दाङ क्षेत्र नं २ : शंकर पोखरेललाई रेखा शर्माले हराउन कति सहज ?

दाङ क्षेत्र नं २ :  शंकर पोखरेललाई रेखा शर्माले हराउन कति सहज ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २८, २०७९

प्रतिनिधिसभा निर्वाचनमा चर्चित सिटमध्ये एक हो, दाङ क्षेत्र नम्बर २ । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा र एमालेको गठबन्धनबाट महासचिव शंकर पोखरेल चुनावी मैदानमा छन् । अघिल्लो पटक माओवादीका कृष्णबहादुर महराले जितेको यो क्षेत्रमा यसपटक महरा र पोखरेलबीच भिडन्त हुने चर्चा भए पनि अन्तिममा महरा पछि हटेपछि शर्मा उम्मेदवार बन्न पुगेकी हुन् ।  

महराले छाडेको यो क्षेत्रमा शर्मा र पोखरेल बीचको भिडन्त कस्तो होला भन्ने चासोका साथ हेरिएको छ । शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ भने पोखरेललाई एमालेसहित जसपाको साथ रहेको  छ । 

पोखरेल लुम्बिनीका पूर्व मुख्यमन्त्री हुन् भने शर्माले पनि सामान्य प्रशासन मन्त्रालय सम्हालेको अनुभव छ । पोखरेल अघिल्लो पटक प्रदेशसभा सदस्य जितेका थिए । यसपटक पोखरेल र शर्माको भिडन्त निकै रोचक हुने देखिन्छ । पोखरेल केन्द्रमा प्रभाव राख्ने 'हेभिवेट' नेता भएका कारण उनलाई नै जनताले जिताउने एमालेका नेताहरु दाबी गर्छन् । 

तर सत्ता गठबन्धनको साथ रहेकी शर्मालाई हराउन सहज भने छैन । त्यसो त पोखरेल विगतमा कमै मात्र निर्वाचन जितेका नेता हुन् । २०५१ सालको निर्वाचनमा दाङ–२ बाट विजयी भएपछि उनी प्रतिनिधिसभा निर्वाचन जितेर सांसद भएका छैनन् ।

०५६ सालमा कांग्रेसका कृष्ण किशोर घिमिरेसँग पराजित भएका उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक सांसद भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी पराजित भए भने २०७४ मा प्रदेशसभामा झरेर विजयी भए । त्यसबेला उनलाई माओवादी केन्द्रले समेत सहयोग गरेको थियो । अघिल्लो पटक गठबन्धनको बलमा चुनाव जितेका पोखरेल यसपटक प्रत्यक्ष निर्वाचन जितेर दोस्रोपटक प्रतिनिधिसभा छिर्ने प्रयासमा छन् । 

३० वैशाखको स्थानीय तह निर्वाचनको परिणामले एमालेलाई चुनाव जित्न धेरै गाह्रो देखिदैन । घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिका ४ वटा वडा दाङ–२ मा पर्छन् । स्थानीय तहमा घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेका नरुलाल चौधरी विजयी हुँदा गठबन्धनबाट माओवादीका उम्मेदवार हेमराज शर्मा डायमण्ड ५ हजार मतान्तरले पराजित भएका थिए ।

यता सत्ता गठबन्धन र माओवादीका नेताहरु भने रेखा शर्माले चुनाव जित्ने दाबी गर्छन् । २०७० र २०७४ मा लगातार समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् । 

उनलाई पनि एमाले महासचिव पोखरेलविरुद्ध जित निकाल्न सहज छैन । चुनाव जित्न उनले काँग्रेससहित सिंगो गठबन्धनको मत एकमुस्ट आफ्नो पक्षमा पार्न सक्नुपर्छ । गठबन्धनभित्र अन्तर्घात भएको अवस्थामा परिणाम फरक आउन पनि सक्छ । गत स्थानीय तहको निर्वाचनमा गठबन्धनको बलियो पकड क्षेत्र मानिने घोराही र तुलसीपुरमा एमाले उम्मेदवार विजयी भएकाले पनि शर्मालाई जित्न सहज छैन भन्ने देखिन्छ । 

३० वैशाखको स्थानीय तह निर्वाचनको परिणामले एमालेलाई चुनाव जित्न धेरै गाह्रो देखिदैन । घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिका ४ वटा वडा दाङ–२ मा पर्छन् । स्थानीय तहमा घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेका नरुलाल चौधरी विजयी हुँदा गठबन्धनबाट माओवादीका उम्मेदवार हेमराज शर्मा डायमण्ड ५ हजार मतान्तरले पराजित भएका थिए । 

चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरेका थिए भने शर्माले २६ हजार ३३८ मत पाएका थिए । यस आधारमा घोराहीमा एमाले ५ हजार मतले अघि देखिन्छ । बगलाचुली गाउँपालिकामा भने एमालेलाई हराउँदै सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार तुलसीराम पुन (सुवास) विजयी भएका थिए । उनले ५ हजार ७ सय मत प्राप्त गरेका थिए भने एमालेका भेषराज खत्रीले ३ हजार ६७८ मत ल्याएका थिए । यहाँ गठबन्धनको २ हजार ७१ मत बढी छ । दाङ क्षेत्र नं. २ मै पर्ने तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामध्ये १७ मा एमाले र १८, १९ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी हुँदा १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

यसरी हेर्ने हो भने चुनावी अंक गणितमा पोखरेल अघि देखिन्छन् । तर पाँच दलीय गठबन्धनमा इमान्दारीपूर्वक मत खस्ने हो भने पोखरेल पराजित हुन सक्छन् । किनकि यो क्षेत्र काँग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ । तर काँग्रेसभित्रको मत एकीकृत नहुँदा शर्मालाई त्यो भोट आफूतिर तान्ने चुनौती छ ।