अनुत्तरित प्रश्न: म किन प्रजातन्त्रवादी भएँ ? मलाई किन प्रजातान्त्रिक व्यवस्थाप्रति मोह जाग्यो होला ?

फर्कलान् र ती दिनहरु

अनुत्तरित प्रश्न: म किन प्रजातन्त्रवादी भएँ ? मलाई किन प्रजातान्त्रिक व्यवस्थाप्रति मोह जाग्यो होला ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  मंसिर ३, २०७९

म आफूलाई स्वघोषित प्रजातन्त्रवादी मान्छु किनभने मलाई शासन प्रणालीमा प्रजातान्त्रिक प्रणाली मन पर्छ । प्रजातन्त्र प्रतिको आस्था भनेको मनले गर्ने हो र कसैले तँ प्रजातन्त्रवादी होस् भनेर दिने प्रमाणपत्र भन्दा भावनाले प्रजातन्त्रका आदर्शहरू आत्मसात् गरिनु हो ।

त्यसैले स्वघोषित किन भनेको भने कुनै पनि व्यक्ति आफ्ना लागि र आफ्ना आकांक्षको पूर्तिका लागि बाँच्ने हो र आफ्ना आकांक्षा र भावनाले कसैको अहित नहोस् भन्ने ध्यानमा राखी 'बहुजन हिताय' का लागि पनि  बाँच्ने हो । मैले नजानेर या जानेरै भने पनि रोजगारीका लागि शिक्षण पेसा अपनाउँदा पनि सौखले पत्रकारिता गर्ने हुँदा जीवनमा पढेर या अस्पष्ट अतीतमा, सानु हुँदैमा घरको केही प्रभाव पनि होला तर   एउटा आदर्श व्यवस्थाको छाप परेको हो प्रजातान्त्रिक व्यवस्था ।

अन्तरकुन्तरमा चाहिँ मेरो बाल्यकालमा घटेको एउटा घटना पनि छ, त्यो हो २०१७ सालको पुस १ गतेबाट बा भूमिगत हुनुभयो । बा कता जानु भयो भन्ने जिज्ञासा पक्कै पनि बालकमा रहने नै भयो । आमाले विस्तारै भन्नु भयो - 'बा कांग्रेस भएकाले सरकारले पक्रने आदेश दिएको छ रे, लुक्नुभएको छ लेखतिर !' 

त्योबेलामा एउटा कहावत थियो - एउटा बाबुलाई पुलिसले खोज्दै आउने रहेछ । बाबु बुइँगलमा लुकेका रहेछन् र उनको तमाखु खाने लत रहेछ । बुइँगलको एउटा कुनामा उनी सोतेमा पानी नराखी चिलिममा भरेको तमाखु खाँदा रहेछन् रे ! छोरालाई भनेका रहेछन्- बाबु, कसैले बाबु कहाँ छन् भने भने तैँले बाबु घरमा छन् नभन्नु है । छोराले पनि त्यो अवस्थाको संवेदशीलता कति बुझेको थियो होला र ? अनि उसले जसलाई पनि भन्ने गर्थ्यो रे!  हाम्रा बा बुइँगलमा पनि छैनन् र पानी नहालेको सोतेमा तमाखु पनि खाँदैनन् । अनि  पुलिसले त्यही आधारमा उनलाई पक्रेर लग्यो रे ! भन्ने कथा व्यापक थियो र हामीलाई पनि त्यसो नगर्न कडाइका साथ उर्दी थियो ।

बा कहिलेकाहीँ घरमा आउनु हुन्थ्यो र मेरो बालक मनमा एउटा जिज्ञासा हुन्थ्यो । किन बा लुक्नु परेको हो ? किन बालाई पुलिसले पक्रन खोजेका हुन् ? अनि बा घरमा आउँदा किन हल्ला नगर्नु भनेको ? बा किन घरमा आउनु हुँदा पनि बाहिर फेर जानु हुन्न ? किन भैँसी, गाई दुहुनु हुन्न ? नुहाउन पनि किन कुलामा, खोलामा जानुहुन्न ? आदि आदि । अनि आमाले भन्नु भयो 'तेरा बा कांग्रेस हुनाले राजाले कांग्रेसलाई थुन्न पुर्जी काटेको छ रे ! अनि लुक्नु भएको हो ? अनि मेरा मनमा लाग्यो, कांग्रेस हुँदा राजाको के बिगार्नु भयो मेरा बाले र राजाले थुन्न लगाएका होलान् ? 

 जुन बेलामा हाम्रो पुस्ताको सामाजिक चेतना स्थापना भएको थियो, त्योबेलामा प्रजातन्त्र भन्ने शब्द निश्चित समुदाय र व्यक्तिहरुको निजी सम्पत्ति जस्तै थियो । अर्थात् एकतन्त्रीय, निर्दलीय र तानाशाहहरुको आफ्नै परिभाषाको प्रजातन्त्र हुने रहेछ किनभने उनीहरुको अ प्रजातान्त्रिक तरिकाले आर्जन गरेको शासन प्रक्रियालाई अरुले बाध्यता वश सम्मान गरेकै हुनुपर्छ ।  राजाको पनि त्यो बेलामा राजनीतिक महत्वाकांक्षा बढेको रहेछ होला र त जनताले चुनेका जनप्रतिनिधिहरुलाई बलजफ्ती पक्रेर थुनेका रहेछन् जसको एउटा झिल्को सुदूर गाउँमा बस्ने मजस्तो एउटा बालकको मनमा पनि पर्‍यो - राजाले किन जनताका प्रतिनिधिहरुलाई देखी नसहेका होलान् ?

अनि पछि सबैजना त्यही पञ्चायती व्यवस्थामा अभ्यस्त भए पक्ष र विपक्षको आधारमा । तर मनमा कुँदिएको एउटा प्रश्न भने मेरो मनमा रही रह्यो -राजाले एकातिर प्रजातन्त्र ल्याउन मेरा बा त्रिभुवन र मेरो परिवारको ठुलो देन छ पनि भन्थे तर त्यही राणा विरुद्धको आन्दोलनले प्राप्त गरेको नागरिक अधिकारसहितको प्रजातान्त्रिक व्यवस्थाको हत्या गरेर एकदलीय या निर्दलीय पञ्चायती व्यवस्थाको स्थापना किन गरे ? अनि प्रजातन्त्रवादी हौँ भन्ने संस्था र व्यक्तिहरुलाई छानी छानी किन जेलमा कोचे ? या अपमानित जीवन बाँच्न किन बाध्य पारे ? त्यसको उत्तर खोज्ने क्रममा ममा प्रजातन्त्र प्रतिको सम्मान पलाउन थाल्यो र म तानाशाही प्रवृत्तिको विरुद्धमा फक्रेको चेतनाको झिल्कोले होला, प्रजातन्त्रवादी भएँ ।

अनि अहिले पनि लाग्छ, म कुन दिनबाट, या कुन अर्को कुनै घटनाबाट या कसैको कुनै प्रभावबाट प्रजातन्त्रवादी भएको जस्तो लाग्दैन, तर परिवारको परिवेश अनि बाको भूमिगत जीवन र त्यसको कारण पत्ता लगाउन आफ्नै निजी प्रयासले मनमा लाग्यो होला, प्रजातन्त्र राम्रो व्यवस्था रहेछ तर राजा महेन्द्रले उनको अधिकारमा कटौती भएको खप्न चाहेनन् या आफैँले स्वतन्त्ररुपमा सत्ता सम्हाल्ने चाहना राखे होलान् । तर त्यसो होइन, त्यो बेलाको परिवेशले के देखाउने रहेछ भने भारत र चीनका शासकहरूलाई पनि नेपाली प्रजातन्त्रले अप्ठेरो पारेको थियो होला किनभने नेपालले आफ्नो स्वाभिमान साधिकार देखाउँदै थियो शासन प्रणालीको ओजका कारणले । नेतृत्वको क्षमताको कारणले, बीपीको क्षमताको प्रस्फुटन भएकाले ।

प्रजातन्त्र प्रतिको आस्था भनेको एउटा तपस्या नै हो किनभने यसको स्थापनामा जनताको चाहना, जनताको आकांक्षाले ठुलो भूमिका निर्वाह गरेको हुन्छ । प्रजातन्त्र कसका लागि ? जनताका लागि । कसले कसलाई शासन गर्नका लागि तयार गरिएको शासन प्रणाली ? यसको उत्तर पनि स्पष्ट नै छ, जनताका लागि शासन गर्न जनताले खटाएको प्रतिनिधिले निश्चित अवधिसम्मका लागि शासन गर्न भनेर तोक्ने चलन ।

बीपीको त्यो राजनीतिक क्षमता जुन नेपाली जनताले संग्रहित गरेर दिएका थिए, सायद त्यसको एउटा झझल्को थियो मुस्ताङमा घटेको एउटा सामान्य घटना तर त्यसको असामान्य परिणामले सबैलाई झस्काएको । घटना रहेछ झुक्किएर चिनियाँ भूमिमा शौच गर्न गएका नेपाली सुबेदार बमप्रसाद उपाध्यायमाथि चिनियाँ सेनाको गोलीले भएको मृत्युको घटना । मरे बम प्रसाद जी चिनियाँको गोलीले, लुकायो चिनियाँले केही समयसम्म लास र अरु सेनाका केही जवानहरूलाई पनि । यसको सोधीखोजी भयो । चीनले यसमा माफी पनि माग्यो तर भारतले भन्यो, नेपाली सीमामा हुने कुनै पनि हस्तक्षेपलाई भारतले खप्दैन ।

नेहरुको यो भनाइलाई बीपीले खण्डन गर्नुभयो र भन्नु भयो -यो नेपाल र चीनको मामिला हो, कसैले केही भन्नु जरुरी छैन भन्ने आशयको । भारतले त्यो भनाइमा माफी माग्यो । उता चीनले घटनाप्रति माफी माग्दै मृतकको शव दियो, क्षतिपूर्ति पनि दियो । सामान्य घटना थियो असमझदारीको । सीमामा यस्तो भइरहन्छ जुनसुकै देशमा पनि तर नेपालको कूटनीति, नेपालको अडान र सत्य प्रतिको आस्थाले दुई देशका शासकहरुले माफी पनि मागे तर भारतका लागि त्यो घटना पनि बिझ्ने भएको होला । अनि भारतले चाहन्थ्यो बीपीले जे बोल्नु हुन्छ अन्तर्राष्ट्रिय मञ्चमा , ती सबै शब्दहरु भारतबाट सापट लिऊन् या भारतले भनेको मात्र गरुन् जुन राजा त्रिभुवन गर्ने गर्थे । बीपीले एउटा स्वतन्त्र राष्ट्र, सार्वभौमिक देशले आफ्नो देशको निर्णय आफैँ गर्छ भन्ने अडानका कारणले पनि एउटा महत्वाकांक्षी राजाका लागि आफैँ शासक बन्ने चाहनामा मद्दत गरेको थियो होला जसले लाखौँ नेपालीहरुलाई पुनः प्रजातन्त्र स्थापनाका लागि प्रेरणा दियो होला जसमा म पनि परेँ । 

अनि प्रश्न ममा आफैँ उठ्न थालेको थियो म  किन प्रजातन्त्रवादी भएँ ? मलाई किन प्रजातान्त्रिक व्यवस्थाप्रति मोह जाग्यो होला ? ममा अझै राजनीतिप्रति चासो किन छ ? सायद यसको उत्तर ममा आफैँले खोज्ने हो जसमा चेतनशील नागरिक भएपछि पनि प्रश्न उठिरहने रहेछ- के अहिलेको संसारमा प्रजातन्त्रको उस्तै छ त चाहना ? प्रजातान्त्रिक व्यवस्थाले मात्र जनताको आवश्यकता पूरा गर्न सक्छ त ? 

प्रजातन्त्र प्रतिको आस्था भनेको एउटा तपस्या नै हो किनभने यसको स्थापनामा जनताको चाहना, जनताको आकांक्षाले ठुलो भूमिका निर्वाह गरेको हुन्छ । प्रजातन्त्र कसका लागि ? जनताका लागि । कसले कसलाई शासन गर्नका लागि तयार गरिएको शासन प्रणाली ? यसको उत्तर पनि स्पष्ट नै छ, जनताका लागि शासन गर्न जनताले खटाएको प्रतिनिधिले निश्चित अवधिसम्मका लागि शासन गर्न भनेर तोक्ने चलन । प्रजातन्त्र संवेदनशील शासन प्रणाली यस कारणले हो कि यसमा संविधान अनुसार, ऐन अनुसार र संविधान र ऐनले दिएको अधिकार विनियोजित रुपमा या नियोजितरुपमा अधिकारको प्रयोग गर्न पाउँछन् ।

जनताको असीमित अधिकारको सिद्धान्तमा कुनै सम्झौता नगर्ने गरी जुनसुकै संशोधन गर्न सकिने गतिशील शासन प्रणाली एकातिर संसारमा सबैभन्दा बढी प्रचलनमा छ भने अर्कोतिर त्यही व्यवस्थाका उपजहरूले नै फेरि किन त्यही प्रजातन्त्रका विरुद्धमा लाग्ने गर्छन् ? आजको सबैभन्दा बढी सतर्क हुनुपर्ने र प्रजातन्त्रका लागि जसले सबैभन्दा पहिले माग्छ अनुशासनको बलियो डोरीको बन्धन, स्वचाहनाले बाँधिने डोरीको बन्धन । जसलाई हामीले संविधान भन्छौँ, ऐन नियम भन्छौँ , नैतिकता भन्छौँ, चलन भन्छौँ । 

आजको दिनमा हामीले प्रजातन्त्रका पक्षमा जनमत बनाउने भनेको यसका कमी कमजोरीलाई कसरी समाधान गर्ने र आफूलाई पनि कसरी त्यो बन्धनमा सहजताका साथ बाँध्ने भन्ने हो ।     क्रमशः