माओवादी महासचिव देव गुरुङलाई लमजुङमा कति सहज ?

माओवादी महासचिव देव गुरुङलाई लमजुङमा कति सहज  ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २७, २०७९

१० बर्से सशस्त्र युद्ध पछि माओवादी शान्ति प्रक्रियामा आएपछि भएका तीन मध्ये दुई निर्वाचन लडेका माओवादी केन्द्रका महासचिव देव गुरुङ दुवै पटक विजयी भएका छन् । पहिलो संविधानसभामा मनाङ र कास्कीबाट विजयी भएका गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा भने मोहन वैद्यको पार्टीबाट निर्वाचन वहिस्कारको अभियानमा थिए । २०७३ मा फेरि प्रचण्ड नेतृत्वको माओवादीमा नै फर्किएका उनी २०७४ सालको निर्वाचनमा भने लमजुङबाट विजयी भए । 

लमजुङमा टुरिस्ट उम्मेदवार भन्ने आरोप लाग्न सक्ने भएकाले मनाङ छाडेर उनले लमजुङमा घर नै बनाएका छन् । उनी लगातार दोस्रो पटक लमजुङबाट उम्मेदवार बनेका हुन् । उनका प्रतिस्पर्धी छन्, एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ । पृथ्वी सुब्बा अघिल्लो पटक लमजुङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएर गण्डकीको मुख्यमन्त्री समेत भएका थिए । त्यसबेला माओवादीका देव गुरुङ प्रतिनिधिसभाका उम्मेदवार थिए । यसपटक पृथ्वी सुब्बाले फेरि प्रदेशमा उम्मेदवार बन्ने र गण्डकीको मुख्यमन्त्री बन्ने चाहाना राखेका थिए । तर उनलाई अध्यक्ष केपी ओलीले संघको टिकट दिए । गुरुङलाई प्रतिनिधिसभामा तानेर ओलीले खगराज अधिकारीलाई कास्कीबाट उम्मेदवार बनाएका छन् । उनलाई गण्डकीको मुख्यमन्त्रीका रुपमा अघि सारेको बुझिन्छ ।

अघिल्लो पटक एमाले र माओवादीको गठबन्धनबाट चुनाव जितेका दुवै गुरुङ यसपटक गठबन्धन फेरेर मैदानमा उत्रिएका छन् । माओवादीका महासचिव देव गुरुङ अघिल्लो पटक लमजुङबाट नै उम्मेदवार बनेर विजयी भएका थिए । उनलाई बलियो साथ थियो एमाले र पृथ्वी सुब्बा गुरुङको । यसपटक भने उनीहरु प्रतिस्पर्धी छन् । देव गुरुङको पार्टी माओवादी केन्द्र बने लमजुङमा कमजोर छ । 

गुरुङलाई प्रदेशमा टिकट नदिनको अर्को कारण भनेको पोखरा महानगरपालिकाको निर्वाचन परिणाम पनि हो । सुरुमा पोखराको मेयरमा गुरुङ पक्षका दिपक पौडेलले टिकट पाएका थिए । तर उनको सुन चोरी गरेको भिडियो भाइरल बन्यो र खगराज पक्षका कृष्ण थापाले टिकट पाए । उनी एकीकृत समाजवादीका उम्मेदवारसँग पराजित भए भने उपमेयरमा भने एमालेकै मञ्जुदेवी गुरुङ विजयी भइन् । थापाको हार हुनुमा गुरुङ पक्षको असहयोग भएको खगराज पक्षका नेताहरु आरोप लगाउँछन् । खगराज र पृथ्वीसुब्बा गुरुङ बीचको टकरावका कारण पनि प्रदेश र प्रतिनिधिसभामा ओलीले टिकट हेरफेर गरेको बुझिन्छ । 

अघिल्लो पटक एमाले र माओवादीको गठबन्धनबाट चुनाव जितेका दुवै गुरुङ यसपटक गठबन्धन फेरेर मैदानमा उत्रिएका छन् । माओवादीका महासचिव देव गुरुङ अघिल्लो पटक लमजुङबाट नै उम्मेदवार बनेर विजयी भएका थिए । उनलाई बलियो साथ थियो एमाले र पृथ्वी सुब्बा गुरुङको । यसपटक भने उनीहरु प्रतिस्पर्धी छन् । देव गुरुङको पार्टी माओवादी केन्द्र बने लमजुङमा कमजोर छ । 

३० वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षलाई प्राप्त मत हेर्दा लमजुुङका आठ स्थानीय तहमा माओवादीको मत ६ हजार ५५६ मात्रै देखिन्छ । माओवादीको गठबन्धनमा रहेको दल नेपाली कांग्रेसको ३५ हजार २७३ मत छ ।एमाले एक्लैको ४० हजार १६६ छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक हजार १२०, मंगोल नेशनल अर्गनाइजेसनको ३१८, जनता समाजवादी पार्टीको १८८ मत र नेकपा एकीकृत समाजवादीको ६६ मत रहेको छ । यसरी हेर्दा सत्ता गठबन्धनको करिब ४२ हजार मत छ र गठबन्धन करिब २ हजार मतान्तरले अघि देखिन्छ । 

यसबाट लमजुङमा एक अर्का बीच आमुनेसामुने हुन नचाहेका देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीचको भिडन्त निकै रोचक हुने देखिन्छ ।