दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : ठेकेदारलाई विवरण दिन ३५ दिने निर्देशन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : ठेकेदारलाई विवरण दिन ३५ दिने निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ४, २०७९

खोटाङ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।

राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुनेगरी ३५ दिने समयसीमा तोकेको हो । 
    
अलपत्र योजनाका कामहरु ३५ दिनभित्र पुनः शुरु नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालो सूचिमा राख्ने लगायतका कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । 'राज्यले करोडौँको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन', उहाँले भन्नुभयो, 'निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो हठर छ । संयमता पूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नु पर्नेछ ।'

नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा योजनाहरुको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुभएको छ । नगरप्रमुख भट्टराईले सार्वजनिक गर्नुभएको विवरण अनुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडक अन्तर्गत नुनथलाको महुरेदेखि राजापानीको सिम्पानी सडक कालोपत्र, अस्पताल चोक–लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ ।

दोर्पाको पङ्खुखोला पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक ढलान/कालेपत्र, भुते–आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति, हाँटडाँडा काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नति, भालुखोला र मेवाखेला पुल, दिक्तेलबजार ढलान लगायतका काम पनि अलपत्र छ । जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुई तले प्रशासनिक भवन, तीनतले प्राविधिक भवन, विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपूरो छ ।

प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाबाटै सञ्चालन गर्नेगरी माटिकोरे खेलमैदान निर्माणको काम नै शुरु भएको छैन । गत वैशाख–२९ गतेदेखि शुरु भइ १८ महिनामा खेलमैदान निर्माणको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म शुरु नभएको हो । 
    
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकामा जनप्रतिनिधिहरुको भूमिका सक्रिय नभएको गुनासो आउन थालेको छ । अस्त व्यवस्त अवस्थामा रहेको यातायात व्यवस्थापन, बिचौलिया तथा कालोबजारी नियन्त्रण लगायतमा जनप्रतिनिधिको कुनै भूमिका नदेखिको आरोप आउन थालेको हो ।