काठमाडौँ क्षेत्र नं. ५ मा नरहरी आचार्यको ‘इन्ट्री’ ले पाैडेल बलियाे

काठमाडौँ क्षेत्र नं. ५ मा नरहरी आचार्यको ‘इन्ट्री’ ले पाैडेल बलियाे

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २१, २०७९

काठमाडौँ ।मंसिर ४ गतेको संसदीय चुनाव जति जति नजिकिँदै छ काठमाण्डौ ५ को माहौल पनि त्यति नै रोमाञ्चक हुँदै गइरहेको छ । यो माहौललाई रोमाञ्चक बनाउन आइ पुग्नु भएको छ पूर्व कानूनमन्त्री तथा कांग्रेसका नेता नरहरि आचार्य । 

विगतमा यसै क्षेत्रबाट कांग्रेसको प्रतिनिधित्व गर्दै आउनु भएका आचार्य अहिले यसै क्षेत्रका उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेलको चुनावी कार्यक्रममा देखिएपछि भने कांग्रेसीहरु र स्वयं पौडेल पनि यस क्षेत्रमा बाजी मार्नेमा थप आशावादी देखिनु भएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेसमा बौद्धिक नेताका रुपमा चिनिने आचार्य मञ्चमा देखिएपछि यस क्षेत्रको चुनावी माहौलमा बेग्लै कांग्रेसी तरंग देखिएको  दावी गर्न थालिएको हाे  । 

झण्डै ५ वर्षदेखि स्वास्थ्य लाभ गरिरहनु भएका आचार्य यसरी कांग्रेसको चुनावी कार्यक्रममा देखिएपछि यहाँको चुनावी वातावरण एक्कासी बदलिएको हो । त्यसमा पनि कांग्रेसले युवा, जुझारु तथा विद्यार्थी राजनीतिबाट आएका स्वच्छ छवि भएका पौडेलको उम्मेदवारी प्रस्तुत गर्नुले कांग्रेस क्षेत्र नम्बर ५ मा जित निकाल्न गहन ढंगले लागि परेको छ भन्ने सन्देश पनि आम मतदाता माझ गएको छ । 

गएको चुनावमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जित हासिल गरेको क्षेत्र अनि वजनदार व्यक्तित्व पनि भएका कारण कांग्रेसले सुझ बुझपूर्ण तरिकाले यहाँ कांग्रेसका युवा नेता मात्र नभएर राजनीतिक रुपमा कुनै आरोप अथवा लाञ्छना लगाउन नसकिने र कुनै दाग नलागेको सफा क्यानभासमा कोरिएको सुन्दर छविको रुपमा यस क्षेत्रमा पहिलेको आचार्यको विरासत फर्काउने उद्देश्यले पौडेललाई यस क्षेत्रमा पठाएको देखिन्छ ।

शायद आचार्य पनि आफ्नो अनि कांग्रेसको विरासत प्रदीपको काँधमा दिएर यसलाई कांग्रेसको एउटा किल्लाको रुपमा राखिरहन आफ्नो प्रतिकूल स्वास्थ्यका वावजुद पौडेलेको चुनावी कार्यक्रममा देखिनु भएको हो । 

उहाँ मञ्चमा कार्यक्रममा देखिनु भएको मात्र हैन काठमाण्डौ ५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताइ रहनु भएको छ । कार्यक्रममा उहाँले काठमाण्डौ ५ मा युवाहरूको बलियो टिम भएको र यो टिमले जिते मात्र काठमाण्डौ ५ मा विकास ढोका खुल्ने उद्घोष गर्नुभएको छ । 

यति मात्र नभएर कार्यक्रममा उहाँले कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने बताउनु भयो । कांग्रेसले सार्वजनिक गरेका प्रतिबद्धतालाई पूरा गर्न अब ५ वर्ष प्रदीपजीले घच्घच्याउनेमा जोड दिनुभयो । 

गठबन्धनलाई लिएर उठेका नकारात्मक टिप्पणीप्रति पनि आचार्यले कार्यक्रममा स्पष्ट पार्ने काम गर्नुभयो । देशलाई संकट परेका बेला कांग्रेसले नेतृत्व गर्दै आइरहेकोले अहिलेको अवस्था पनि त्यस्तै रहेको उहाँको प्रष्टोक्ति थियो । अहिलेको गठबन्धन कांग्रेसले खोजेको नभइ परिस्थितिले उब्जाएका कारण निर्माण भएको हुँदा सबै गठबन्धनप्रति जिम्मेवार हुनुपर्नेमा उहाँको जोड थियो । 

लोकतन्त्रको रक्षा र निर्वाचन गर्नका लागि कांग्रेसकै नेतृत्व चाहिने कुरा प्रमाणित भइसकेका कारण पनि मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसलाई सम्झिएर मतदान गर्न काठमाण्डौ ५ का मतदातालाई आचार्यको आह्वान थियो । 

कार्यक्रममा प्रमुख आतिथिका रुपमा रहेका पौडेलले काठमाण्डौ ५ सांस्कृतिक सहर पनि भएकोले यसलाई सांस्कृतिक सहर निर्माण गर्न सूक्ष्म अध्ययन गरिने बताउनु भयो । यसका लागि यसको यहाँको विकासका सम्भावनाको खोजी र अध्ययन गरिनेमा पनि उहाँको जोड थियो । साथै कामको मूल्यांकनका लागि टोलटोलमा समिति बनाउने त्यस्तै सांसद विकास कोषको पैसा वार्षिक सार्वजनिक अडिट गर्ने व्यवस्था मिलाउने पनि उहाँको योजनामा थिए ।