‘मतदाताको विश्वासलाई कहिल्यै कुठाराघात गर्दिन’

‘मतदाताको विश्वासलाई कहिल्यै कुठाराघात गर्दिन’

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १८, २०७९

प्रदीप पौडेल, 
युवा नेता
नेपाली कांग्रेस

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी अभियान अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ५ मा आयोजित एक कार्यक्रममा पौडेलले आफूले पाएका अवसर यस क्षेत्रका मतदातालाई पनि समान रुपले बाँड्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयोे, ‘जति अवसर पाउँछु, त्यति अवसर तपाईंलाई दिलाउनेछु ।’

कार्यक्रममा उहाँले मतदाताहरूले आफूहरूलाई बिना कुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वासलाई कहिल्यै कुठाराघात नगर्नेसमेत बताउनुभयो । 

‘पार्टीले मलाई अवसर दियो काठमाडौँबाट म यति भएँ । त्यसैले मैले जति अवसर पाएको छु त्यति अवसर तपाईंलाई पनि त्यही हुनुपर्दछ,’ उहाँले भन्नुभयोे, ‘तपाईंहरूले कुनै सर्त नराखी खाली कागजमा हस्ताक्षर गरेर दिनुहुन्छ । तर, त्यसमा कहिल्यै पनि कुठाराघात गर्नेछैन ।’

पौडेलले कार्यक्रममा आफूले निर्वाचन जितेमा कहिले पनि मालिकजस्तो नबन्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले आफूलाई पार्टीमा काम गरेका बखत अनि पार्टीले दिएका जिम्मेवारी अघि बढाएका विभिन्न कालखण्डको स्मरण गर्दै पार्टीमा सहयोग गर्नेलाई कहिल्यै भावनामा चोट पुग्ने काम नगर्ने समेत बताउनु भयो । 

‘म आज जे छु पार्टीका कारणले छु । त्यसैले पार्टीका साथीहरूका लागि म कहिल्यै पनि चोट पुग्ने काम गर्नेछैन,’ उहाँले भन्नु भयोे, ‘निर्वाचन जितेपछि मालिक बन्ने भनेर कहिल्यै पनि त्यस्तो सोच्ने छैन ।’

कार्यक्रममा आफू युवा भएका नाताले पनि आफूसँग जनताको पक्षमा काम गर्ने जोश, जाँगर र हुटहुटी रहेको बताउँदै उहाँले चुनाव जितेर काम गरेर देखाउने अवसरसमेत भएकोले आगामी दिनमा आउने कुनै पनि अवसर र जिम्मेवारी जनताको चाहना बमोजिम निभाउने पनि बताउनु भयो । 

कार्यक्रममा उहाँले दिनरात नभनी काममा खटिन सक्ने, युवा र भिजन भएको साथै विगतमा पार्टीले दिएको जिम्मेवारी मात्र नभइ सधैँ जनताका पक्षमा आफ्नो काम र खबरदारी रही आएकोले चुनाव नजिकिँदै गर्दा चासो भए पनि चिन्ता नभएको बताउनु भयो । 

कार्यक्रममा उहाँले ५ नम्बर क्षेत्रका जनताले मत दिएर जिताएका खण्डमा आफूले निर्भीक भएर बोल्ने तथा समस्या उठाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईँहरुले मलाई मत दिएर जिताउनु भयो भने म संसदमा नीर्भिक भएर बोल्नेछु । तपाईँहरुका समस्या निर्भीक भएर उठाउँछु ।

नेविसंघका पूर्व अध्यक्ष पौडेल युवा, बौद्धिक तथा राजनीतिक रुपमा निष्कलंक र स्वच्छ छवि भएको नेता भएका कारण पनि मतदातामा आकर्षण देखिएको कार्यक्रममा सहभागी रञ्जु तिवारीले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘अहिले राजनीतिमा भ्रष्टाचार व्याप्त भएको बेला स्वच्छ छवि भएका नेता पाउन खडेरी परेका बेला यो क्षेत्रले एउटा असल युवा नेता पाएको छ । यसैमा हामी खुशी छौँ ।’