प्रज्वल अधिकारी : प्रतियोगिता वा शुल्कसहित कविता सुनाएर बाँचेका नयाँ पुस्ताको एक कवि

प्रज्वल अधिकारी : प्रतियोगिता वा शुल्कसहित कविता सुनाएर बाँचेका नयाँ पुस्ताको एक कवि

आशिष पौडेल  |  अन्तर्मन्थन  |  कार्तिक १९, २०७९

प्रज्वल अधिकारीको बुवा नेपाली सेनाका जागिरे । आमा विशुद्ध गृहिणी । खेतीपाती नभएको होइन तर, त्यसले नगद आम्दानी भने दिँदैनथ्यो । खान लाउन ठिक्क । पैसाका लागि भने सकस नै थियो । यस अर्थमा उहाँ आफ्नो परिवार आर्थिक अवस्थाका हिसाबले निम्न मध्यम भन्न रुचाउनुहुन्छ । घरमा लैना, बर्केना भैँसीहरु पनि थिए । त्यसैले दूध, दही, घ्यू, मोहीको पनि दुःख थिएन । परिवारमा बुवा, आमा र दुई भाइ गरी चार जना हुनुहुन्छ ।

बुवाले १६ वर्ष जागिरे जीवन बिताए पनि पेन्सन नभइकन राजनीति गर्न भनेर गाउँ अर्थात् लमजुङको दुराडाँडामा जानुभयो । अनि उहाँले गाउँमा वडाअध्यक्ष पनि जित्नुभयो । अब राजनीतिले आर्थिक उपार्जन नहुने त्यो पनि वडाध्यक्षको राजनीतिले भनेपछि व्यवहारका बोझहरू आमाको टाउकोमा पर्ने नै भयो  । अनि आमाले आफूले सकेको कर्म गर्दै उहाँहरु हुर्किनु भएको हो । 

०००
उहाँको जन्म लमजुङको दुराडाँडामा भएको हो । साल नखुलाए पनि माघे संक्रान्तीमा उहाँ जन्मेको बेला अहिलेको जस्तो, मोबाइल, ल्यापटप र कम्प्युटर जस्ता ग्याजेटहरु थिएनन् । त्यसकारण पनि आम नेपालीको बालापन झैँ उहाँको बाल्यपन पनि बितेको हो । फुटबल त उहाँले पनि नखेलेको होइन तर बुवाको ऊनीको मोजामा भुस्सा हालेर बनाइएको हुन्थ्यो फुटबल र  डण्डी बियो त छँदैछ ।

पछि भने उहाँले भलिबल पनि खेल्नुभयो । तर, भलिबलको पनि सानो मान्छेलाई सानै नम्बर । अर्थात् एकदेखि पाँच नम्बरसम्म हुन्थ्यो । सानो भएकोले एक नम्बरको भलिबल पोल गाडेर तोरण टाँगेर खेल्नुहुन्थ्यो । गुच्चा अनि पौडी पनि उहाँका प्रिय खेल रहे  बाल्यकालमा । ठाडो खोला थुनेर जिउ भरी बालुवा र माटो हुनेगरी पौडी खेलेर घर पुग्दा त्यसको परिणाम आमाको गाली पनि आउँथ्यो । पौडी खेल्दा डुबेर काकाले निकालिदिएर तातो ढुंगामा सुताएर पेटबाट पानी निकालिदिएको अवस्था पनि ताजै छ । अनि घोप्टो परेर सुतेर कान ढुंगामा सेकाइयो भने पानी झर्छ भनेर कैयौँ पटक तातो ढुंगामा सुत्नु भएको पनि छ । अहिले पनि उहाँलाई एक दिन नभए पनि एक क्षणका लागि पनि त्यो बाल्यकाल फर्किदिए कस्तो हुन्छ जस्तो लाग्छ । तातो ढुंगामा सुतेर कानबाट पानी नकालेको अवस्था पनि छ ।

काँक्रो, सुन्तला, लिच्ची, कटहर नचोरेको केही छैन होला तर, अचम्म भने के हो भने दिएर खाँदा त्यसको स्वाद नहुने चोरेर खाँदा बेग्लै स्वाद हुने पनि अनुभव छ उहाँको । त्यतिमात्र होइन आफ्ना घरका काँक्रो समेत आफैँले चोरेर खाएको र  खुवाएको मिठो अनुभूति छ । 

०००
लमजुङमा जन्मे पनि उहाँको शिशु कक्षा अर्थात् प्रारम्भिक शिक्षा भने काठमाडौँ कुलेश्वरको कुलेश्वर आवास इंग्लिस बोर्डिङ स्कूलमा भएको हो । त्यहाँ उहाँले शिशु कक्षादेखि एक कक्षासम्म पढ्नु भयो । त्यसपछि फेरि गाउँ गएर उहाँ दुई कक्षा नपढी एकै पटक तीन कक्षामा भर्ना हुनुभयो । यसको कारण भने उहाँको काकाको छोरा दाइ तीन कक्षामा पढ्ने अनि दाइसँगै पढ्ने जिद्दी गरेपछि दुई कक्षामा भर्ना गरे पनि उहाँ दुई नपढी तीन कक्षामा भर्ना हुनुभयो । यो भनेको पाणिनी संस्कृत स्कूलको कुरा हो जहाँ उहाँले आफ्नो विद्यालय शिक्षा सम्पन्न गर्नु भयो । 

उहाँ निमावि कक्षातिर पढ्दा झण्डै २५/३० को हाराहारीमा विद्यार्थी हुन्थे । यसमा छात्राको संख्या झण्डै छात्रको हाराहारी थियो । श्रीकान्त अधिकारीले लमजुङको दुराडाँडामा बाह्र वटा सदन अर्थात् प्राथमिक विद्यालय खोलेका कारण पनि लमजुङ शिक्षामा अगाडि थियो । 

हिले गाउँदा पुरस्कृत पनि भएको हुनाले उहाँ गायक बन्नका लागि भनेर नै काठमाडौँ आउनु भएको हो ।  अनि काठमाडौँ आएपछि विष्णु ध्रुपद भन्ने संगीतका गुरुसँग बागबजारमा रहेको अर्को स्टुडियोमा गायन कला सिक्नु भएको पनि हो । छ महिना सिकि सकेपछि गुरुले उहाँको गायकी देखेर गायक बन्छु भन्ने कुरातिर नलागि अन्यत्र लाग्न सुझाव दिएपछि उहाँले गायन चटक्कै छोड्नु भयो । 

त्यस्तै पण्डित तोयानाथ अधिकारीहरुले तल्लो जातले मात्र हलो जोत्ने नभइ बाहुनले पनि हलो जोत्न हुन्छ भनेर हलो क्रान्ति गरेको ठाउँ हो लमजुङ यसकारण पनि लमजुङ शिक्षादेखि चेतनका कुरामा पनि अगाडि थियो । खजे दुराले शाह वंशका प्रथम राजा कुल मण्डन शाहलाई लगेर ढुंगामा राखेर सिँदुरे जात्रा गरेर राजा स्थापना गरेर राजसंस्थाको स्थापना गरेको ठाउँ पनि हो लमजुङ । सिँदुरे जात्रा गरेको ढुंगा अहिले पनि छँदैछ । अहिले यसैको नाममा त्यहाँ सिन्दुरे गाउँपालिका पनि छ । चेतना, क्रान्ति र शिक्षामा अगाडि रहेका कारण पनि महिलाहरुको सहभागिता कक्षामा राम्रो थियो । बस्नलाई बेञ्च मात्र थियो । किताब राख्नलाई डेस्क थिएन । अनि घुँडाको डेस्कमा कापि राखेर लेख्ने चलन थियो । 
उहाँ मावि कक्षामा पढ्दा भने छात्राहरुको संख्या बढी हुन्थ्यो कक्षामा । यसको कारण छात्राहरु संस्कृत स्कूलमा नपढी सर्वोदय भन्ने नजिकैको स्कूलमा जान्थे । स्कूल झण्डै एक घण्टाको दूरीमा थियो । संस्कृत स्कूल भने पन्ध्र मिनेटको दूरीमा रहेको हुनाले छात्रहरु यही स्कूल पायक पर्थ्यो । संस्कृत गाह्रो विषय पनि भएको हुनाले सकभर पुरुषहरु छाडेर हिँड्थे । तर, छात्राहरुको भने बाध्यता थियो । 

स्कूल दुई तले थियो । भित्ता र भुइँ माटाको थियो । स्कूलको वार्षिक उत्सवका दिन स्कूल सिंगार्न कमेरो र रातो माटोले पोत्ने चलन थियो । तोरनहरुले सजाउने चलन थियो । जसले राम्रो तोरन बनाएर ल्याउँथ्यो ऊ पुरस्कृत पनि हुन्थ्यो ।

००० 
कक्षा आठसम्म हुँदा उहाँलाई अन्य अतिरिक्त क्रियाकलापमा खासै रुचि थिएन । तर, उहाँ गीत भने गाउनुहुन्थ्यो । रामकृष्ण ढकाल, यम बराल, कर्ण दास आदिका गीत खुब गाउनुहुन्थ्यो । शुक्रबारे कार्यक्रममा भने उहाँ भाग लिन छुटाउनुहुन्नथ्यो । गायनमा भने कहिले पहिलो, कहिले दोस्रो अनि तेस्रो हुनुहुन्थ्यो । 

उहाँ जन मैत्री क्याम्पस पढ्दा प्रत्येक शुक्रवार आफैँले गीत लेखेर, आफैँले लय हालेर आफैँले गाउने पनि गर्नुहुन्थ्यो । पहिले गाउँदा पुरस्कृत पनि भएको हुनाले उहाँ गायक बन्नका लागि भनेर नै काठमाडौँ आउनु भएको हो । 

अनि काठमाडौँ आएपछि विष्णु ध्रुपद भन्ने संगीतका गुरुसँग बागबजारमा रहेको अर्को स्टुडियोमा गायन कला सिक्नु भएको पनि हो । छ महिना सिकि सकेपछि गुरुले उहाँको गायकी देखेर गायक बन्छु भन्ने कुरातिर नलागि अन्यत्र लाग्न सुझाव दिएपछि उहाँले गायन चटक्कै छोड्नु भयो । 

गुरुले त्यसो भन्दा त्यस बेला उहाँलाई चित्त दुख्ने देखि रिस उठ्ने सम्म र के के पीडा मात्र भएन । किनकि गाउँमा पनि गाएर पहिलो, दोस्रो भएको अनि जन मैत्री कलेजमा पनि आफैँले गीत लेखेर गाएको मान्छेलाई गाउन सक्दैनस् भन्दा के के मात्र भएन होला । तर, कालान्तरमा आएर उहाँलाई जिन्दगीमा कसैले दिएको सकारात्मक र सबैभन्दा राम्रो सुझाव कुनै छ भने यही जस्तो लाग्छ । शायद ! उहाँ भित्र रहेको एउटा गायकको हुटहुटीले होला आज पनि कुनै रियालिटी सोहरुमा कसैले राम्रो गायो भने उहाँका आँखाबाट अनयासै आँसु झर्छन् । त्यो गाउने आफू हो कि जस्तो लाग्छ उहाँलाई । 

संसारको जुनसुकै गायकले अहिले पनि स्टेज चढेर गाएको अनि फ्यानहरुले हात हल्लाएको, फ्यान हरुलाई अटोग्राफ दिएको देख्दा त्यो गायक भित्र उहाँको हुन नसकेको गायक मिसिन्छ र भावुक बनाउँछ । उहाँले यसै सन्दर्भमा एउटा कविता पनि लेख्नु भएको छ, ‘म भित्र एउटा गायक गाइरहेछ’ । 

अहिले पनि उहाँ कतै जिल्लातिर कार्यक्रममा जाँदा गाडीमा वा बाटोमा त्यो हुन नसकेको गायकको गायकी राम्रैसँग उजागर गर्नुहुन्छ । किनकि उहाँलाई के थाहा छ भने अहिलेको गायकी मा ताल, सुर लाग्नु पर्दैन । त्यसैले उहाँ आफ्नो गायकी यस्ता अवसरमा देखाउन भने छोड्नु हुन्न ।

उहाँले एक पटक निबन्ध तथा हिज्जे प्रतियोगितामा पनि भाग लिनु भएको थियो र पुरस्कार पनि प्राप्त गर्नु भएको थियो । पछि एघार कक्षा पुगेपछि भने उहाँ नाटक पनि खेल्न थाल्नुभयो । 

गाउँमा भएको नमूना युथ सर्कलबाट उहाँहरु नाटक गर्नुहुन्थ्यो । दुराडाँडाका जुन कुनै स्कूलको वार्षिक कार्यक्रममा उहाँहरुलाई नाटकको लागि निम्तो नआएको भन्ने हुँदैनथ्यो । नाटकमा उत्कृष्ट भएका प्रमाण पत्रहरु उहाँसँग अहिले पनि सुरक्षित छ । 

पछि काठमाडौँ आएपछि टेलिसिरियल खेल्ने भन्ने उहाँको योजना थियो । त्यसका लागि नेपाल टेलिभिजनमा कुरा पनि नगरेको होइन तर, साथीहरु अनि उहाँको आफ्नो आर्थिक बाध्यताका कारण त्यो त्यसै अधुरो रह्यो । 

स्नातकोत्तर गर्दै गर्दा भने उहाँले कमलपोखरीमा रहेको शैली थिएटरमा साथीहरुसँग नाटक खेल्न भने छोड्नु भएन । 

०००

उहाँ गणितमा भने एकदमै कमजोर विद्यार्थी । तीन कक्षादेखि एसएलसी दिँदा सम्म उहाँ गािणतमा कहिले पनि नम्बर नथपी जाँचमा पास हुनु भएन । अरु विषयहरु भने राम्रै थिए । त्यसबेला एसएलसी दिँदा एउटै बेञ्चमा बस्नेको पनि प्रश्नपत्र फरक हुने व्यवस्था थियो । तर, त्यस बेला माओवादीले प्रश्नपत्र जलाइ दिएका कारण उहाँको पालोमा भने एउटै प्रश्नपत्र थियो ।

पहिलो दिन अंग्रेजीको परीक्षा हुन्थ्यो । अंग्रेजीमा उहाँले सँगै बस्ने साथीलाई राम्रो सहयोग गर्नुभयो । गणितको बेला साथीले उहाँलाई राम्रै गुन तिरे जसका कारण उहाँको गणितमा ४२ नम्बर आयो । ती साथी को थिए भन्ने यकिन नभए पनि अहिले पनि ती साथीलाई उहाँ धन्यवाद भन्न चाहनुहुन्छ । 

उहाँले २०६० सालमा एसएलसी दिनुभएको हो । त्यस बेला जम्मा नौ जना मात्र विद्यार्थी थिए । त्यसमा पनि तीन जना पुरुष र छ जना महिला । उहाँ द्वितीय श्रेणीमा पास हुनुभयो ।  र, अनौठो संयोग उहाँको एसएलसीदेखि एमएसम्म नै द्वितीय श्रेणी र त्यो पनि ५६ प्रतिशत । त्यसमा केही दशमलव अंक फरक भएपनि प्रतिशत चाहिँ उति ५६ नै । 

०००

एसएलसीपछि भने उहाँ सर्वोदय उच्च माविमा पढ्न थाल्नुभयो । उहाँले दश जोड दुई कक्षामा कलेजको सर्वोत्कृष्ट विद्यार्थी पनि हुनुभयो । तर, एक वर्ष भने आर्थिक अवस्थाका कारण पढाइ थाँती राख्नु पर्यो । अनि काठमाडौँ आएर कुलेश्वरको एउटा टेक्सटाइल कम्पनीमा महिनाको अठार सय तलबमा काम गर्दै जन मैत्री कलेजमा बिए पढ्न थाल्नु भयो । पछि काम गर्दै जाँदा सात हजारसम्म भयो उहाँको तलब । छ वर्ष उहाँले त्यहाँ काम गर्नुभयो । 

पछि उहाँले शंखमुलको चैतन्य इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्टमा काउन्सलरको रुपमा काम गर्नुभयो । 
जन मैत्रीबाट बिए सकेपछि भने उहाँले स्नातकोत्तर भने त्रिभुवन विश्वविद्यालयबाट गर्नु भएको हो । 

०००

अहिलेको नयाँ पुस्ताको एउटा सशक्त कवि भए पनि उहाँले २०७२/७३ सालदेखि मात्र कविता लेख्न थाल्नु भएको हो । २०७२ सालमा एमए सकिएपछि उहाँले भएको जागिर छोड्नु भयो र एक दिन उहाँ अचानक मध्य बानेश्वरको आइसर कलेजमा पुग्दा त्यहाँ कविता विभिन्न नाम चलेका कविहरूले कविता वाचन गर्दै रहेछन् । त्यसभन्दा अगाडि गीत लेखे पनि उहाँलाई त्यस दिनबाट अचानक लेख्ने त कविता पो रहेछ भन्ने लाग्यो । र, त्यसदिन बेलुका कविताको हुटहुटीले उहाँले ‘एउटा युद्ध अझै बाँकी छ’ भन्ने कविता लेख्नुभयो । त्यो कविता उहाँले राष्ट्रिय कवितामा पठाउँदा उत्कृष्ट दश भित्र परेको थियो । यसले उहाँलाई कवितामा जाँगर दिलायो । 

२०७३ सालमा रोल्पामा भएको खुला राष्ट्रव्यापी कविता प्रतियोगितामा पहिलो भएपछि उहाँले आफ्नो कविताको रफ्तार बढाउनु भएको हो । उहाँ वर्तमान पुस्ताको यस्तो कवि हुनुहुन्छ जसले कवितालाई नै पेशा बनाउनु भएको छ । उहाँ कविताले नै बाँच्नु भएको छ । रोल्पामा भएको कविता प्रतियोगिता उहाँको जीवन मोड्ने एउटा विन्दु पनि बन्यो । यस अर्थमा उहाँ रोल्पालाई आफ्नो कर्मभूमि पनि मान्नुहुन्छ ।

उहाँको कविता यात्रा यसो हेर्दा छोटो देखिए पनि उहाँको कविताले भने उचाइ छोएको छ । यस अर्थमा कि उहाँ २०७५ तथा २०७६ सालमा भएको राष्ट्रिय कविता प्रतियोगितामा तेस्रो तथा दोस्रो हुनु भएकोे छ । 

उहाँ इको पोयट्री कम्पीटिशनमा पहिलो पटक साउथ लण्डन युकेबाट उहाँ दोस्रो हुँदै पुरस्कृत हुनुभएको हो । 

कोरोना कालमा अन्नपूर्ण एफएमले गरेको कविता प्रतियोगितामा उहाँ प्रथम हुनुभएको हो । 
स्ल्याम पोयट्री कम्पीटिशनको पनि उहाँ विजेता हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले गरेको कविता प्रतियोगितामा उहाँ तेस्रो हुनुभयो । उहाँको संयुक्त कृतिहरु प्रकाशनमा आए पनि एकल कविता संग्रह भने बजारमा आएको छैन । बजारमा चाँडै नै कविता संग्रह ल्याउने उहाँको तयारी छ । कविताका अलावा उहाँका चार/पाँच वटा गीतहरु रेकर्ड भइसकेका छन् । उहाँ फिल्मका लागि पनि गीत लेख्नुहुन्छ । चाँडै प्रदर्शनमा आउन लागेको वेलकम टु हेम्जा कोट भन्ने फिल्ममा पनि उहाँको एउटा गीत छ । 
कविता पाठ गर्ने सिलसिलामा उहाँ देशका करिब ३६ जिल्लामा पुगिसक्नु भएको छ । 

अहिले उहाँको जिन्दगी नै कविता भएको छ । विभिन्न कविता प्रतियोगितामा भाग लिने र शुल्क लिएर कविता सुनाएर उहाँलाई कविताले पालेको छ । यो कुरामा उहाँ गर्व पनि गर्नुहुन्छ । र एउटा पुस्ताले दुःख नगरी अर्को पुस्ताले सहज ढंगले जीवन व्यतित गर्न नसक्ने हुँदा पनि अहिले उहाँ कविताको लागि लडिरहनु भएको उहाँको तर्क छ । 

बैंकमा जागिर खाएर वा अरु कुनै पेशा गरेर कविता लेख्छु भन्दा पेशाबाट फुर्सद पनि नपाउने र अर्कै तनावले गर्दा कविता पनि राम्रो नआउने उहाँको ठम्याइ छ । यस अर्थ उहाँ पनि अबको पुस्ता टाइसुट अथवा ग्रन्ज जिन्स लाएर गाडी लिएर कविता पाठ गर्न जाने र प्रतियोगितामा भाग लिन जाने स्तरको हुनुपर्छ भनेर आफू अन्य पेशामा नलागि केवल कवितामा समर्पित भएर अर्को पुस्ताको लागि त्याग गर्दै गरेको ठान्नुहुन्छ । 

उहाँ पहिले विमर्श युथ फाउण्डेशनको उपाध्यक्ष हुनुहुन्थ्यो । अहिले स्रष्टा प्रतिष्ठान नेपाल अर्थात् स्रष्टालयको उपाध्यक्ष हुनुहुन्छ । तर, उहाँ आफू क्रियाशील रुपमा साहित्यिक संघसंस्थामा नलाग्ने बताउनुहुन्छ । लेख्ने मान्छे संस्थामा आबद्ध हुँदा लेखनीमा कमी र स्तरीय नहुने उहाँको सोच  भने  छ ।