रक्ष राईको  ‘युद्ध सौन्दर्य चिन्तन’ नामक अनुसन्धानमूलक कृति बजारमा

रक्ष राईको  ‘युद्ध सौन्दर्य चिन्तन’ नामक अनुसन्धानमूलक कृति बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन २९, २०७९

प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् ।

आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् ।

‘युद्ध सौन्दर्य चिन्तन’मा वरिष्ठ साहित्य साधक, चिन्तक तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको विशिष्ट र महत्वपूर्ण भूमिका रहेको छ । ६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । पुस्तक गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको पुस्तक महत्वपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस, बागजबारमा पाइने समेत जानकारी गराइएको छ ।  

ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुखेको छ, सालिक उभिएर गोर्खाली,  पोयट इन किलिङ जोन (अङ्ग्रेजी) कवितासङ्ग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र  पल्टनेको फोटो कथासङ्ग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँग सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवा निवृत्त खोटाङका राईले बेलायतको वेल्सलाई कर्मथलो बनाएका छन् ।