राष्ट्रपति चुनावको सेमिफाइनल मिडटर्म: ट्रम्प–बाइडेनमाथिको जनमत संग्रह

राष्ट्रपति चुनावको सेमिफाइनल मिडटर्म: ट्रम्प–बाइडेनमाथिको जनमत संग्रह

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २१, २०७९

अमेरिकामा मंगलबार हुने ‘मिडटर्म इलेक्सन’ को प्रचारप्रसार सकिएको छ । मिडटर्म निर्वाचनलाई अमेरिकाका बहालवाला राष्ट्रपतिको भष्यिय माथिको जनमत संग्रहका रुपमा समेत हेरिन्छ । 

सन् २०१८ को मिडटर्म निर्वाचनले डोनाल्ड ट्रम्पविरुद्ध जनमत रहेको प्रमाणित गरेको थियो र त्यसको दुई वर्षपछि भएको निर्वाचनमा अनुमान गरि एजस्तै उनी नराम्ररी पराजित भए । मंगलबार हुने मिडटर्म निर्वाचनले पनि राष्ट्रपति जो बाइडेनको भविष्य मात्रै तय गर्नेछैन, सिनेटमाथि कसको नियन्त्रण हुन्छ भन्ने पनि निश्चित गर्नेछ । 

मंगलबारको चुनावअघि तीन जना अमेरिकी राष्ट्रपतिहरूले पेन्सलभेनियाका  र्‍यालीहरूलाई सम्बोधन गरे । निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको यो राज्यको परिणामले सिनेटमाथि रिपब्लिकन हाबी हुन्छन् कि डेमोक्रेट्सले पकड कायम राख्छन् भन्ने निश्चित गर्न सक्छ । राष्ट्रपति जो बाइडनले डेमोक्रेट समर्थकहरूलाई सम्बोधन गर्दै यो चुनावले दशकौं सम्म देश कस्तो हुनेछ भनेर निर्धारण गर्ने दाबी गरेका छन् ।

पूर्व राष्ट्रपति बाराक ओबामाले सत्य र लोकतन्त्रजस्ता आधारभूत अधिकारहरू मतदानले सुनिश्चित गर्नेमा जोड दिए । रिपब्लिकन पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई विध्वंसबाट जोगाउनुको एक मात्र उपाय रिपब्लिकन पार्टीलाई मतदान गर्नु भएको तर्क गरेका छन् । 

मंगलबारको निर्वाचनले अमेरिकी कंग्रेसमा कसको नियन्त्रण हुनेछ भन्ने निक्र्यौल गर्नेछ । चुनावी सर्वेक्षणअनुसार सिनेटको दौडमा डेमोक्रेट जोन फेटरम्यान र रिपब्लिकन मेहमेट इजबीच कडा प्रतिस्पर्धा हुनेछ । अमेरिकी तल्लो सदनका सबै ४३५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ भने सिनेटका ३५ सिटमा चुनाव हुनेछ । यसअघि पेन्सलभेनियामा डेमोक्रेटिक उम्मेदवार ५३ वर्षीय फेटरम्यान र रिपब्लिकन पार्टीका ६२ वर्षीय इजबीच झिनो मतान्तर थियो । चुनावी अभियानमा दुई पूर्वराष्ट्रपति र एक बहालवाला राष्ट्रपति एकै राज्यमा उपस्थित हुनुले यो राज्यको चुनावी परिणामको महत्वलाई झल्काउँछ । 

हार्वर्ड सीएपीए–ह्यारिस सर्वेक्षण अनुसार ६७ प्रतिशत अमेरिकी बाइडेन फेरि राष्ट्रपति नहुन् भन्ने चाहन्छन् भने ३३ प्रतिशतले उनलाई खराब राष्ट्रपति ठान्छन् । यस्तै ५७ प्रतिशत अमेरिकी जनता ट्रम्पलाई राष्ट्रपति भएको हेर्न चाँहदैनन् । युवाको ठूलो पंक्ति बाइडेनको विपक्षमा देखिन्छन् । 

लोकप्रियता केन्द्रित र आक्रोश मिश्रित भाषणसँगै श्रमिक वर्गलाई आकर्षित गरेर पेन्सलभेनियामा जित निकालेका ट्रम्प सन् २०१६ मा राष्ट्रपति बन्न सफल भएका थिए । सन् २०२० मा व्यवहारिकता र उदार राजनीतिको नारा दिएर जो बाइडेन विजयी भए । त्यसबेला उनले आफ्नो गृहराज्यमा दुई प्रतिशतभन्दा कम मतान्तरको जित हात पारेका थिए । 
शनिवार फिलाडेल्फियामा बाइडनले सिनेटका लागि उम्मेदवार रहेका फेटरम्यान र गर्भरनरका उम्मेदवार जोस शेपिरोको पक्षमा भाषण गरे । डेमोक्रेटिक पार्टी अमेरिकी तल्लो सदन र सिनेटमा बहुमतमा नआए गर्भपतनको अधिकार र जनस्वास्थ्यका सेवाहरूमा कटौती हुनसक्ने चेतावनी उनले दिए । 

उता डोनाल्ड ट्रम्पले परिवारको सुरक्षाका लागि डेमोक्रेटलाई हराउनेगरी मतदान गर्न आग्रह गरे । उनले भने, ‘तपाईंहरूसँग एक मात्र विकल्प छ । अमेरिकाको पतन चाहनुहुन्छ भने कट्टरपन्थी डेमोक्रेटलाई मतदान गर्नुहोस् । यदि तपाईं हाम्रो देशको विनाश रोक्न चाहनुहुन्छ भने रिपब्लिकनलाई उत्साहजनक मत दिनुपर्छ ।’

उनी सन् २०२४ मा हुने राष्ट्रपति चुनावको आकांक्षी समेत छन् । त्यसैले यो चुनावलाई आफ्नो पक्षमा पार्दै राष्ट्रपति निर्वाचनका लागि राम्रो सुरुवात गर्न चाहन्छन् । सन् २०२० को राष्ट्रपति निर्वाचनमा पराजित भएका उनले संसद भवनमा हमला गराएको आरोप छ । उनी आफैंले पनि चुनावी परिणाम धाँधलीपूर्ण भएको दाबी गर्दै आएका छन् । 

हाल अमेरिकी संसदका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण छ । यद्यपि यसपटकको चुनावी सर्वेक्षण डेमोक्रेटको पकड कायम राख्न कठिन हुने देखाएका छन् । सर्वेक्षणहरूले तल्लो सदनमा पराजित हुनसक्ने र सिनेटमा नियन्त्रण कायम राख्न कठिन संघर्ष हुने देखाएका छन् । 

कंग्रेसको चुनावलाई बहालवाला राष्ट्रपतिको भविष्यमाथिको जनमतसंग्रहका रुपमा हेरिने भएकाले बाइडेनका लागि यो सर्वेक्षण खतराको घन्टीका रुपमा हेरिएको छ । 
केही समयअघि भएका चुनावी सर्वेक्षणले पनि बाइडेन अत्यधिक अलोकप्रिय भएको देखाएका थिए । अमेरिकी राष्ट्रपति निर्वाचनको सेमिफाइनलका रुपमा हेरिने मिडटर्म निर्वाचनअघि ६७ प्रतिशत अमेरिकी जनता बाइडेन र ५७ प्रतिशत ट्रम्पको विपक्षमा रहेको देखाएका थिए । 

हार्वर्ड सीएपीए–ह्यारिस सर्वेक्षण अनुसार ६७ प्रतिशत अमेरिकी बाइडेन फेरि राष्ट्रपति नहुन् भन्ने चाहन्छन् भने ३३ प्रतिशतले उनलाई खराब राष्ट्रपति ठान्छन् । यस्तै ५७ प्रतिशत अमेरिकी जनता ट्रम्पलाई राष्ट्रपति भएको हेर्न चाँहदैनन् । युवाको ठूलो पंक्ति बाइडेनको विपक्षमा देखिन्छन् । 

४३ प्रतिशत जनता अमेरिकी समाजलाई नस्लका आधारमा विभाजित गराएका र राष्ट्रपति चुनाव हारेर घर फर्किदा केही दस्तावेज समेत लिएर घर गएका ट्रम्प फेरि प्रतिस्पर्धामा नआउन् भन्ने चाहन्छन् । त्यसैले यो निर्वाचनले आगामी राष्ट्रपति निर्वाचनमा ८० वर्ष पार हुने बाइडेन र ट्रम्पको भविष्य कस्तो हुनसक्छ भन्ने संकेत दिनेछ ।