जब चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई पार्टी महाधिवेशन हलबाट निकालियो... (भिडियोसहित)

जब चीनका पूर्वराष्ट्रपति हु जिन्ताओलाई पार्टी महाधिवेशन हलबाट निकालियो... (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  विदेश  |  कार्तिक ६, २०७९

चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनको हलबाट बाहिर निकालिएको भिडियो यतिबेला संसारभर चर्चाको विषय बनेको छ । 

वर्तमान राष्ट्रपति सी जिनपिङसँगै बसिरहेका ७९ वर्षीय हुलाई अधिकारीरुले उठाएर बाहिर निकालेका थिए । उनको एकातिर राष्ट्रपति सी र अर्कातिर चिनियाँ नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष लि चान्सु बसेका थिए । सोही क्रममा अधिकारीहरुले उनी बसेको ठाउँमा पुगेर बाहिर निकालेका थिए । त्यसबेला हु निकै कमजोर देखिएका थिए भने उठ्न पनि नमानेको प्रष्ट देखिन्थ्यो । उनलाई बाहिर निकाल्नुको कारण भने खुलेको छैन । चिनियाँ सरकारी पक्षले पनि यसबारेमा केही बताएको छैन । हु जिन्ताओ सन् २००३ देखि २०१३ सम्म चीनको राष्ट्रपति र पार्टी महासचिव थिए । उनलाई नै विस्थापित गर्दैै सी राष्ट्रपति बनेका हुन् । 

भिडियोमा दुई जना अधिकारीहरुले हुलाई बाहिर जान आग्रह गरिरहेका देखिन्छन् । एकजना अधिकारीले उनको पाखुरामा समातेर विस्तारै बाहिर निकाल्न खोज्छन् । ती अधिकारीसँग रहेको फाइल उनले हेर्न खोजेजस्तो पनि देखिन्छ । तर हेर्न भने पाउँदैनन् । उनलाई बाहिर निकाल्दै गर्दा राष्ट्रपति सीको छेउमा उभिएर उनले सीलाई केही भन्छन् । त्यसको जवाफमा सीले ‘हो’ भन्ने शैलीमा टाउको हल्लाउँछन् । त्यसपछि उनले चिनियाँ प्रधानमन्त्री ली खछ्याङको काँधमा हातले छुन्छन् । त्यसपछि दुई जना अधिकारीले उनलाई लिएर चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन चलिरहेको ‘ग्रेट हल अफ दि पिपुलबाट बाहिर जान्छन् । 

यो महाधिवेशनबाट सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिव चयन भएका छन् भने उनलाई सर्वोच्च नेताको उपाधि पनि दिइएको छ । यसले हरेक पाँच वर्षमा हुने महाधिवेशनबाट उनी चीनमा माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित भएका छन् । 

हु जिन्ताओले आफ्नो कार्यकालमा केही खुला नीति लिएका थिए । विदेशी कम्पनी र विदेशी पर्यटक ठूलो संख्यामा चीन भित्रिएका थिए । तर सी राष्ट्रपति भएपछि उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई बलियो गरी आफूमा केन्द्रित गर्दै लगेका छन् । उनलाई चुनौती दिने अर्को नेता चीनमा हाल देखिएको छैन । सी निर्णय लिन स्वतन्त्र छन् र उनले विश्वलाई नयाँ चुनौती पनि खडा गरिदिएका छन् । 

महाधिवेशनको हलबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई बाहिर जान भनिएको भिडिओले विश्वभर अनेकौं अनुमानहरू गरिएका छन् । उनले आफूलाई बाहिरिन आग्रह गरिरहेका अधिकारीलाई के भने र बाहिरिँदै गर्दा राष्ट्रपति सीलाई के भने र सँगै रहेका प्रधानमन्त्री ली खछ्याङलाई धाप मार्दै के भने भन्ने विषयमा खुल्दुली सिर्जना गरेको छ । 

हु जिन्ताओलाई निकाल्दै गरेको भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

उनी कुनै गम्भीर स्वास्थ्य समस्या भएर बाहिरिएको हुनसक्ने वा चिनियाँ शक्ति संघर्ष नयाँ मोडमा पुगेको हुनसक्ने समेतका अड्कल गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले यस्ता विषयलाई हत्तपत्त बाहिर सार्वजनिक गर्दैन । तर हु जिन्ताओलाई निकाल्दै गरेको भिडियो सार्वजनिक हुनुले पनि उनको स्वास्थ्य समस्या वा पावर पोलिटिक्समा कुनै सन्देश हुनसक्ने अनुमान गरिएको छ ।

हु जिन्ताओले आफ्नो कार्यकालमा केही खुला नीति लिएका थिए । विदेशी कम्पनी र विदेशी पर्यटक ठूलो संख्यामा चीन भित्रिएका थिए । तर सी राष्ट्रपति भएपछि उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई बलियो गरी आफूमा केन्द्रित गर्दै लगेका छन् । उनलाई चुनौती दिने अर्को नेता चीनमा हाल देखिएको छैन । सी निर्णय लिन स्वतन्त्र छन् र उनले विश्वलाई नयाँ चुनौती पनि खडा गरिदिएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ भने सीको विचारधारालाई चिनियाँ भविष्यको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गरेको छ । 

राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, देशको राष्ट्रपति र सैन्य आयोगका अध्यक्ष छन् । अब उनलाई पार्टीको सर्वोच्च नेताको उपाधि समेत प्राप्त भएको छ । आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ पोलिटब्युरो र पोलिटब्युरो स्थायी कमिटी चयन हुनेछ । 

महाधिवेशनबाट उच्च तहका चार नेताले अवकाश पाएका छन् । सिन्ह्वाका अनुसार अवकाश पाउनेमा स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।

ली खछ्याङ प्रधानमन्त्री हुन् भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष, ली चान्सु चिनियाँ जनकंग्रेसका अध्यक्ष र हान झेन उपप्रधानमन्त्री हुन् ।

सन् १९९० को दशकदेखि दुई कार्यकाल मात्रै पार्टी महासचिव र राष्ट्रपति हुन पाउने प्रावधान हटाएर सीका लागि अनिश्चित कालसम्म नेतृत्वमा रहनसक्ने बाटो अघिल्लो महाधिवेशनले नै खुला गरेको थियो ।