काञ्जीरोवा सिकाइमूलक विविध कार्यक्रम कार्तिक २७ मा

काञ्जीरोवा सिकाइमूलक विविध कार्यक्रम कार्तिक २७ मा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २४, २०७९

काठमाडौँ । काञ्जीरोवा नेसनल माविले आफ्नो पच्चिसौँ वार्षिकोत्सवको अवसरमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला तथा गणितसँग सम्बन्धित steam  सिकाइ चौतारीको आयोजना हुने भएको छ । 

काञ्जीरोवा नेसनल मावि, कोटेश्वर, काठमाडौंमा  कार्तिक २७ गतेका दिन आयोजना हुने विद्यार्थीका लागि विविध प्रतियोगितात्मक कार्यक्रम बिहान ९ बजेदेखि ३ बजेसम्म, शिक्षक अन्तक्र्रिया कार्यक्रम बिहान १०:३० बजेदेखि २ बजेसम्म र प्रधानाध्यापकसहित प्यानल छलफल बेलुकी ४ बजे सम्म सञ्चालन  हुने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार  कारखाना र रोबोटिक एसोसिएसनसँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रममा उपत्यकाका ६० भन्दा बढी विद्यालयका विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकहरूको विभिन्न कार्यक्रममा सहभागिता रहने छ ।

विद्यार्थीका लागि नवीनतम् आविष्कार सम्बन्धी चुनौती  तथा रोबोट प्रयोग तथा सञ्चालन कार्यक्रम गरिनेछ भने शिक्षकहरू  सम्बन्धी विविध अन्तरक्रियात्मक गोष्ठीमा सहभागी हुनेछन् । साथै प्रधानाध्यापकहरू प्यानल छलफल मा सहभागी हुनेछन् ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सह–सचिव इन्दु विक्रम जोशी, काठमाडौँ विश्वविद्यालयका शिक्षा सङ्काय का डिन डा। बालचन्द्र लुइँटेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानकाका प्रविधि विभाग प्रमुख डा। रवीन्द्र ढकाल, कामनपा का शिक्षा सल्लाहकार रेशु अर्यालको विज्ञ प्रस्तुति रहने उक्त छलफल नेपालको शिक्षा विकासमा एक प्रयास हुनेछ । प्यानल छलफलमा विज्ञहरूले व्यावहारिक तथा वैज्ञानिक शिक्षामा देखिएको चुनौती तथा यसका समाधानका विविध आयामहरूका बारेमा चर्चा गर्नेछन् ।

कार्यशालामा समसामयिक शैक्षिक विषयहरूका अनेकन् पाटाहरूमा विशेष परिचर्चा गर्दै बालबालिकाहरूको सिकाइलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने उपायको खोजी गरिने छ । साथै विभिन्न विद्यालयका विद्यार्थीहरू विज्ञान र प्रविधिसम्बन्धी प्रतिस्पर्धामा सहभागी हुनेछन्,र वैज्ञानिक सोच र प्रयोगले कसरी आधुनिक समाजलाई प्रभावित पार्न सक्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गर्नेछन् । 

  सिकाइ चौतारीले नेपालमा विज्ञान, प्रविध, इन्जिनियरिङ्, कला र गणितको एकीकृत तथा प्रभावकारी सिकाइ कसरी सम्भव हुन्छ र सो प्रयोजनका लागि शिक्षा मन्त्रालय, विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ महानगरपालिका तथा काठमाडौँ विश्वविद्यालयका साथै कारखाना र रोबोटिक एसोसिएसन लगायत नवीनतम् खोज गर्ने निजी संस्थाहरूको योगदान र भूमिकामाथि समेत चर्चा  गर्ने कार्यक्रम रहेको सिकाइ चौतारीले जनाएको छ ।

काञ्जीरोवा नेसनल माविले यस वर्ष रजत जयन्तीको अवसरमा विद्यार्थीका लागि यस्तै विविध सिकाइमूलक क्रियाकलाप गरिरहेको जानकारी समेत स्मरण गराउन चाहन्छौँ ।