काठमाडौँ ५ : प्रदीप पौडेलकाे चुनावी अभियान 'बीसीडी मोडेल' देखि 'हटलाइन नम्बर' सम्म

काठमाडौँ ५ : प्रदीप पौडेलकाे चुनावी अभियान 'बीसीडी मोडेल' देखि 'हटलाइन नम्बर' सम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७९

काठमाडौँ । काठमाडौँलाई केन्द्र बनाई विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनु भएका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल अहिले संसदीय राजनीतिमा प्रवेश गर्नका लागि काठमाडौँ क्षेत्र नम्बर ५ बाट पहिलो पटक सांसद बनेर संसद भवन छिर्ने दाउमा छन् । तर, उहाँको सांसद बन्ने सपनाका अगाडि प्रतिस्पर्धीका रुपमा उभिएका छन्  एमालेका वरिष्ठ उपाध्यक्ष एवम् यसै क्षेत्रका निवर्तमान सांसद ईश्वर पोखरेल । 

नेपाली राजनीतिका चतुर खेलाडी अनि प्रतिकूल परिस्थितिमा आफूलाई जोगाउन जान्ने पोखरेल राजनीतिमा साम, दाम, दण्ड भेद जे सुकै प्रयोग गरेर भए पनि माहौल आफ्नो पक्षमा पार्न माहिर मानिनुहुन्छ । तर, कहिलेकाहीँ आफूसँग भएको नकारात्मक गुण र प्रतिस्पर्धीको सकारात्मक गुण मिल्दा त्यसले विपक्षीलाई दोहोरो फाइदा हुन्छ भन्ने जस्तो गणितीय हिसाब पनि भएको छ पोखरेलको हकमा भने । 

नेविसंघका पूर्व अध्यक्ष, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवाहरुका साझा ढुकढुकीका रुपमा क्षेत्र नम्बर ५ मा भिडेका पौडेलले आफूलाई मत किन हाल्ने भनेर आफ्नो योगदानहरुसँगै ‘बीसीडी मोडेल’ पनि सार्वजनिक गरेका छन् । बीसीडी मोडेल अर्थात् ‘स्टप ब्रेन ड्रेन’, ‘फाइट करप्सन’ र ‘सस्टेनेबल डेभलपमेन्ट’ लाई आधार बनाइ  रहेको छन् ।

यसले पनि बेरोजगार भएर खाडीमा मजदुरी गर्न जाने श्रमिक अनि युवा, देशमा भ्रष्टाचार बढेर सबै क्षेत्र प्रदुषित भयो भन्ने अभियन्ता र नागरिक समाज तथा दीगो विकासको नारासमेत समेटिएकाले विकासवादीहरुलाई आकर्षण गर्नेमा कांग्रेसीहरु आशावादी देखिएका छन् । 

यति मात्र नभएर एक विद्यालय, एक पुस्तकालय, सार्वजनिक विद्यालय सुधार, हरेक विद्यालय इन्टरनेट एवम् ई–लाइब्रेरी जस्ता अभियान लिएर थुप्रै संख्यामा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति तथा र शैक्षिक सामग्री जुटाउने आफ्नो शैक्षिक अभियानले पनि नागरिकलाई शिक्षा, विकास र प्रविधि प्रतिको आफ्नो लगाव देखेरे आफूलाई मत दिनेमा विश्वास व्यक्त गर्ने गरेका छन् ।  

यससँगै लामो समय सत्तामा रहेर पनि क्षेत्र नम्बर ५ का लागि केही नगरेको तथा कोरोना कालमा सीसीएमसीमा बस्दा पनि खोपको भित्र्याउन नसक्नु तथा भित्रिएका खोपको पनि प्रभावकारी वितरण र समन्वय गर्न नसकेको आरोप पनि पोखरेलमाथि । यस्ता आरोपले पौडेलको पक्षमा मत बढाउने देखिन्छ । साथै आफूले एक वर्षभित्र यस क्षेत्रका बाटोघाटो, स्वास्थ्य, खानेपानीलगायतका आधारभूत आवश्यकतालाई समाधान गर्ने प्रतिबद्धतासमेत पौडेलले मतदाता समक्ष व्यक्त गर्नु भएको छ । साथै उहाँले यसका लागि ‘सांसद एप’ बनाउने र ‘सांसद एप’मार्फत् यस क्षेत्रमा भएका समस्याको तत्काल जानकारी हुँदा समस्या समाधान गर्न छिटो हुने उहाँको भनाइ छ । 

यसैबीचमा पौडेलका लागि  निर्वाचनको संघारमै आएर क्षेत्र नम्बर ५ मा पर्ने बुढानिलकण्ठ ३ का एमालेका सक्रिय नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेशले उत्साहित बनाएको बताएका छन् । । यसले कांग्रेसीको मनोबल बढेको छ भने चुनावमा थप मद्दत हुने आशा पनि गरेको छ कांग्रेसले । आशा यस अर्थमा उनी बुढानिलकण्ठ क्षेत्रमा राम्रो जनाधार भएका नेताका रुपमा परिचित छन् । बुढानिलकण्ठ क्षेत्रमा भएको एउटा घरदैलो कार्यक्रममा पौडेल आफैँले श्रेष्ठलाई कांग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गरेका श्रेष्ठले यस क्षेत्रले पौडेल जत्तिको योग्य र उम्मेदवार पाइएकोले जिताउनुका लागि कांग्रेस प्रवेश गरेको बताउनु भयो । 

घरदैलो कार्यक्रममा जाँदा सबै मतदातालाई भेट्न नपाएका कारण ९८८०२९८८०२ हटलाइन नम्बर सार्वजनिक गर्दै पौडेलले यसै हटलाइन नम्बरमार्फत भेट गर्ने र आफ्ना, समस्या, गुनासो र सुझावसमेत रेकर्ड गराउन आग्रह समेत गरेका छन् ।