‘गणेशमान सिंहको सङ्घर्ष’ : जीवनीमा आधारित पुस्तक सार्वजनिक

‘गणेशमान सिंहको सङ्घर्ष’ : जीवनीमा आधारित  पुस्तक सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २४, २०७९

काठमाडौँ । जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर तथा नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको जीवनीमा आधारित पुस्तक ‘गणेशमान सिंहको सङ्घर्ष’ उहाँकै निवासस्थान चाक्सबारी क्षेत्रपाटीमा उहाँको १०८औँ जन्मजयन्ती अवसर पारेर सार्वजनिक गरिएको छ । उहाँकी कान्छी सुपुत्री डा. मीता सिंहले लेख्नुभएको दुई सय ३१ पृष्ठको सो पुस्तक आज एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो । 

    पुस्तकमाथि प्रकाश पार्दै संयुक्त राष्ट्रसङ्घका लागि नेपालका पूर्व प्रतिनिधि प्रा जयराज आचार्यले गणेशमान एक निष्ठावान् लौहपुरुष मात्र नभई एक बौद्धिक व्यक्तित्व तथा परिपक्व राजनीतिज्ञ पनि हुनुहुन्थ्यो भन्नुभयो । कांग्रेसका लोकप्रिय नेता बिपी कोइरालाको देहावसानपछि पनि पार्टीलाई सक्षम नेतृत्व प्रदान गर्दै गणेशमान सिंहले विसं २०४२ को सत्याग्रह र २०४६ सालको जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःस्थापनाका निम्ति पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको उहाँले चर्चा गर्नुभयो । 

रुसका लागि नेपालका पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सर्वोच्च नेता सिंह बाहिरबाट कठोर देखिए पनि भित्रबाट अत्यन्त कोमल तथा सहृदयी भएको बताउनुभयो । नेता सिंहले प्रजातन्त्रवादी र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने कार्य नगर्नु भएको भए निरंकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्र प्रणालीको स्थापना असम्भव रहेको उहाँको भनाइ थियो । 

    समाजसेवी दुर्गा घिमिरेले डा सिंहद्वारा लिखित सो पुस्तकमा गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिपछि आर्थिक क्रान्ति र समानताको मुद्दा उठाउनुभएको भन्दै पुस्तक अहिलेका युवा वर्गको निम्ति पठनीय तथा प्रेरणादायी हुने विचार व्यक्त गर्नुभयो । 

पुस्तकका लेखक डा सिंहले बुबा गणेशमान सिंहले गर्नुभएको त्याग, तपस्या र सङ्घर्षबारे आजको युवा पुस्तालाई जानकारी मिलोस् र त्यसबाट देश तथा समाजको निम्ति केही गर्ने प्रेरणा प्राप्त होस् भनी पुस्तक नेपालीमा अनुवाद गरिएको बताउनुभयो । उक्त पुस्तक गत वर्ष प्रकाशित डा सिंहद्वारा रचित ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद अन्विका गिरीले गर्नुभएको हो ।