'चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ'

'चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २२, २०७९

दाङ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले विपतको बेला चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधी पुर्‍याएको बताएका छन् । 
आइतबार लमहीमा एक टेलिभिजनद्वारा आयोजित मंसिर ४ महासङ्ग्राम कार्यक्रममा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन् । 

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधि सहित विपन्न जनताको घरघरमा पुगेको थिएँ । नाका नाका पुगेको थिएँ । जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ । दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ । तर पनि जनताको सेवामा दिनरात भनिनँ । बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु ।’ मन्त्री चौधरीको भनाइ थियो । 

पहिलो पटक सांसद भएदेखि नै आफुले विद्यालय भवनहरु निर्माण गर्ने, अस्पताल निर्माण गर्ने, सिमा सुरक्षा देखि लिएर सिंचाइका थुप्रै योजनाहरुमा बजेट व्यवस्थापन गरेको मन्त्री चौधरीले स्मरण गराए । 

देउखुरीका जनताको मतबाट सांसद र मन्त्री समेत बनेको बताउँदै उनले फेरि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार निर्माण आफ्नो पहिलो प्राथमिकता भएको सुनाए । राप्ती कोरिडोर, स्वर्गद्वारीसम्मको सडक विस्तार र केवलकार सञ्चालन, पोड वे सञ्चालन, मसोट देखि बबइसम्म सुरुङ मार्गको अध्ययन र विस्तार जस्ता योजना सुरु गर्ने मन्त्री चौधरीले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।