मेजमानीमा मालभोग केरा र घिउ खाने लोभ : अनकन्टारमा मूलबाटो बिराउँदा कन्तबिजोगको बास !

फर्कलान् र ती दिनहरु

मेजमानीमा मालभोग केरा र घिउ खाने लोभ : अनकन्टारमा मूलबाटो बिराउँदा कन्तबिजोगको बास !

हरिविनोद अधिकारी  |  साहित्य  |  कार्तिक ५, २०७९

उद्यानमा बस गई सब तत्व खुल्छ । कति सटिक उत्तर जीवनका बारेमा । हो नि त ! बगैँचामा गएर बस्दा साँच्चै जीवनको रहस्य आफैँ खुल्ने रहेछ । केही दिन पहिले एउटा बियाँको रुपमा रहेको या सानो विरुवाको रुपमा रहेको एउटा फूलको स्वरुप केही दिनमा नै फक्रेर आउँछ र फेरि केही दिनमा नै या त टिपिएर पूजामा देवतालाई चढाइन्छ या मालामा उनिएर कसैको गलामा पहिरिन्छ या फुलेर अनि गलेर भुइँमा झर्छ ।

कहिले भुइँ मुनिबाट संघर्ष गरेर बल्ल बल्ल भुइँ फुटाएर पृथ्वीमा चियाउने सानो विरुवा माटोसँगै जन्मेको हुनाले उसले घाम पाउँछ, पानी पाउँछ र प्रकृतिको मायालु हावाले उसलाई सुमसुम्याउँछ र हलक्क बढ्न थाल्छ । उसलाई थाहा नै छैन कि हामी मान्छेले नाम राखेको प्राण वायुको नाम अक्सिजन हो र प्रकृतिको चक्रले अक्सिजन खाएर कार्बनडाइअक्साइड ओकल्ने सानो विरुवाको रुपमा हरियालीसहितको त्यो विरुवा अब वयस्क हुन्छ ।

अझ हाम्रो बगैँचामा या करेसामा या कुनै गमलामा फुलेको सयपत्री कति मनोरम हुन्छ, कति मन लोभ्याउने हुन्छ । लाग्छ त्यो फूल फुलिरहोस् र त्यसलाई नियालेर हेरिरहन पाइयोस् । उसको बास्ना हाम्रो परिवेशमा फिँजिरहन पाओस् । मगमग बास्नाले यो तृषित मनलाई सिञ्चित गरिरहोस् । 

हामीले कक्षा १०मा पूर्वीय भाषा नेपाली पढ्थ्यौँ र त्यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पढ्थ्यौँ । सबैभन्दा बढी चर्चित कविता त यात्री नै थियो र हामीलाई त्यो कविता अध्यापन गर्ने हुनुहुन्थ्यो मकवानी-बाला महाकाव्यका कवि उमा नाथ शास्त्री सिन्धुलीय ।

हामी गुरु भन्थ्यौँ । शास्त्री योग्यता भयो, सिन्धुलीको बासिन्दा भएको चिरस्थायी जानकारी दिन गुरुले आफ्नो उपनाम जस्तै गरी अझ भनौँ थरकै रुपमा सिन्धुलीय राख्नु भएको बुझिन्थ्यो किनभने उहाँको थर अधिकारी हो र पनि कहिल्यै अधिकारी राख्नु भएको मैले थाहा पाइँन । यात्री कविता पढाउँदा उहाँले हाम्रो किशोर वयमा समाज रुपान्तरणको सन्देश दिनु हुँदो रहेछ भन्ने कुरा अहिले झन स्पष्ट हुँदैछ जबकि उहाँले हामीलाई त्यो कविता पढाउनु भएको पनि ५४ वर्ष भइसकेको छ । चेतनामूलक त्यो कविताले समाजको पुनर्जागरणको सन्देश दिएको र आफैँमा आफूलाई खोज्ने सन्देश दिनु हुने हाम्रो गुरु साँच्चै कोइला खानीभित्रको हीरा हुनु हुँदो रहेछ भन्ने कुरा उहाँको समाज सुधार र प्रकाशित तथा अप्रकाशित ग्रन्थहरूको बारेमा प्राप्त जानकारीले हामीलाई अहिले पनि एउटा श्रद्धाको भाव उम्लिएर आउँछ ।

यात्री कविता होस् कि उद्यानमा गई बस सब तत्व खुल्छन् भनेर जीवनका बारेमा उहाँले दिएको तर्कले आज पनि त्यो समयमा पुगिन्छ । यात्री कविता पढाउँदा गुरुले हामीलाई गीताको भाव सम्झाउनु भएको थियो र भन्नुहुन्थ्यो- आत्मालाई कहाँ गएर खोज्ने नि ? आफैँमा खोज्ने । आफूलाई कहाँ गएर खोज्ने ? आफैँमा खोज्ने । उद्यानको कुरा गर्दा गुरु भावुक बनेर हामीलाई भन्नु हुन्थ्यो - हेर, जीवनलाई किन फूलसँग दाँजेको भने त्यो चाँडै फुल्ने हुन्छ तर छिटै ओइलाएर जान्छ । तर जीवनको शेष छोडेर जान्छ बीजको रुपमा, भुवाको रुपमा, झरेका फूलका परागका रुपमा, जुन पछि उम्रिन्छ आफ्नो बेलामा । अनि उद्यानमा गएर बस्दा, अझ केही दिनसम्म नियालेर हेनु पर्छ र थाहा हुन्छ कसरी उम्रिन्छ, कसरी बैँस आउँछ र फुल्न थाल्छ अनि कसरी उसको  जीवन फेरि प्रकृतिस्थ हुन्छ ।

यसबाट मानिसले किन घमण्ड गर्ने ? जीवनको एउटा पाटो भनेको समय चक्रको निरन्तरता हो जसलाई जीवन भनिन्छ । कसरी उत्पन्न हुन्छौँ र कसरी त्यसको संरक्षण हुन्छ भन्दा बढो भावुक भएर भन्नुहुन्थ्यो गुरु- नियति हुन्छ कि हुँदैन, भावीले लेख्छ कि लेख्दैन थाहा छैन तर मानवीय सचेतनाले दिने मानवीयताले नै मान्छे मान्छे भएर बाँच्न सक्छ, सगर्व टाउको ठड्याएर बाँच्न सक्छ । नभन्दै गुरुको जीवन कसैसँग, कतै पनि नझुकी उदाहरणीय रुपमा बित्यो । जसरी एउटा फूलले बगैँचामा हावा, हुरी, पानी, घाम, कीरा , भँवरा, मौरीसँग सामना गरको हुन्छ र बाँचेर हामीलाई सुवासित फूल दिएको हुन्छ केही नभए झैँ गरी, जीवन पनि त्यस्तै हो र गुरुले हामीजस्ता हजारौँ सचेत चेला चेलीहरुको उत्पादन गर्नुभयो र हामीले पनि गुरुकै पाइला पछ्याउँदै पुनरुत्पादन गरिरह्यौँ सचेत नागरिकहरुको जत्था ।

मालभोग केरा र घिउको लोभमा बाटो नदेखेका हामीहरु कता पुग्यौँ  भन्ने त थाहा भएन तर हामी महाभारतको काखमा छौँ भन्ने चाहिँ थाहा भयो । जाडो पनि हुन थाल्यो । लाएका लुगा पनि भिज्न थाले । भएको एउटा टर्च लाइटको पनि बेट्री सिद्धिन थालेको जस्तो भयो । बल्ल बल्ल एउटा घर देख्यौँ कुकुरले आइलाग्यो र पनि कराउँदै बास माग्यौँ । अलिअलि चिउरा थियो खाजा बोकेको, त्यो पनि खान पाएका थिएनौँ ।

जहिले भेट्यो सधैँ खुसी, चिन्तारहित हाँसो र जीवन निर्बिघ्न बाँच्नका लागि प्रेरणाका श्रोत बन्नुहुन्थ्यो । कसैसँग कुनै गुनासो थिएन, कसैसँग केही अपेक्षा थिएन र सधैँ एउटा मैनबत्तीले दिएजस्तै उज्यालो दिने तर आफू पग्लेर पनि । 

गुरुको स्मरणले अर्को प्रसङ्ग पनि याद आयो । गुरुले जहिले पनि जीवन पढाउनु भयो हामीलाई । पढ्न त हामी उहाँसँग संस्कृत, प्रारम्भिक नेपाली तथा पूर्वीय भाषा नेपाली पढ्थ्यौँ तर ती विषयभित्रै जीवन कसरी सफलताका साथ बाँच्ने भन्दा जहिले पनि उहाँले परोपकारका कुरा गर्नुभयो र सधैँ स्वावलम्बी हुनका लागि प्रेरित गर्नुभयो । आज भोलि भनिन्छ नि, सादा जीवन उच्च विचार । त्यो गुरुको जीवनमा नै थियो र हामी गुरुप्रति समाजले दिने सम्मानको प्रशंसा गर्थ्यौ र आज पनि मलाई गर्व छ, हामीले त्यस्तो मनीषीसँग शिक्षा लिने एउटा कालखण्डमा मौका पाएका थियो ।

हाम्रो सिन्धुलीमा जम्मा तीन वटामात्र माध्यमिक विद्यालय थिए त्यो बेलामा अर्थात् २०२०को दशकसम्म पनि । सिन्धुलीमा समेत प्रवेशिका परीक्षाको केन्द्र थिएन २०२४सालसम्म पनि । २०२२ सालमा कमला हाइस्कुलबाट प्रवेशिका परीक्षा अर्थात् एसएलसी परीक्षामा बोर्ड फस्र्ट आएकाले विद्यालयको नाम चम्किएको थियो । २०२५सालदेखि एसएलसीको केन्द्र सिन्धुलीमा कायम गरिएको थियो र सिन्धुली, रामेछाप तथा नेपाल भरबाट ज-जसले पनि त्यहाँ जाँच दिन आउने खुला थियो । मैले या हामीले २०२६सालमा त्यहीँबाट परीक्षा दिएका थियौँ ।

विद्यालयमा आउन नसक्ने तर क्षमता भएकाहरुका लागि गुरुले एसएलसी सरहको परीक्षाका व्यवस्था गर्नुभएको थियो सिन्धुलीमा केन्द्र कायम गर्नुभन्दा पहिले नै विद्यापीठको परीक्षा लिनका लागि गुरुले व्यवस्था गर्नु भएको रहेछ। कतिपय नियमितरुपमा पढ्न नसक्ने तर योग्यता परीक्षा दिएर पास हुनेहरुलाई भने विद्यापीठको परीक्षा दिन पाउने फाराम भर्न र परीक्षा दिनका लागि सिन्धुलीमै व्यवस्था गरिएको रहेछ गुरुको प्रयासले । सबै प्रक्रिया एसएलसीकै जस्तो थियो तर बोर्ड चाहिँ विद्यापीठको बेग्लै थियो र प्रमाणपत्र पनि विद्यापीठको बोर्डले दिन्थ्यो, त्यस्तो अर्को पनि संस्था रहेछ नेपालमा त्यो बेलामा, नेपाली शिक्षा परिषद् जसको कल्पना कार हुनु हुँदो रहेछ गोपाल पाँडे असीम ।

अनि त्यो बेलामा तीनवटा बोर्ड रहेका थिए । सिन्धुलीमा विद्यापीठ बोर्डको परीक्षाको सम्पूर्ण जिम्मेवारी गुरुको थियो । योग्यता परीक्षा सिन्धुलीमा लिएर उत्तीर्ण हुनेलाई मात्र विद्यापीठको परीक्षामा सामेल गराइन्थ्यो जस्तो लाग्छ । मैले त त्यो परीक्षा दिइँन तर धेरै साथीहरु , जसलाई नियमित तथा प्राइभेट रुपमा एसएलसी दिने अवस्था थिएन, कक्षा आठ पास गरेको तीन वर्ष पुगेका र १५वर्ष उमेर पुगेका विद्यार्थीहरुले गुरुको जिम्मामा रहेको विद्यापीठको परीक्षा दिन्थे । विद्यापीठको परीक्षा सायद २०३६ सालपछि होला, बन्द भयो र सबै प्राप्ताङ्क तथा प्रमाणपत्रको जिम्मा नेपाल सरकारको बोर्डलाई जिम्मा लगाएको छ र अहिले पनि ती  पुराना विद्यापीठबाट उत्तीर्ण हुनेहरुको मार्कसिट या प्रमाणपत्र चाहिएमा अहिलेको राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराउँछ ।

पहिले सिन्धुलीका केन्द्र नहुँदाको बेलामा कतिपय साथीहरुले विद्यापीठको प्रमाणपत्र लिएका रहेछन् र पछि एसएलसी पनि दिएका रहेछन् । गुरुको चाहना भनेको कोही पनि क्षमतावान व्यक्ति प्रमाण पत्र विहीन नहोस् भनेर सिन्धुलीमा विद्यापीठको केन्द्र राख्नु भएको रहेछ ठुलो प्रयासपछि । हुन त गुरुको प्रयास भएको भए नेपाली ह्रस्व दीर्घको सबाई लेख्ने गुरु गोपाल पाँडे असीमको शिक्षा परिषद्को पनि प्राप्त हुन्थ्यो तर वीरगञ्ज सिन्धुलीबाट सहजरुपमा जान आउन सकिने हुनाले पनि होला , विद्यापीठको केन्द्र थियो । त्यो बेलामा नियमित पढ्न नभ्याउने का लागि विद्यापीठको प्रवेशिका परीक्षा वरदान नै साबित भएको थियो । यही प्रवेशिका का आधारमा धेरैले खरदारमा जागिर पाए, कतिले प्राथमिक विद्यालयमा शिक्षक हुन पाए र कतिले उच्च शिक्षाका लागि बाटो फेला पारे ।  

यो प्रसङ्गसँगै मलाई अर्को पनि एउटा स्मरण भएको छ । मैले नै एसएलसी दिने वर्ष २०२६सालमै हो । काका शिवहरि बरालले प्रवेशिका पास नभए विद्यालयको शिक्षक पदबाट राजीनामा दिनु पर्ने अवस्था आएछ । त्यो बेलामा काका कपिलाकोटमा या नजिकै कतै पढाउनु हुन्थ्यो । पहिले काकाले सायद काठमाडौँको पद्मोदय मावि या विजय मेमोरिय माविमा रहेको प्रौढ कक्षाबाट प्रवेशिका दिनु भएको या तयारीमा हुँदा सिन्धुली जिल्लामा शिक्षक हुने चाँजो परेको रहेछ । नियमितरुपमा कक्षा लिन पनि नसक्ने अवस्था थियो एकातिर भने काकाले योग्यता परीक्षाको तयारी त गर्न सक्ने अनि विद्यापीठको तयारी पनि विद्यालयमै बसेर गर्न सक्ने भन्ने भएपछि मैले गुरुसँग भेट्नका लागि गुरुकै घरमा गएँ गैयाँटारमा ।

काकाले योग्यता परीक्षा दिने हुनु भयो अनि मात्र फाराम भर्ने कुरा भयो । सामान्यतया दसैँ पहिले त्यसको बोर्ड परीक्षा हुन्थ्यो । मेरो पनि योग्यता परीक्षा दसैँ अघि नै हुँदै थियो । काकाले बोर्ड परीक्षा दिने, मैले कक्षा १०को टेस्ट परीक्षा दिने सँगै भयो । काका मै सँग बस्नुभयो किनभने मेरै पुस्तकले हुन्थ्यो र म नियमित विद्यार्थी भएकाले काकालाई सिकाउन सक्थेँ । मलाई लाग्छ, विद्यापीठमा अंग्रेजी र गणित इच्छाधीन थियो तर गुरुले अंग्रेजी लिनका लागि अनिवार्य जस्तै गराउनु भएको थियो किनभने पछि उच्च शिक्षामा भर्ना लिन मुस्किल हुन्थ्यो ।

मेरो परीक्षा दसैंको विदाभन्दा पहिले सकियो तर काकाको भने षष्ठीका दिन सकिने थियो सायद १२ बजे सकिन्थ्यो । केन्द्र कमला हाइस्कुलमै थियो । अनि हामी षष्ठीका दिन काकाको जाँच समाप्त गरेर हिँड्यौ दसैंको रमझमका लागि घरतिर । सिन्धुली माडीबाट ग्वाल्टारतिर । बाटामा महाभारतको डाँडो पर्थ्यो । नाकाजोलीतिरबाट जाने हो भने हिर्दिङ् हुँदै नाकाजोली, माथिल्लो हैबार, झगरपुर हुँदै देउरालीटारको खरबन हुँदै बन्दीजोर खोलो तरेर ग्वाल्टार पुगिन्थ्यो भने बन्दीजोर खोलै खोला जाने हो भने हामी खोलै खोला एकान्त बाटो हुँदै एकैचोटि ग्वाल्टार पुगिन्थ्यो । हामी भनेको म, शिवु काका, रवीन्द्र कार्की काका गरेर तीन जना सिन्धुलीबाट करिब १बजेतिर हिँड्यौ । घर पुग्ने समय थिएन तर बास त बस्नै पर्थ्यो ।

एकातिर नाकाजोली पुग्न सकिन्थ्यो किनभने दसैँको बेलामा गडौली खेती हुने हिर्दिङ्का काजीहरु भोलिदेखि लाग्ने दसैँका लागि घर जानेहरु थिए र बाटामा थुप्रै मानिसहरु भेटिने थिए । तर शिबहरि काकाले भन्नुभयो - आज मेजमानी खाने हो , बाँसकटेरीमा बस्ने हो, मालभोग केरा र घिउ खाने हो मज्जाले बहिनीको घरमा । उहाँकी बहिनी भनेको मेरी फुपू । हामी समवयी भएकाले फिलुङ्गी दिदी भन्थ्यौँ उहाँले बहिनी । अनि हामी लाग्यौँ बाँसकटेरी खोलाबाट माथितिर । बाटो हामीले देखेको थिएन तर हाक्यिौँ खोलाको बाटो ।

दसैँताका भएकाले खोलामा पानी प्रशस्त थियो । कतै दह थिए त कतै खोलो तर्न पनि गाह्रो थियो । विस्तारै रात पर्ने सुरसार भयो तर बाटो भेटिँदैन । यता गयो उता गयो । न कोही भेटिन्छन्, न बाटो भेटिन्छ । जहाँ पायो त्यहाँबाट खोलो तर्न पनि सकिँदैन किनभने खोलो साँघुरिएर गएको थियो । झ्याउँकिरी कराउन थाले, बाटो छैन र बाटो पनि देखिँदैन । हामीलाई कसरी जाने पनि थाहा छैन र कता बस्ती छ भन्ने पनि थाहा थिएन । बल्ल बल्ल लुगा भिजाउँदै खोलो तर्‍यौँ । उकालो लाग्यौँ बुटेन समात्दै । कसो कसो कुकुर कराएको सुनियो । बाले भनेको सुनेको थिएँ  कुकुर कराए मा बस्ती नजिकै हुनुपर्छ भन्ने हुन्छ । अनि हामी अनुमानले बस्तीको चियो गर्न थाल्यौँ । कतै बत्ती बलेको जस्तो देखियो,  आवाज सुनियो । सिमसिम पानी पनि पर्न थालेको थियो किनभने त्यो ठाउँ महाभारतको दक्षिण कोखामा थियो । हामीलाई कहाँ आइपुग्यौँ भन्ने थाहा थिएन ।

मालभोग केरा र घिउको लोभमा बाटो नदेखेका हामीहरु कता पुग्यौँ  भन्ने त थाहा भएन तर हामी महाभारतको काखमा छौँ भन्ने चाहिँ थाहा भयो । जाडो पनि हुन थाल्यो । लाएका लुगा पनि भिज्न थाले । भएको एउटा टर्च लाइटको पनि बेट्री सिद्धिन थालेको जस्तो भयो । बल्ल बल्ल एउटा घर देख्यौँ कुकुरले आइलाग्यो र पनि कराउँदै बास माग्यौँ । अलिअलि चिउरा थियो खाजा बोकेको, त्यो पनि खान पाएका थिएनौँ । त्यहाँ चिउरा त कुट्दै थिए तर तिनीहरुले दिएनन् किनभने देउतालाई चढाएको छैन भनेर । उनीहरुका बच्चालाई पनि खान दिएका थिएनन् । पानी माग्यौँ, त्यही अलिकति चिउरा हाम्रै झोलाबाट झिकेर खायौँ र पानी पियौँ । न ओढ्ने, न ओछ्याउने, एउटा उपियाँ लाग्ने गुन्द्री फेला पार्‍यौं र सुत्यौँ । निद्रा त के लाग्नु र ! तै पनि कसो झपक्क निदाइएछ । यसो सुनेको त पानी पो दर्कन थालेको छ बाहिर । हामी कुन ठाउँमा छौँ भन्ने पनि थाहा छैन, घरका मानिसहरु तामाङ भाषामात्र बोल्नुहुन्छ । पुरुषहरु घरमा रहेनछन् । रातीमात्र आउनु भयो । को भन्ने प्रश्नमा हामीले आफ्नो परिचय दियौँ तर उनीहरुले विश्वास गरेनन् किनभने हाम्रो बाटो त पारिबाट जान्थ्यो मूलबाटो । कसरी यो बाटो आयौँ अनकन्टारमा भन्ने प्रश्नको उत्तर हामीसँग थिएन । मालभोग केरा र घिउ खाने लोभमा हिँडेका हामी कन्तबिजोग मा परेका थियौँ । क्रमशः