सप्तरी–२मा गजेन्द्रनारायण सिंहको इतिहास दोहोरिएला ? सुरक्षा खोज्दा जोखिममा परेका उपेन्द्र यादव

सप्तरी–२मा गजेन्द्रनारायण सिंहको इतिहास दोहोरिएला ? सुरक्षा खोज्दा जोखिममा परेका उपेन्द्र यादव

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०७९

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा निकै रोचक चुनावी भिडन्त हुने क्षेत्रमध्ये एक हो, सप्तरी–२ । यो क्षेत्रबाट दुई वटा पार्टीका अध्यक्ष चुनावी  मैदानमा छन् । तर रोचक कुरा के छ भने यो क्षेत्रमा यी दुवै जना अध्यक्ष सर्वाधिक बलिया उम्मेदवार भने होइनन् । 

सत्ता गठबन्धनले कम सिट दिएको भन्दै एमालेसँग चुनावी तालमेल गर्न गएका जसपा अध्यक्ष उपेन्द्र यादव यो क्षेत्रमा हालसम्म सुरक्षित हुन सकिरहेका छैनन् । उनले यो निर्वाचनमा आफू र आफ्नो पार्टीको सुरक्षा खोजेका थिए । 

एमालेसँग चुनावी तालमेल गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका मुख्य प्रतिस्पर्धी लोसपा नेता जयप्रकाश ठाकुर हुन् । यहि क्षेत्रबाट पहिलो पटक संसदीय निर्वाचन लड्न लागेको जनमत पार्टीका अध्यक्ष डा‍. सीके राउत पनि चुनावी मैदानमा छन् । 

गत स्थानीय तहमा प्राप्त भएको मतलाई आधार मान्ने हो भने सप्तरी–२ जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतान्तरले पछि छ । सप्तरी २ मा सत्ता गठबन्धनसँग ३३ हजार १ सय ८४ मत छ भने एमाले र जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत मात्रै छ । यसलाई आधार मान्ने हो भने यादवले चुनाव जित्ने सम्भावना निकै कमजोर छ । 

सप्तरी–२ मा यादवका लागि सिके राउत अर्का चुनौती बनेका छन् । स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा राउतको पार्टीको प्रभाव बलियो छैन । तर राउत यो क्षेत्रका मतदाताका लागि नयाँ अनुहार हुन् । यही क्षेत्रमा लोसपाका जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । यो उनको प्रभाव क्षेत्र पनि हो ।

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पर्ने चारमध्ये १ पालिकामा मात्रै जसपा विजयी बनेको थियो भने लोसपाले २ र काँग्रेसले एक स्थानीय तह जितेका थिए । जसपाले राजबिराज नगरपालिकामा जितेको थियो भने छिन्नमस्ता र महादेवामा लोसपा र तिलाठी कोइलाडी काँग्रेसले जितेको हो । 

२०७४ को निर्वाचनमा तत्कालीन राजपाले टिकट नदिएपछि स्वतन्त्र उठेका ठाकुरले ९ हजार ४५८ मत ल्याएका थिए । ठाकुर निकट नेताहरुका अनुसार यो उनको व्यक्तिगत मत हो । उनलाई यसपटक सत्ता गठबन्धनको समेत साथ रहेकाले उनी यो क्षेत्रमा बलियो उम्मेदवार हुन् । त्यसैले ठाकुर यहाँ चुनाव जित्ने सबैभन्दा बलिया र उपेन्द्रका लागि भारी पर्ने नेता हुन् । 

सप्तरी–२ मा पछिल्लो समयमा कुनै पनि नेताले दोहोर्‍याएर चुनाव जितेका छैनन् । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ र २०५१ मा चुनाव जितेपछि यहाँ कुनै पनि नेता दोस्रोपटक जन अनुमोदित हुन सकेका छैनन् । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा सद्भावना पार्टीका महेश यादव निर्वाचित भएका थिए भने २०७० सालमा माओवादी केन्द्रका उमेश यादव विजयी बनेका थिए । २०६४ सालका उम्मेदवार २०७० सालमा नराम्ररी पराजित भएका थिए । २०७४ सालमा उपेन्द्र यादव विजयी बन्दा माओवादीबाट २०७० मा चुनाव जितेका उमेश यादवको हार भएको थियो । 

दोहोर्‍याएर यो क्षेत्रबाट उम्मेदवार बनेका यादवलाई जनताले अनुमोदन गर्छन् या नयाँ छान्छन् त्यो हेर्न बाँकी छ । 

अघिल्लो पटक निर्वाचन लड्दा यादव आफू नेतृत्वको संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए । मधेश आन्दोलनको रापताप पनि बाँकी नै थियो भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) सँग चुनावी गठबन्धन थियो । त्यतिमात्रै होइन वाम गठबन्धन हराउन काँग्रेसले पनि सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता गराएर उपेन्द्रलाई समर्थन गरेको थियो । त्यसैले गृह जिल्लाबाट उपेन्द्र यादवको जित सहज बनेको थियो । 

यसपटक जसपाको आफ्नै अवस्था पहिलेजस्तो बलियो छैन भने मधेश आन्दोलनको रापताप र गठबन्धन पनि फेरिएको छ । सप्तरी–२ मा उपेन्द्रसँग गठबन्धन गरेको एमालेको खासै प्रभाव छैन । 

गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पर्ने चारमध्ये १ पालिकामा मात्रै जसपा विजयी बनेको थियो भने लोसपाले २ र काँग्रेसले एक स्थानीय तह जितेका थिए । जसपाले राजबिराज नगरपालिकामा जितेको थियो भने छिन्नमस्ता र महादेवामा लोसपा र तिलाठी कोइलाडी काँग्रेसले जितेको हो । 

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा भने जसपा पहिलो पार्टी हो । जसपाले १४ हजार ४०३ मत पाएको भने दोस्रो स्थानमा रहेको कांग्रेसले १० हजार ८०७, लोकतान्त्रिक समाजवादी पार्टीले १० हजार ४३५ मत पाएको छ । माओवादीको ९ हजार ५३४ र एमालेको ५ हजार ९५१ र जनमत पार्टीको ४ हजार ५४२ मत छ । गठबन्धनमा आवद्ध दलको मत जोड्ने हो भने जसपा अध्यक्ष यादव ठूलो मतान्तरले पछाडि देखिन्छन् । सत्ता गठबन्धन छाडेर एमालेसँग गठबन्धन गरेकोमा जसपाकै नेताहरु समेत असन्तुष्ट छन् । त्यसैले सप्तरी–२ मा उपेन्द्र यादवका लागि चुनाव जित्न फलामको च्युरा बन्ने देखिन्छ ।