चितवन–२ : एमालेको क्षेत्रमा रवि लामिछानेको असन्तुष्ट मतले चुनाव जित्ने दाउ

चितवन–२ : एमालेको क्षेत्रमा रवि लामिछानेको असन्तुष्ट मतले चुनाव जित्ने दाउ

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक २९, २०७९

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचार अवधि छोटिदै जाँदा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ । सत्तारुढ गठबन्धन र एमालेको गठबन्धनका नेताहरु यतिबेला चुनावी सभाका लागि देश दौडाहामा छन् ।

एकै दिन शीर्ष नेताले धेरैवटा चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । यसैक्रममा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुगे र चुनावी सभालाई सम्बोधन गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवन पुगेर एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धन र पहिलो पटक संसदीय चुनावमा होमिएका रवि लामिछानेमाथि व्यंग्य प्रहार गरे । 

प्रचण्डले जनयुद्धका सहिद, घाइते, बेपत्तालाई भन्दा आफ्ना छोरी बुहारी, भाइ भतिजालाई बढी हेरेको र आफ्ना नाममा नभए पनि १० वटा बंगला निर्माण गरेको आरोप लगाए । यस्तै शेरबहादुर देउवा ८० वर्ष पुग्दा पनि दाइ भएको र आफूलाई ७० वर्ष पुगे पनि सबैले बा भन्ने गरेकाले देउवा कहिल्यै बुढो नहुने व्यंग्य कसे । उनले टेलिभिजन प्रस्तोताको जागिर छाडेर राजनीतिको फोहोर सफा गर्ने भन्दै पहिलो पटक संसदीय चुनावको मैदानमा उत्रिएका रवि लामिछानेलाई पनि छाडेनन् । रविले दमाहा, नरहिंसा नभई घन्टी बजाउँदा पनि उनको गाडीमा तोडफोड भएको भन्दै व्यंग्य कसे । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चुनावी मैदानमा होमिएका लामिछानेको चुनाव चिन्ह घन्टी हो । 

मतदातासम्म पुगेर आफ्ना एजेन्डा भन्ने, जनताको सच्चा प्रतिनिधि बन्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन कायमदेखि विकास निर्माण, सार्वजनिक निकायबाट जनमुखी सेवा प्रवाह, शिक्षा र स्वास्थ्यसम्बन्धी सेवा निःशुल्क हुुनुपर्ने, रोजगारी सिर्जनादेखि सु–संस्कृत राजनीतिको एजेन्डा उठाउँदै आएका रविलाई चितवन–२ मा जित निकाल्न भने सहज छैन ।पहिलो पटक चुनावी मैदानमा होमिएका उनलाई चुनाव जित्न स्वतन्त्र र युवाको मात्रै होइन हाल प्रतिस्पर्धामा रहेका ठूला दल एमाले, काँग्रेस र माओवादीको उल्लेख्य मत आफ्नो पक्षमा पार्न पर्नेछ । त्यसैले उनी दलहरुको असन्तुष्ट भोट आफूतिर तानेर चुनाव जित्ने योजनामा छन् । 

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षहरुले ३५ हजार ३९४ मत पाएका थिए । एमाले र गठबन्धनका वडाध्यक्षहरुले पाएको मतान्तर १४९ मात्रै छ र गठबन्धन पछाडि छ । बलियो प्रतिस्पर्धा भएर नै दुवैले रविलाई मुख्य प्रतिस्पर्धी ठानेका छैनन् । तर मतदाताले पुराना दलका उम्मेदवारलाई नछानी नयाँ र लोकप्रिय उम्मेदवार भएको आधारमा रविलाई छान्दैनन् भन्ने आधार छैन । 

रविसँग एमालेका निवर्तमान सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चुनावी मैदानमा छन् । पोखरेलले चितवन–२ बाट दुई पटक चुनाव जितिसकेका छन् । २०७४ मा एमाले र माओवादी केन्द्र रहेको वाम गठबन्धनको उम्मेदवार बनेका पोखरेलले ४४ हजार ६७० मत ल्याएर चुनाव जितेका थिए । राज्यमन्त्री श्रेष्ठ यसपटक माओवादीसहितको सत्ता गठबन्धनबाट उम्मेदवार छन् । चितवनसँग व्यावसायिक सम्बन्ध जोडिएका उनी प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । 

त्यसैले पोखरेल र श्रेष्ठ चितवन–२ मा बलिया उम्मेदवार हुन् । उनीहरूलाई पराजित गरेर संसद् यात्रा तय गर्न रविलाई सजिलो छैन । चितवनको क्षेत्र नम्बर–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा पर्दछन् । यहाँ १ लाख २४ हजार २१४ मतदाता छन् । 
गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुलाई प्राप्त मतलाई आधार मान्दा नेकपा एमाले सर्वाधिक बलियो दल हो । एमालेका वडाध्यक्षहरुले ३५ हजार ५४३ मत पाएका छन् । 

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षहरुले ३५ हजार ३९४ मत पाएका थिए । एमाले र गठबन्धनका वडाध्यक्षहरुले पाएको मतान्तर १४९ मात्रै छ र गठबन्धन पछाडि छ । बलियो प्रतिस्पर्धा भएर नै दुवैले रविलाई मुख्य प्रतिस्पर्धी ठानेका छैनन् । तर मतदाताले पुराना दलका उम्मेदवारलाई नछानी नयाँ र लोकप्रिय उम्मेदवार भएको आधारमा रविलाई छान्दैनन् भन्ने आधार छैन । 

चितवनको चुनावी माहोल हेर्दा रवि निकै बलियो उम्मेदवार देखिन्छन् । स्थानीय तहको निर्वाचनमा नै जनताले दलको विकल्प खोजेका कारण अब स्वतन्त्र र स्वतन्त्र पार्टीका उम्मेदवारहरु छनोटमा पर्न सक्ने सम्भावना छ । यस्तो अवस्थामा चितवन–२ मा पोखरेल र श्रेष्ठसँगै लामिछानेको त्रिपक्षीय भिडन्त रोचक हुने देखिन्छ ।