सप्तरी क्षेत्र नम्बर २ : यादव र ठाकुर बिच मधेसलाई ठगेको र ढाँटेको भन्दै आरोप-प्रत्यारोप

सप्तरी  क्षेत्र नम्बर २ :  यादव र ठाकुर बिच मधेसलाई ठगेको र ढाँटेको भन्दै आरोप-प्रत्यारोप

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २९, २०७९

सप्तरी । मंसिर ४ को निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारहरु बिच आरोप प्रत्यारोपको जुहारी चलि रहेको छ ।

निर्वाचन नजिकै जाँदा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जयप्रकाश ठाकुरले सोमबार राजविराज नगरपालिका वार्ड नम्बर १ स्थित चनौरामा कार्यकर्तालाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुनै एजेण्डा नभएको बताउनु भएको छ ।

सत्ता र कुर्सीको लागि मधेशको सबै एजेण्डा छाडेको बताउँदै उनले केपी ओलीलाई मधेशमा निषेध गरेर मलेठ घट्नामा ५ जनालाई शहिद बनाउने यादव अहिले एमालेसँग गठबन्धन गर्नुले मधेशी जनताको अपमान गरेको आरोप लगाउनु भयो ।

‘मलेठ घट्ना गराउने र गर्ने दुवै अहिले एकै ठाउँमा छन्, जनतालाई ठगेर चुनाव जित्न विभिन्न झुठा आश्वासन र प्रतिवद्धता गरिरहेको छ तर, यसपाली जनताले उपेन्द्र यादवलाई जवाफ दिने छन्’ ठाकुरले भने,‘मधेशी जनतालाई शहिद बनाएर ठग्दै आएको पार्टी र उम्मेदवारलाई सप्तरीका जनताले चिनिसकेको छ । अव ढाँट्न सकिन्न ।’

उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै पुरानो नेतालाई बिर्सेर मतदाताले जनताको सेवा गर्न आफुलाई अवसर दिने बताउनु भयो ।

राजधानीमा बसेर सत्ताको खेला सधैं लिप्त रहने जसपा अध्यक्ष यादवले पाँच बर्ष सम्म गरेको काम जनताले हेरिसकेको भन्दै अव नयाँ अनुहारको नेतालाई चुनावमा जिताउनुपर्नेमा उनले जोड दिनु भयो । ‘म यहीँको नेता हु, सधै जनताको साथमा रहेर काम गर्नेछु, जतिबेला पनि जनताको समस्या बुझन् तयार रहने छु ।’ 

‘हामी अस्वस्थ प्रतिस्पर्धामाथि विश्वास पनि राख्दैनौं, त्यस्ता अस्वस्थ प्रतिस्पर्धा गर्न पनि चाहिदैन’ भने, ‘जात–पात र धर्म यी सबैभन्दा माथि उठेर हामी आसन्न निर्वाचनलाई एउटा स्वस्थ निर्वाचनको रुपमा सम्पन्न गर्न उत्प्रेरित छौं ।’

यता जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरुले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको टिप्पणी गर्नु भएको छ ।

राजविराजमा सोमवार पत्रकारहरूका बिच हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरु तथा राजनीतिक आन्दोलनहरूको उपलब्धिले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पक्षमा जन लहर रहेकोले प्रतिस्पर्धीहरु डराएर भ्रामक प्रचारबाजी गरिरहेको बताउँदै उहाँले भन्नुभयो ‘चुनावी प्रतिस्पर्धामा रहेका प्रतिष्पर्धा उम्मेदवारहरूमा हारको त्रास देखिएको छ, त्यसैले उनीहरु आतिएका छन्, त्यसको जवाफ जनताले दिने छन् ।’

सामाजिक सञ्जालहरुमा निर्वाचन आचार संघीयता विपरित जसपाका अध्यक्ष यादवलाई लक्षित गरी दुष्प्रचार प्रचार गरिरहेको बताउँदै स्वस्थ प्रचार र स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने पार्टी प्रवक्ता सुमनले जानकारी दिनुभयो  ।

यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेको भन्दै उहाँले सो विषयमा पनि आफ्नो पार्टी र प्रशासनले समेत खण्डन गरिसकेको बताउनु भएको छ । 

‘अस्ती जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्पष्ट रुपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गर्नुभयो’ उहाँले भन्नुभो, ‘केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कु प्रचार गरे ।

प्रवक्ता सुमनका अनुसार यस क्षेत्रमा विकासको लहर ल्याउने तथा समानुपातिक समावेशीताको लागि लड्दै आएको एक सैद्धान्तिक पार्टी रहेकोे छ । ‘हामी अस्वस्थ प्रतिस्पर्धामाथि विश्वास पनि राख्दैनौं, त्यस्ता अस्वस्थ प्रतिस्पर्धा गर्न पनि चाहिदैन’ भने, ‘जात–पात र धर्म यी सबैभन्दा माथि उठेर हामी आसन्न निर्वाचनलाई एउटा स्वस्थ निर्वाचनको रुपमा सम्पन्न गर्न उत्प्रेरित छौं ।’

 जिल्लामा वाह्य हस्तक्षेप व्यापक बढेको भन्दै निर्वाचनको माहोल नधमिल्याउन प्रवक्ता सुमनले सचेत गराउनु भएको छ । अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गर्दै  प्रशासनलाई समेत स्वच्छ निर्वाचन गाउनमा सहयोग पुर्याउन उहाँले आग्रह गर्नुभएको छ  । अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्मात फैलाउने लाई कार्वाहीको दायरामा ल्याउनका लागि प्रहरी प्रशासन समेत चनाखो रहनुपर्नेमा जोड दिनु भयो ।