काठमाडौँ क्षेत्र नं‍. ५ मा प्रदिप पौडेल कि ईश्वर पोखरेल ?

काठमाडौँ क्षेत्र नं‍. ५ मा प्रदिप पौडेल कि ईश्वर पोखरेल ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १५, २०७९

काठमाडौँ ।मंसिर ४ गते आउन अब दुई हप्ता र केही दिन मात्र बाँकी छ । मनोनयन दर्तासँगै देश चुनावमा होमिएको हो । र, यस बीचमा ठूला चाड नभएका भए अहिले चुनावको माहौल अर्कै भइसक्ने थियो ।

मनोनयन सँगै देशका केही निर्वाचन क्षेत्रमा नागरिकको हरदम चासो रहने गरेको छ । त्यसै मध्येको एउटा हो काठमाण्डौ क्षेत्र नम्बर ५ । जहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल  र  एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका प्रत्यासी प्रभावशाली युवा नेता प्रदीप पौडेलले पहिलो पटक संसद छिर्ने बाटोको रुपमा काठमाण्डौ  ५ रोजेका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल यही क्षेत्रबाट गएको संघीय चुनावमा विजयी भएर सांसद हुनु भएको हो । दुवै प्रमुख दलका प्रभावशाली नेताको क्षेत्र मात्र नभएर मुख्य राजनीतिक दलहरु गठबन्धन र तालमेल गर्दै निर्वाचनमा होमिएका कारण पनि माहौल रोचक बनेको हो ।

पहिलो पटक प्रतिनिधि सभामा निर्वाचन लड्न लागेका पौडेल र ०७४ को निर्वाचनमा यही क्षेत्रका सांसद पोखरेलबीच आगामी निर्वाचन रोचक बन्ने देखिन्छ । सामान्य आंकलन गर्दा पनि यहाँ गठबन्धन दलहरुले इमानदारिता देखाउने हो भने पौडेलको पल्ला भारी देखिन्छ ।

अर्को भनेको नेपाली राजनीतिमा पटक–पटक जनताले परीक्षणमा गरिसकेको नाम हो ईश्वर पोखरेल । परीक्षण पनि भइसकेको र राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्दा राख्दै पनि उल्लेख्य केही नगरेका कारण काठमाडौँ ५ का जनताले यस पटक नयाँ विकल्प खोजिरहेका छन् ।

काठमाडौँको स्थानीय निर्वाचनमा विकल्पको रुपमा स्वतन्त्र युवा उम्मेदवार बालेन शाहले जित्नुले काठमाडौँको यही क्षेत्रले यसलाई नजर अन्दाज गर्छ भन्न मिल्दैन । अर्कोतर्फ सामाजिक सञ्जालमा ‘नो नट अगेन’ ले झ्याली पिटेको र स्वच्छ, इमानदार, नैतिकता र बौद्धिक युवा व्यक्तित्वलाई नीति निर्माण तहमा पुर्‍याउनु पर्छ भन्ने आवाज बुलन्द भएका बेला एमालेले आफ्नो बलियो पकड भएको क्षेत्रको रुपमा क्षेत्र नम्बर ५ लाई लिए पनि परिणाम उल्टिन सक्ने देखिन्छ ।

२०५४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित पोखरेल २०५६ सालमा काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । २०७४ सालमा यसै क्षेत्रबाट सांसद भएर मन्त्री हुँदा समेत उल्लेखनीय काम गर्न नसकेको आरोप पोखरेल माथि लागेको छ । त्यसैले पोखरेलबाट ५ का मतदाता रुष्ट छन् । यदि पौडेलले ती रुष्ट मतदाताको मन जित्न सके भने पौडेलका लागि चुनाव सहज हुने धेरैको आंकलन छ ।

तैपनि, पछिल्लो समय एमालेले ५ नम्बर क्षेत्रलाई आफ्नो पकडका रुपमा लिने गरेको छ । जसलाई वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा सो क्षेत्रका वडाध्यक्षहरुले प्राप्त गरेको मतले पनि पुष्टि गर्छ । जसमा एमालेका वडाध्यक्षहरुले १९ हजार ७ सय ३ मत प्राप्त गरेका थिए ।

तर, गठबन्धन र एमालेले स्थानीय निर्वाचनमा प्राप्त गरेको समग्र मतको विश्लेषण गर्दा भने खासै अन्तर देखिँदैन । जसमा कांग्रेसका उम्मेदवारहरुले १४ हजार ८ सय ५३ मत ल्याएका थिए । त्यस्तै, एकीकृत समाजवादीले १ हजार ८ सय २७, माओवादी केन्द्रले १ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचन अघिसम्म कांग्रेसको गढका रुपमा चिनिएको ५ नम्बर क्षेत्रलाई २०७४ मा पोखरेलले जित हासिल गरेपछि वामपन्थीको किल्लाका रुपमा समेत चर्चा गरियो । तर, क्षेत्र नम्बर ५ को विगत हेर्ने हो भने यो कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो । किनभने यसै क्षेत्रबाट कांग्रेस नेता नरहरि आचार्य दुई–दुई पटक संविधान सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

नेपाल विद्यार्थी संघको अध्यक्ष भएर देश दौडाहामा पुग्नु भएका पौडेलका लागि कुनै पनि निर्वाचन क्षेत्र नौलो होइन । नेपालमा गणतान्त्रिक आन्दोलन चल्दै गर्दा काठमाडौँ  क्षेत्र नम्बर ५ त्यस बेलाको आन्दोलनको आधार इलाका भएको र त्यस बेला अग्र पंक्तिमा रहेर जनआन्दोलनमा होमिएका कारण पनि यहाँका मतदाताका लागि पौडेल नयाँ अनुहार होइन ।

तर, २०७४ को निर्वाचनमा आचार्य अस्वस्थ भएसँगै कांग्रेसबाट डा. प्रकाशशरण महत उम्मेदवार बन्नु भएको थियो । एकातिर देशभर वाम गठबन्धनका कारण कांग्रेसका कैयौँ हस्तीसमेत पराजित भएको अवस्थामा यहाँ कांग्रेसलाई आफ्नो साखः जोगाउन गाह्रो पर्यो । अर्कोतर्फ भने नयाँ उम्मेदवार भन्ने आरोपले पनि काम गर्यो । एकातिर आचार्य नभएको र अर्काेतिर वाम गठबन्धनका कारण निरन्तर जित्दै आएको क्षेत्र कांग्रेसले गुमाउन पुग्यो ।

नेपाली राजनीतिको कठिन समयमा विद्यार्थी आन्दोलनबाट जन्मिएको नेता हुनुहुन्छ पौडेल । २०४६ सालको जनआन्दोलनमा समेत सहभागी हुनु भएका पौडेललाई २०६२–०६३ को जनआन्दोलनमा खेलेको सक्रिय सहभागिताले एउटा बेग्लै राजनीतिक उचाइमा पुर्‍यायो ।

नेपाल विद्यार्थी संघको अध्यक्ष भएर देश दौडाहामा पुग्नु भएका पौडेलका लागि कुनै पनि निर्वाचन क्षेत्र नौलो होइन । नेपालमा गणतान्त्रिक आन्दोलन चल्दै गर्दा काठमाडौँ  क्षेत्र नम्बर ५ त्यस बेलाको आन्दोलनको आधार इलाका भएको र त्यस बेला अग्र पंक्तिमा रहेर जनआन्दोलनमा होमिएका कारण पनि यहाँका मतदाताका लागि पौडेल नयाँ अनुहार होइन ।

अहिले सामाजिक सञ्जाल तथा राजनीतिमा प्रत्यक्ष सरोकार नराख्ने युवा माझ पनि परिचित हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट उदाएका कारण युवा तथा आम मतदाताको आवाज बोक्न सक्ने क्षमता पौडेल मा रहनुका साथै, आम मतदातालाई प्रभावित पार्न सक्ने क्षमताका कारण पनि पौडेललाई थप सहज अनुमान लगाउन थालिएको छ ।

पौडेलको परीक्षण हुन बाँकी छ । त्यो पनि एउटा अवसर हुनसक्छ पौडेललाई । अर्को भनेको पौडेल माथि आजका दिनसम्म कुनै पनि राजनीतिक दाग र आरोप लागेको छैन जसका कारण निष्कलङ्क छवि अर्को आधार हुनसक्छ पौडेललाई मतदाताले पत्याउने । त्यसो भयो भने यस पटक संसदले जनताको आवाज स्पष्टसँग राख्ने एउटा जुझारु युवा नेतालाई सांसदका रुपमा पाउन सक्छ ।