प्रहरी महानिरीक्षकद्वारा निर्वाचन सुरक्षा सम्बन्धी भर्चुअल माध्यमबाट निर्देशन

प्रहरी महानिरीक्षकद्वारा निर्वाचन सुरक्षा सम्बन्धी भर्चुअल माध्यमबाट निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २२, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गर्नुभएको नेपाल प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका अनुसार  निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गर्दै निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशन   दिनुभयो । तीन करोड नेपालीको विश्वास र सहभागिता रहेको निर्वाचनमा केही उच्छृंखल तत्वले विथोल्न खोज्छन् भने त्यसलाई उचित र प्रभावकारी कारवाही गरी निस्तेज पार्न समेत प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिनुभयो ।
    निर्वाचन सुरक्षाका क्रममा कमान्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमान्डरको मूल्यांकनको कडी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षाका क्रममा असल नियतबाट भएका काम(कारवाही प्रति संगठनको सदैव साथ रहने विश्वास दिलाउनु भएको छ । ६ महिना अघि स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले प्रदर्शन गरेको व्यावसायिकतालाई अक्षुण्ण राखी त्यसबाट प्राप्त आत्मविश्वास एवं नागरिकबाट प्राप्त जनविश्वासको जगमा अझ व्यावसायिक भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

 यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन  दिनुभयो । उहाँले स्रोत(साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।