डोटीमा २० हजार मतले अगाडि सत्ता गठबन्धन : एकीकृत समाजवादीका आलेलाई कांग्रेसका बागीको चुनौती !

डोटीमा २० हजार मतले अगाडि सत्ता गठबन्धन : एकीकृत समाजवादीका आलेलाई कांग्रेसका बागीको चुनौती !

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ४, २०७९

सत्तारुढ गठबन्धनबाट प्रेमबहादुर आले डोटीमा उम्मेदवार बनेका छन् । उनी डोटीबाट चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन् । तर उनलाई ह्याट्रिक गर्न सोचेजति सहज  छ कि छैन ? 

डोटीमा एकीकृत समाजवादीले दाबी नछाडेपछि काँग्रेसका वीरबहादुर बलायरले छाडेका छन् । बलायर कैलाली–४ बाट उम्मेदवार बनेका छन् । ओली सरकारमा वनमन्त्री बन्दा विवादित बनेका आले देउवा सरकारमा पर्यटनमन्त्री भएर वाहवाही कमाए । नारायणहिटीभित्र बतास समूहलाई रोक्ने देखि पशुपति धर्मशालामा होटल हटाउने सम्मका कार्यले उनको चर्चा चुलियो । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गैरकानुनी रूपमा नारायणहिटी दरबार क्षेत्रमा प्रवेश गरेको बतास समूहले सञ्चालन गरेको क्यान्टिन र निर्माणाधीन बारसँगै पशुुपति धर्मशालामा बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दसँगको सम्झौता उनैले रद्द गराए । 

रोयल्टी नतिर्ने क्यासिनो सञ्चालकहरू बाट ८७ करोड रोयल्टी उठाएका आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनदेखि विश्राम स्थलको व्यवस्था गराएका थिए । 

आले यही लोकप्रिय कामको फेहरिस्त सहित चुनावी मैदानमा उत्रिएका छन् । उनले २०७४ सालमा भएको चुनावमा कांग्रेस नेता वीरबहादुर बलायरलाई पराजित गरेका थिए । यसपटक तिनै बलायरको पार्टी नेपाली काँग्रेसको समर्थनमा आले चुनावी मैदानमा छन् । तर काँग्रेसले जित्ने बलियो सम्भावना भएको जिल्लामा एकीकृत समाजवादीलाई टिकट दिएको भन्दै काँग्रेसभित्रको असन्तुष्टि व्यवस्थापन आलेलाई मुख्य चुनौती उत्तिकै छ ।

आलेविरुद्ध काँग्रेसका नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आलेको प्रतिस्पर्धा एमालेकी गौरी ओलीसँग हुने भएको छ । ओली एमालेकी पूर्वसांसद पनि हुन् । यहाँ एमाले जिल्ला अध्यक्ष चक्र मल्ल आकांक्षी थिए । तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् । 

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार जिल्लाको पहिलो पार्टी नेपाली काँग्रेसको ३३ हजार ३३१ मत छ भने नेकपा एमालेको २४ हजार ३८९ मत छ । यस्तै नेकपा माओवादी केन्द्रसँग ७ हजार ७८९ मत, नेकपा एकीकृत समाजवादीको ३ हजार २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ हजार ५ मत र राष्ट्रिय जनमोर्चाको ५८६ मत देखिन्छ । यस आधारमा आलेले निर्वाचन जित्न सत्ता गठबन्धनको अधिक मत उनको पक्षमा खस्नुपर्ने हुन्छ । 

२०६४ सालको पहिलो संविधानसभामा पराजित भएका आले २०७० सालमा निर्वाचित भएका थिए । उनी २०७४ मा पनि विजयी भए । यसपटक सत्ता गठबन्धनको उम्मेदवार बनेका उनी डोटीमा ह्याट्रिक गर्ने दाउमा छन् । 

नेकपा एमालेबाट अलग भएपछि आले पहिलोपटक नेकपा एकीकृत समाजवादीबाट चुनाव लड्न लागेका हुन् । आलेलाई डोटीमा नेपाली काँग्रेससहित, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पनि साथ रहेको  छ । 

आलेले निर्वाचन लड्न लागेको डोटीमा आदर्श गाउँपालिका, डा. केआई सिंह गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, बडिकेदार गाउँपालिका, बोगटान फुड्सिला गाउँपालिका, शिखर नगरपालिका, सायल गाउँपालिका छन् । यीमध्ये सबैजसो स्थानीय तहमा नेपाली काँग्रेस पहिलो पार्टी छ । उसले गत स्थानीय तह निर्वाचनमा एक्लै चुनाव लडेर ७ स्थानीय तहमा प्रमुख र ८ वटामा उपप्रमुख जितेको थियो । 

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार जिल्लाको पहिलो पार्टी नेपाली काँग्रेसको ३३ हजार ३३१ मत छ भने नेकपा एमालेको २४ हजार ३८९ मत छ । 

यस्तै नेकपा माओवादी केन्द्रसँग ७ हजार ७८९ मत, नेकपा एकीकृत समाजवादीको ३ हजार २०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १ हजार ५ मत र राष्ट्रिय जनमोर्चाको ५८६ मत देखिन्छ । यस आधारमा आलेले निर्वाचन जित्न सत्ता गठबन्धनको अधिक मत उनको पक्षमा खस्नुपर्ने हुन्छ । 

डोटीका नौं स्थानीय तहमा वैशाखमा भएको निर्वाचनको परिणामलाई आधार मान्दा आले आबद्ध रहेको पार्टी नेकपा एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन बलियो भएको देखाउँछ । यहाँ एमाले र राप्रपा अलग अलग रुपमा चुनावी मैदानमा छन् । 

सत्ता गठबन्धनको पक्षमा ४४ हजार ९०९ मत छ भने एमालेको २४ हजार ३८९ र राप्रपाको १ हजार ५ मत छ । पार्टीगत आधारमा नेकपा एकीकृत समाजवादी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रपछि चौथो स्थानमा छ । तर सत्ता गठबन्धन एक भएर निर्वाचनमा गएकाले स्थानीय तहको मत परिणामको आधारमा आगामी निर्वाचनमा डोटीमा सत्ता गठबन्धनको जित निश्चित जस्तै देखिन्छ ।