजातन्त्र दरबारमा बुझाएको आरोप लाग्यो भने राजा ज्ञानेन्द्रले निर्वाचन गराउन असक्षम भएको भन्दै बर्खास्त नै गरिदिए । त्यसपछि ७ राजनीतिक दलमा आबद्ध भएर जनआन्दोलनमा होमिए । त्यसबेला देउवा काँग्रेस प्रजातान्त्रिकको सभापति थिए । 

जनआन्दोलन सफल भएसँगै नेपाली काँग्रेससँग एकीकरण भयो । त्यसपछि देउवा लामो समय प्रधानमन्त्री बन्न पाएनन् । २०७३ मा केपी ओलीले सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नछाडेपछि सत्ता परिवर्तन भयो र सुरुमा काँग्रेसको समर्थनमा प्रचण्ड र पछि माओवादीको समर्थनमा देउवा प्रधानमन्त्री बने । आफ्नै नेतृत्वमा गराएको निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोग्न पुग्यो । त्यसपछि कम्तिमा ५ वर्षका लागि सत्ताबाट अलग हुने अवस्थामा पुगेका देउवा अन्ततः केपी ओलीकै गडबडी र प्रचण्डसहित, माधवकुमार नेपाल, उपेन्द्र यादवको समर्थनमा प्रधानमन्त्री भए । 

देउवाको नेतृत्वमा आगामी मंसिर ४ गते निर्वाचन हुँदैछ । देउवाको नेतृत्वमा हुन लागेको लगातार दोस्रो निर्वाचन नजिकिदैं गर्दा देउवा लगातार दोस्रो पटक नै आफ्नै मन्त्रिपरिषदका सदस्यहरुमाथि ‘एक्सन’ लिने अवस्थामा पुगे । उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई पदबाट हटाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बर्खास्त गरेका हुन् । सत्ता गठबन्धनमा रहेको जसपाले निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि देउवाले मन्त्री हटाएका हुन् । 

मुख्यमन्त्री लालबाबु राउतले मन्त्री हटाउने तयारी गरेपछि गठबन्धनका मन्त्रीहरुले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुले भने बर्खास्तीमा पर्नुअघि नै शुक्रबार बिहान सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट राज्यमन्त्री सहित २ र नेकपा एसबाट १ गरी ६ जना मन्त्री छन्

देउवालाई आफ्नै मन्त्री हटाउने बाध्यता आइ लाग्दा उनले दुई पटक फरक फरक तरिका अपनाएका छन् । जसपाका ४ मन्त्रीलाई बर्खास्त गरेका उनले पाँच वर्षअघि माओवादी मन्त्रीमाथि गरेको व्यवहार भन्दा फरक व्यवहार गरेका हुन् । पाँच वर्षअघि काँग्रेससहितको सरकारमा रहेको माओवादीले एमालेसँग चुनावी तालमेल गर्‍यो । एमालेसँगको चुनावी तालमेल भएपछि माओवादी मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए । तर देउवाले निर्वाचन सार्ने कोशिस गरेको भन्दै राजीनामा दिएनन् । राजीनामा नदिएपछि देउवाले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए । 

माओवादीबाट त्यसबेला ९ जना मन्त्री थिए । माओवादीबाट उपप्रधानमन्त्रीमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, प्रभु साह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु मन्त्री थिए भने मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भु लाल श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङ्दी शेर्पा राज्यमन्त्री थिए । देउवाले उनीहरु सबैको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । यसपटक पनि देउवाले विना विभागीय बनाउने अनुमान गरिए पनि बर्खास्त नै गरिदिएका छन् । नेपालको संसदीय अभ्यासमा देउवाले पुन : पटक ‘अपजसे’ प्रधानमन्त्रीको कम गर्न पुगेका छन् । उनले पाँच वर्षअघि अपनाएको नीति भन्दा यसपटक फरक नीति लिएका छन् । 

जसपाको जवाफी कारबाही

संघीय सरकारमा आफ्ना मन्त्री हटाएपछि जसपाले त्यसको बदला प्रदेश सरकारमार्फत लिने भएको छ । मधेश प्रदेश सरकारबाट कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई जसपाले हटाउने तयारी गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले मन्त्री हटाउने तयारी गरेपछि गठबन्धनका मन्त्रीहरुले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुले भने बर्खास्तीमा पर्नुअघि नै शुक्रबार बिहान सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन् । जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा कांग्रेसबाट ३ जना, माओवादी केन्द्रबाट राज्यमन्त्री सहित २ र नेकपा एसबाट १ गरी ६ जना मन्त्री छन् ।