झापा–३ मा लिङ्देन–सिटौला आमुन्नेसामुन्ने : राजेन्द्रलाई तालमेल मतको र कृष्णलाई विद्रोहीको भर

झापा–३ मा लिङ्देन–सिटौला आमुन्नेसामुन्ने : राजेन्द्रलाई तालमेल मतको र कृष्णलाई विद्रोहीको भर

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २४, २०७९

नेपाली कांग्रेसमा कोइराला परिवार हाबी हुँदा नेपाली राजनीतिका ‘किङमेकर’ मध्ये एक थिए, कृष्ण सिटौला । गिरिजाप्रसाद कोइरालाको विश्वासपात्रका रुपमा सिटौलाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि २४० वर्ष शासन गरेको शाहवंशीय राजालाई नारायणहिटीबाट निकालेर निर्मल निवास पठाउँदा सम्म सिटौलाको भूमिका निर्णायक थियो ।

सुशील कोइराला कांग्रेस सभापति हुँदा महामन्त्री रहेका सिटौला कोइरालाको निधनपछि भने आफैं सभापतिमा उठे र तेस्रो धारका नेता बने ।  कांग्रेसमा हालसम्म पनि तेस्रो धार बलियो बन्न सकेको अवस्था छैन र सिटौलाको तेस्रो धार पनि बलियो हुन सकेन ।  सुरुमा गगन थापासहितका नेताहरु उनकै साथमा भए पनि गत महाधिवेशनबाट थापाले सिटौलाको साथ छाडे । सिटौलाले पनि यही महाधिवेशनबाट सभापति शेरबहादुर देउवासँग निकटता बढाए । देउवासँगको निकटताकै कारण सिटौला फेरि काँग्रेसभित्र ५ वर्षभन्दा लामो समयदेखि ओझेल परेर फेरि सामान्य भूमिकातिर फर्किएका छन् । उनी सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक समेत थिए । 

पार्टीभित्र भूमिका कमजोर भएकै बेला उनी २०७४ सालको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनको साथ पाएका राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भए । अघिल्लो निर्वाचनमा काँग्रेस र राप्रपाबीच तालमेल थियो । तर झापा–३ राप्रपाको भागमा परेपछि काँग्रेसले सिटौलालाई समानुपातिकमा राखेको थियो । 

कांग्रेसको २५ हजार ९४९, माओवादीको ६ हजार ६८८ मत हुँदा नेकपा एकीकृत समाजवादी र लोसपाको १ हजारको हाराहारी मत छ । स्थानीय तहको परिणामलाई आधार मान्ने हो भने झापा ३ मा एमाले–राप्रपा गठबन्धनको ४२ हजार २४४ मत देखिन्छ भने काँग्रेस र माओवादीको ३२ हजार ६३७ मत मात्रै छ । यसलाई आधार मान्ने हो भने सिटौलाभन्दा लिङ्देन यो क्षेत्रमा बलियो देखिन्छन् । 

तर झापा–३ राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनलाई छाड्न सिटौला तयार भएनन् र आफैं मैदानमा उत्रिए । लिङ्देनले पनि तत्कालै झापा–५ मा एमाले अध्यक्ष केपी ओलीलाई सघाउने बचन दिएर झापा–३ मा एमाले र माओवादीको समर्थन लिए । अन्ततः लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी हुँदा सिटौलाले ३१ हजार १७१ मतमात्रै पाएर पराजित भए । 

पाँच वर्षपछि फेरि झापा ३ मा सिटौला र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । तर यतिबेला लिङ्देनलाई एमालेको साथ छ भने २०७४ मा उनलाई जिताउन भूमिका खेलेको माओवादी र एमालेकै एउटा पंक्ति पनि सिटौलाको पक्षमा देखिएको बताइन्छ  । सिटौला र लिङ्देनबीच राजनीतिक रुपमा पनि उति राम्रो भने  सम्बन्ध छैन । जिल्लाका कार्यक्रमहरुमा पनि यी दुई नेता एक साथ देखिँदैनन् । राजनीतिक भेटघाटमा पनि औपचारिक कुराकानी मात्रै हुने गरेको उनी निकट नेता तथा कार्यकर्ताहरुले बताउने गरेका छन्  । 

सिटौला बहुदलीय व्यवस्थाको पक्षमा लामो समयदेखि क्रियाशील थिए भने लिङ्देन सुरुदेखि नै कट्टर राजावादी हुन् । २०४६ मा बहुदलको पक्षमा संघर्ष हुँदा लिङ्देनकै योजनामा हमला भएर एक विद्यार्थीको मृत्यु भएको आरोप समेत लागेको छ । २०६२/०६३ को जनआन्दोलन सफल भएपछि कृष्ण सिटौला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भए । त्यहीबेला २०६४ मा राजेन्द्र लिङ्देनमाथि माओवादीले कुटपिट गरे । त्यसबेला गृहमन्त्री रहेका सिटौलाले आफूमाथि घेरा हालेर प्रशासनकै अघि कुटपिट हुँदा पनि प्रहरीले केही नगरेको लिङ्देनले आरोप लगाउने गरेका छन्  । 

दुई नेताबीच राजनीतिक रुपमा लामो संघर्ष चल्दै आएको छ भने चुनावी मोर्चामा पनि उनीहरुबीच पटक पटक भिडन्त हुँदै आएको छ । २०४८ सालमा सिटौला झापा–१ बाट विजयी हुँदा लिङ्देन तेस्रो भएका थिए । ज्ञानेन्द्रको शासनकालमा लिङ्देन जिल्ला विकास समिति झापाका सभापति भएका थिए । त्यही बेला उनले झापा–३ मा आफ्नो प्रभाव बढाए । पहिलो संविधानसभाको निर्वाचनमा लिङ्देन उम्मेदवार भएनन् । सिटौला झापा–३ मा माओवादीका पूर्ण सिंह राजवंशीसँग पराजित भए । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिटौला र लिङ्देन आमुन्नेसामुन्ने भए । जसमा सिटौला विजयी भए भने लिङ्देन दोस्रो भए । २०७४ मा भने सिटौलासँग बदला लिँदै लिङ्देन विजयी भए । 

यसपटक फेरि लिङ्देन र सिटौला चुनावी मोर्चामा छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । झापा ३ मा एमालेको २१ हजार ८५ र राप्रपाको २१ हजार १५९ मत छ ।

कांग्रेसको २५ हजार ९४९, माओवादीको ६ हजार ६८८ मत हुँदा नेकपा एकीकृत समाजवादी र लोसपाको १ हजारको हाराहारी मत छ । स्थानीय तहको परिणामलाई आधार मान्ने हो भने झापा ३ मा एमाले–राप्रपा गठबन्धनको ४२ हजार २४४ मत देखिन्छ भने काँग्रेस र माओवादीको ३२ हजार ६३७ मत मात्रै छ । यसलाई आधार मान्ने हो भने सिटौलाभन्दा लिङ्देन यो क्षेत्रमा बलियो देखिन्छन् । 

तर झापा–३ मा एमालेबाट डम्बरबहादुर गिरी बागी उम्मेदवार छन् । उनी हल्दीबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत हुन् । एमालेका झापा जिल्ला कमिटी सदस्य समेत रहेका गिरीले एमालेको मत काट्दा सिटौलालाई सहज हुने अनुमान लगाउन थालिएको छ ।

 एमालेका स्थानीय नेताहरु भने चुनाव जिताए पनि लिङ्देनले स्थानीयस्तरमा समेत सहकार्य नगरेको भन्दै खुसी छैनन् । त्यसैले लिङ्देनलाई यसपटक आफूले ५ वर्षमा गरेका कामको फेहरिस्त सहित एमाले नेतादेखि मतदाता सम्मलाई फकाउनुपर्ने बाध्यता छ । 

यता काँग्रेसमा पनि झापामा सिटौला र विश्वप्रकाश शर्मा पक्षबीच शक्ति संघर्ष छ । तर यसपटक दुवै नेताले एकठाउँमा रहेको सन्देश दिन खोजेका छन् । आगामी मंसिर ४ मा जनताको रोजाईमा भने फेरि लिङ्देन पर्छन् कि सिटौलाले बदला लिन्छन् हेर्न बाँकी छ ।