मोरङ–६ : लालबाबुलाई बदला लिन कति सहज कांग्रेसका ‘हेभिवेट’नेता शेखरलाई ?

मोरङ–६ : लालबाबुलाई बदला लिन कति  सहज कांग्रेसका ‘हेभिवेट’नेता शेखरलाई ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २५, २०७९

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा चर्चामा रहेको क्षेत्रमध्ये एक हो, मोरङ–६ । यहाँ सत्तारुढ गठबन्धनबाट काँग्रेसका डा.शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित मुख्य प्रतिस्पर्धी छन् । 

कोइराला काँग्रेस भित्रै प्रतिपक्षी हुन् । गत महाधिवेशनमा पार्टी सभापतिमा चुनाव लडेर शेरबहादुर देउवासँग पराजित भएका उनको संघर्ष पार्टीभित्रै न्यायका लागि भन्दै केही समय अघिसम्म जारी थियो । 

त्यसो त कोइराला काँग्रेसले स्थानीय तहदेखि नै चुनावमा गठबन्धन गर्न नहुने पक्षमा उभिदै आएका थिए । उनले गठबन्धन गरे पनि प्रतिनिधिसभामा १०० सिट भन्दा कम लिन नहुने अडान राखेका थिए । त्यसैले उनलाई गठबन्धनप्रति अनुदार नेताका रुपमा लिइन्छ । 

अर्कोतिर एमाले नेता लालबाबु पण्डित लगातार काँग्रेसका ‘हेभिवेट’ नेता कोइरालालाई हराएर संसद छिर्ने दाउमा छन् । सामान्य प्रशासन मन्त्री हुँदा उनले कर्मचारीहरूमाथि कठोर नीति अपनाएर चर्चा कमाएका थिए । विदेशमा पीआर भएका र डिभी भरेर नेपालमा जागिर खाइरहेका कर्मचारीहरु उनको निशानामा परे । नेपालमा कर्मचारीतन्त्रलाई हेर्ने आम दृष्टिकोण त्यति सकारात्मक पाइदैन । त्यसैले उनले कर्मचारीमाथि कठोर व्यवहार गर्दा जनताकै बोली बोलेजस्तो धेरैले महसुस गरे र लालबाबु रातारात ‘सुपरस्टार’ बने । 

तर, अहिले उनको त्यो छवि कायम छैन । अघिल्लो पटक चुनाव जितेर मन्त्री भए पनि प्रभावकारी कुनै काम गर्न सकेनन् । बरु तत्कालीन एमालेमा माधवकुमार नेपाल समूहमा रहेका पण्डितलाई केपी ओलीले मन्त्रीबाट हटाए । एमालेमा अन्तरसंघर्ष चर्किएपछि उनी माधव नेपाललाई छाडेर ओलीकै पक्षमा उभिए । चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उनी उपाध्यक्षका आकांक्षी थिए । तर ओलीले उनलाई कुनै भूमिका दिएनन् र महाधिवेशन बीचैमा छाडेर फर्किए । ओलीले भूमिका बिहीन बनाउँदा चुपचाप बसेका लालबाबु शेखर विरुद्धको प्रतिस्पर्धाका लागि छानिए । 

शेखर र लाल बाबुबीचको यो प्रतिस्पर्धामा रोचक हुने अनुमान गरिएको छ । यसपटक शेखर लाल बाबुलाई हारको स्वाद चखाउँदै अघिल्लो पटक हारको बदलासहित संसद छिर्ने दाउमा छन् भने लालबाबु शेखरमाथि फेरि हाबी हुने सोचमा छन् । तर यसपटक लालबाबुलाई शेखर विरुद्धको जित सहज भने छैन । अघिल्लो पटक झिनो मतान्तरले शेखरलाई हराउँदा उनलाई माओवादीको पनि साथ थियो । तर यसपटक माओवादी र एमालेबाट विभाजित भएको एकीकृत समाजवादीको साथ शेखरलाई साथ छ । 

यो क्षेत्रमा करिब १ लाख २६ हजार मतदाता छन् । मोरङ–६ मा बुढीगंगा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं ४, ५, ६, ७, ९, ११ र १२, सुन्दरहरैचा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ नं वडा पर्छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बुढीगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । अन्य वडामा पनि मिश्रित नतिजा आएको थियो । वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवारले नै सबैभन्दा बढी मत पाएका छन् । कांग्रेसका उम्मेदवारले कुल २७ हजार ८६ र एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ५५६ मत पाएका थिए । यसैगरी माओवादीका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार ९९६, जनता समाजवादी पार्टी (जसपा) ले ३ हजार ९३९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) ले ३ हजार ११५, एकीकृत समाजवादीकाले २ हजार ३५५ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वडाध्यक्ष उम्मेदवारले ८९५ मत पाएका थिए ।

स्थानीय चुनावमा सत्ता गठबन्धनमा रहेको जसपा अहिले एमाले नेतृत्वको गठबन्धनमा छ । लोसपा भने सत्ता गठबन्धनमा आबद्ध भएको छ । लोस पासहितको मत हिसाब गर्दा यो क्षेत्रमा सत्ता गठबन्धनको ३५ हजार ३३२ मत छ भने एमाले नेतृत्वको गठबन्धनमा २८ हजार ४९५ मत छ । यहाँ राप्रपाले अलग्गै उम्मेदवार उठाएको छ । 

अघिल्लो पटक यो क्षेत्रबाट एमालेका लालबाबु पण्डितले ३३ हजार ९४१ मत ल्याएर विजयी हुँदा कांग्रेसका डा.शेखर कोइरालाले ३३ हजार २६६ मत ल्याएर झिनो मतान्तरले पराजित भएका थिए । 

अब मंसिर ४ को निर्वाचनमा शेखरले बदला लिन्छन् या लालबाबुले जितलाई निरन्तरता दिन्छन् भन्ने हेर्न परिणाम कुर्नुपर्नेछ ।