चुनावी चक्कर : गुल्मी–१ मा डा.चन्द्रले बदला लेलान् कि प्रदीपले बाजी मार्लान् ?

चुनावी चक्कर :  गुल्मी–१ मा डा.चन्द्रले बदला लेलान् कि प्रदीपले बाजी मार्लान् ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २३, २०७९

४ मंसिरमा हुने निर्वाचनको सर गर्मी बढ्दो छ । देशभर सत्तारुढ काँग्रेससहितका पाँच दल र एमालेसहितका अन्य दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । देशभर दुई गठबन्धनबीच प्रतिस्पर्धा हुँदा यसपटक कसले जित्ला र संसद प्रवेश गर्ला भन्ने विश्लेषण पनि तीव्र बनिरहेका छन् । 

देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आम जनताको चासो र नजर छ । त्यसमध्ये चासोपूर्वक हेरिएको एउटा क्षेत्र हो, गुल्मी–१ । 

गुल्मी–१ मा नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी र एमालेका नेता प्रदीप ज्ञवाली चुनावी मैदानमा छन् । भण्डारी र ज्ञवाली नयाँ प्रतिस्पर्धी हैनन् । त्यसैले यसपटक पनि उनीहरुबीचको भीडन्तलाई चासोका साथ हेरिएको छ । गुल्मी–१ का मतदाताले भने दुवै जनालाई पालैपालो सांसद बनाउँदै आएका छन् ।

२०५६ सालको चुनावमा ज्ञवालीले क्षेत्र नम्बर १ बाट कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए । देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि तीन पटक ज्ञवाली र भण्डारी निर्वाचनमा आमुने सामुने भएका छन् । २०६४, २०७०, २०७४ का यी प्रतिस्पर्धी २०७९ मा पनि मैदानमा उत्रिएपछि धेरैको चासो यो क्षेत्रमा छ । 

यसअघिका तीनवटा चुनावमध्ये ज्ञवाली दुई पटक र भण्डारी १ पटक विजयी भएका छन् । २०६४ सालको निर्वाचनमा ज्ञवाली विजयी भए भने २०७० मा भण्डारीले ज्ञवालीलाई हराइदिए । २०७४ को निर्वाचनमा फेरि ज्ञवाली विजयी भए र भण्डारीले हारे । २०७४ सालको चुनावमा ज्ञवाली फेरि विजयी भए । ज्ञवालीले ३७ हजार ५ सय ५५ मत ल्याउँदा भण्डारीले २९ हजार ४ सय ५० मत प्राप्त गरेका थिए । यो चुनावमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । यसपटक काँग्रेसका चन्द्र भण्डारीले माओवादीको साथ पाएका छन् । 

भण्डारी यसपटक फेरि ज्ञवालीलाई जिल्याएर संसद छिर्ने दाउमा छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने भण्डारीको पल्ला भारी हुने देखिन्छ । तर गठबन्धनको मतान्तर धेरै छैन । स्थानीय निर्वाचनको परिणामलाई आधार मान्ने हो भने सत्ता गठबन्धन झिनो मतान्तर अर्थात १ हजार ६० मतले मात्रै अघि छ । त्यसैले ज्ञवालीलाई हराउन भण्डारीले कडा मेहनत गर्नुपर्ने देखिन्छ । 

स्थानीय तहको निर्वाचनमा कांग्रेसले गुल्मी–१ मा ३१ हजार २ सय ९४ मत पाउँदा माओवादी केन्द्रको ४ हजार ९ सय ७० र नेकपा (एकीकृत समाजवादी) को ४९७ मत छ । 
यो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले कुल ३५ हजार ७ सय १ मत पाएका थिए । त्यसैले यहाँको भिडन्तमा कसलाई मतदाताले आगामी ५ वर्षका लागि सांसद बनाएर पठाउने हुन  भन्ने स्पष्ट छैन । गुल्मी–१ मा ज्ञवाली र भण्डारीबीच कडा प्रतिस्पर्धामा देखिएका छन्  । 

पछिल्लो पाँच वर्षमा वाम गठबन्धन हुँदै पार्टी एकता गरेको माओवादी र एमालेकै माधवकुमार नेपाल नेतृत्वमा भएको विभाजनले यसपटक एमालेका उम्मेदवारहरुलाई जित निकाल्न भने थप मत बटुल्नुपर्ने चुनौती छ । त्यसैले अघिल्लो पटक चुनाव जितेका ज्ञवालीले तटस्थ मत धेरै भन्दा धेरै तान्न सकेमा मात्रै जित निस्किन सक्छ । 

गठबन्धनका कारण ज्ञवाली भन्दा भण्डारी यसपटक ‘सेफ जोन’ मा भने छन् । तर गठबन्धनभित्रको मतलाई एक ढिक्का राखेर एमाले उम्मेदवार ज्ञवाली विरुद्ध खसाउने र तटस्थ मतलाई पनि आफूतिर तानेमा मात्रै जित निश्चित हुने देखिन्छ । 

काँग्रेसका असन्तुष्टिको भोट पाएर जित्छु भने पनि गुल्मी–१ गठबन्धनमा काँग्रेसले नै पाएकोले अरु ठाउँमा जस्तो असन्तुष्टि गुल्मी–१  प्रकट भने भइरहेको छैन । भित्री असन्तुष्टि कति छ र त्यो कसरी मतमा रुपान्तरण हुन्छ त्यो हेर्न बाँकी नै छ । यता कांग्रेस उम्मेदवार भण्डारीलाई भने माओवादीको सबै मत आफूतिर तान्नुपर्ने चुनौती छ । सत्ता गठबन्धन बनेका कारण सहज रुपमा चुनाव जित्ने भण्डारीको दाबी छ । 

गुल्मी–१ मा मतदाताले भण्डारी र ज्ञवालीलाई पालैपालो संसदमा पठाएका छन् । त्यसैले अघिल्लो पटक जितेका ज्ञवालीले आफूले गरेका कामको फेहरिस्त जनतासमक्ष पुर्‍याउने र आफ्नो आवश्यकता समेत मतदातालाई बुझाउन सक्नुपर्ने चुनौती छ भने भण्डारीले भने पछिल्लो ५ वर्षमा संसद र सरकारमा हुँदा जनताका लागि पर्याप्त काम नगरेको, स्थिर सरकारको नारा दिएर अस्थिरताको खेती गरेको, दुई तिहाईको सरकार बनाउँदा पनि टिकाउन नसकेको जस्ता नारा लिएर चुनावी मैदानमा छन् । 

ज्ञवाली काँग्रेसका असन्तुष्ट मतदाताले आफूलाई मत दिने बताउँदै आएका छन् । गुल्मीमा आफूले गरेको विकास निर्माणमा खेलेको भूमिकाका कारण पनि आफूलाई सांसद बनाउन जनतासमक्ष आग्रह गरिरहेका छन् । 

काँग्रेसका असन्तुष्टिको भोट पाएर जित्छु भने पनि गुल्मी–१ गठबन्धनमा काँग्रेसले नै पाएकोले अरु ठाउँमा जस्तो असन्तुष्टि गुल्मी–१  प्रकट भने भइरहेको छैन । भित्री असन्तुष्टि कति छ र त्यो कसरी मतमा रुपान्तरण हुन्छ त्यो हेर्न बाँकी नै छ । यता कांग्रेस उम्मेदवार भण्डारीलाई भने माओवादीको सबै मत आफूतिर तान्नुपर्ने चुनौती छ । सत्ता गठबन्धन बनेका कारण सहज रुपमा चुनाव जित्ने भण्डारीको दाबी छ ।