‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारी सँगै गुण्डा नाइकेहरू बोकेर निर्वाचनमा होमिएको छ’

‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारी सँगै गुण्डा नाइकेहरू बोकेर निर्वाचनमा होमिएको छ’

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ५, २०७९

मकवानपुर  । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले केपी ओलीले दुई तिहाइको जनमत जोगाउन नसकेको बताउनु भएको छ । 

मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका खतिवडाले शुक्रबार भीमफेदीमा भएको कार्यक्रममा बोल्दै जनताले वामपन्थीलाई सरकार सञ्चालनका लागि दिएको जनमत ओलीको आडम्बर भत्किएको बताउनु भयो । ‘मेरै लोकप्रियताले सबै बल आर्जन भएको भन्दै सरकार र पार्टीलाई एकलौटी चलाउन खोज्दा जनमतको अपमान भयो,’ खतिवडाले भन्नु भयो, ‘पार्टीको रिसले दुई–दुई पटक संसद विघटन गरे ।’

‘२०३६ सालदेखि परिवर्तनका पक्षमा लागेका दलहरु हाम्रो गठबन्धनमा छन्,’ खतिवडाले भन्नुभयो, ‘एमाले भने राजतन्त्र पक्षधर, विखण्डनकारी सँगै गुण्डा नाइकेहरू बोकेर निर्वाचनमा होमिएको छ ।’

खतिवडाले आफ्नो क्षेत्रमा विकासका निर्माणका लागि भए गरेका कार्यहरु बताउँदै झुटको खेती गर्नेहरुले कहिले युवाका नाममा त कहिले विकास भएन भनेर बेइमानी गरिरहेको बताउनुभयो । 

 मकवानपुरको कैलाशस्थित कालिकाटारमा भएको गठबन्धनकै अर्को कार्यक्रममा खतिवडाले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका सबै उम्मेदवारले जित्छन्, धोकाधडी हुन्छ भनेर भ्रम मात्र फैलाइएको हो ।’ उहाँले आफू जितेर प्रदेशका उम्मेदवार हार्ने वा प्रदेशका उम्मेदवार जितेर आफू हार्ने अवस्था नभएको र त्यस्तो भएमा आफू र प्रदेशका विजयी उम्मेदवार समेत नैतिकता देखाउँदै राजीनामा दिन भएको बताउनुभयो । 

कार्यक्रममा निर्वाचन क्षेत्र २ क का उम्मेदवार एवम् बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनका उम्मेदवारहरु परिपक्व, अनुभवी र मकवानपुरको विकास अहोरात्र क्रियाशील अनुहारहरु भएको बताउनु भयो । कालिकार भीमफेदी सभामा सहभागी मोक्तानले प्रदेश गठबन्धन सरकारले विकट र दुर्गम कैलाश तथा भीमफेदीको विकासमा गरेको योगदानहरू चर्चा गर्नु भयो । ‘भीमफेदीमा २ अर्ब ८६ करोडका १ सय १७ योजना प्रदेश सरकारले ल्याएको छ,’ मोक्तानले भन्नुभयो, ‘संघ र प्रदेशमा मन्त्री तथा मुख्यमन्त्री बन्ने अनुहारहरु मकवानपुरकै भएकाले जनताका समस्या समाधानमा राजनीतिक पहुँच अरु बलियो हुनेछ ।’

प्रदेश ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमाले कमल थापा, विखण्डनकारी, गुण्डा नाइके बोकेर हिँडिरहेको र व्यवस्था नै सिध्याउने काम लागेकाले गठबन्धन बनाउनु परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सहिदको हत्यारालाई उम्मेदवार बनायो, साढे ३ वर्ष केन्द्र र प्रदेश सरकार हुँदा मकवानपुरको विकासमा एमालेले केही पनि काम गरेन ।’
तीनजना उम्मेदवार दुवै सभामा सहभागी हुनुहुन्थ्यो ।