राधिका कल्पित : सामाजिक सञ्जालबाटै स्थापित एक सशक्त कवि

राधिका कल्पित : सामाजिक सञ्जालबाटै स्थापित एक सशक्त कवि

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर ४, २०७९

लेखिएको कुरा भएरै छाड्छ र त्यसका लागि बाटो आफैँ तयार हुँदै जान्छ भन्ने आध्यात्मिक उक्ति राधिका गौतमको जीवनमा पनि लागू हुन्छ । उहाँले आफूलाई १४/१५ वर्षको उमेरमा राधिका कल्पित बनाउनु भयो । तर, यो नाम कसरी जुर्‍यो भन्ने कुराको ठ्याक्कै कारण भने उहाँलाई पनि थाहा छैन । अलिकति कल्पना शील भएका कारण कल्पित भयो कि भन्ने केही आधारसम्म हुनसक्ला । तर, यही नै ठोस कारण भने होइन । जे होस् गौतमबाट कल्पित बन्नु भएकी राधिकाको पछिल्लो चरण भने नाम अनुसारको कर्म विस्तारै अघि बढ्दै गएका छन् ।

२०५० सालदेखि मात्रै उहाँका फुटकर कविता प्रकाशनमा आउन थालेको हो । उहाँले ९ वर्षको उमेरदेखि १९ वर्षसम्म गर्नुभएका आफ्ना रचना कसैलाई पनि देखाउनु भएन । ती भूमिगत नै भए । र, भूमिगत भएरै ती भूमि निष्ठ भए । किनकि त्यसपछि तिनको अस्तित्व के भयो भन्ने उहाँलाई नै जानकारी छैन ।

उहाँको जन्म २०३२ सालमा बाग्लुङको गल्कोटस्थित मल्म गाविसमा भएको हो । उहाँका चार दाजुभाइ अनि तीन दिदीबहिनी हुनु हुन्छ । उहाँको जन्म भएका गल्कोट त्यस बेलाको एउटा चौबिसे राज्य मध्येको एक हो । उहाँको बुवाहरू भने अलि माथिबाट झरेर दरम खोलाको छेउमा व्यापार सुरु गर्नु भएको हो । उहाँ बुवा त्यहाँको एउटा ठूलो व्यापारी र उहाँको घर नै एउटा व्यापारिक केन्द्रको रुपमा थियो । खाद्यान्नदेखि लत्ताकपडासम्म सबै किसिमका व्यापार थिए बुवाको । घरका ४/५ जना मान्छेलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । त्यहाँ व्यापार गर्नुको कारण भने बाग्लुङ पहाड भइकन पनि गल्कोटमा भने धेरै नै समथर भूभाग रहेको छ । झण्डै १४/१५ गाउँका मानिसहरु किनमेलका लागि त्यस बेला उहाँको पसलमा आउँथे । पारिवारिक पृष्ठभूमिका हिसाबले उहाँ सम्पन्न परिवारमा हुर्कनु भएको हो ।

पहाडको विकट ठाउँमा जन्मिए पनि उहाँको जस्तो जीवनशैली शायदै भाग्यमानी मान्छेले मात्र प्राप्त गर्छ । किनकि उहाँको घरमा घोडा थियो र छोरी मान्छेले घोडा चढ्नु हुँदैन भन्ने त्यो पुरातन मान्यतामा पनि उहाँ ८/९ वर्षको उमेरदेखि करिब १३/१४ वर्षको उमेरसम्म भाइसँग झगडा गरेर भए पनि घोडा चढ्नुहुन्थ्यो । घर अगाडिको खोलामा पौडी खेल्ने पनि गर्नुहुन्थ्यो । खेल्न, खान र पढ्नलाई कुनै किसिमको विभेद  कहिल्यै रहेन । बाल्यकाल जत्तिकै अभावमा हुर्किए पनि शायदै कसैको सुखद नहोला तर, उहाँको भने बाल्यकाल त्यसमा पनि सम्पन्नता र विभेद दुवैले दुःख नदिएपछि साँच्चिकै स्वर्णिम भयो ।

एक पटकको कुरा हो उहाँले त्यस बेला पसलको सय रुपैयाँ झिकेर खर्च गर्न महिनौं लागेको थियो । एक त बच्चाले सय रुपैयाँ बोक्नु नै ठूलो कुरा थियो । त्यसमा पनि गाउँमा सबैले फलानो की छोरीले सय रुपैयाँ लिएर आएर खर्च गरी भनेर घरमा कुरा लगाइ देलान् भन्ने डरले पनि अर्को गाउँको हटियामा गएर साटेर एक रुपैयाँको जेरी किनेर खाएको उहाँलाई सम्झना छ । यी विविध कारणले उहाँको बाल्यकाल साँच्चै सुखद र स्वर्णिम रहेको उहाँको अनुभूति छ ।  

उहाँ बाग्लुङबाट बुर्तिबाङ अहिलेको मध्यपहाडी राजमार्गमा बसेर हुर्किएको हुनाले गाउँ बस्तीको ठ्याक्कै वातावरण भने भएन । तर, त्यहाँ रहेका चार/पाँच घरका केटाकेटी सबै खेल्न गाउँमा उक्लने र घर फर्कँदा गाउँका बारीका काँक्रो चोर्ने, निबुवा चोर्ने, अमला चोर्ने सबै काम उहाँ छात्रा भएर पनि गर्नुभएको छ त्यति मात्र नभएर त्यो समूहको नेतृत्व पनि उहाँ आफैँले गर्नु पनि हुन्थ्यो । स्कूलबाट खाजा खाने समयमा बाहिर जाँदा धेरै पटक ढिला भएर स्कूल भागेका उहाँका धेरै घटना छन् । यसका कारण स्कूलमा पिटाइ खाएका घटना पनि छन् । तर, पढाइमा अब्बल भएका कारण पाउनुपर्ने जति सजाय भने उहाँले पाउनु भएन । 

०००

उहाँले कखरा घरमा सिक्नु भएको होइन । उहाँ एक/दुई कक्षा पढ्दा उहाँको दाइ भने सात/आठ कक्षामा पढ्नुहुन्थ्यो । अनि दाइले ल्याएको अंग्रेजी, विज्ञानका किताब उहाँ दाइसँगै पढ्नुहुन्थ्यो । त्यसकारण पनि उहाँलाई हात समाएर बुवा, आमा वा अरु कोहीले सिकाएको थाहा छैन । तर, पढाइ प्रतिको एउटा बेग्लै जागरुकता थियो उहाँमा । बरु भगवानको पूजामा उहाँको मन त्यति जाँदैन होला जति किताबमा जान्छ । घरमा टीका लगाएको पैसाले अरुले खानेकुरा लुगा कपडा किन्दा उहाँ किताब किन्नुहुन्थ्यो । पढाइ प्रतिको यो लगावले उहाँले कहिले पढ्न थाल्नुभयो, लेख्न थाल्नुभयो भन्ने पनि खास हेक्का छैन । 

त्यस बेला ४ कक्षामा पुगेर एबीसीडी लेख्ने गरिन्थ्यो । ५ कक्षामा बल्ल माइ नेम इज फलानो लेख्न सकिने अवस्था रहन्थ्यो । तर, उहाँ दुई कक्षा पढ्दा बोर्डिङ स्कूल खुल्यो । अनि भाइले लिएर आएको अक्सफोर्ड, क्याम्ब्रिजका विभिन्न अंग्रेजी किताब उहाँ भाइसँगै पढ्नुहुन्थ्यो । यसले पनि उहाँलाई अंग्रेजी पढाइ लेखाइमा जग बसाउने काम गर्यो । बिजुली बत्ती नभएका कारण टुकी बालेर पढ्नु पर्थ्यो । पाँच जनालाई पाँचवटा टुकी हुन्थ्यो । 

०००

भैरव प्रावि बाँसखोलामा उहाँका स्कूले शिक्षाको प्रारम्भ भयो । स्कूलमा डेस्क बेन्चको राम्रो व्यवस्था थियो । कक्षामा एक तिहाइ महिला तथा दुई तिहाइ पुरुषको संख्या हुन्थ्यो । धेरै तथा टाढा टाढाका गाउँबाट पढ्न आउने कारणले पनि हुनसक्छ फर्निचर तथा कालो पाटीको पनि राम्रै व्यवस्था थियो । तर, मावि पढ्न भने गल्कोट मावि हटियामा एक घण्टा टाढा जानुपर्ने भएकोले १५/२० जना विद्यार्थीमा ५ जना छात्राहरु मात्र गएका थिए पढ्न । पहाडको मावि भए पनि इच्छाधीन गणित, विज्ञान पढाइ हुने तथा विज्ञान प्रयोगशालासमेत भएको सुविधासम्पन्न स्कूल थियो । इच्छाधीन गणित लिने ४ जना महिला मात्र थिए । 

अतिरिक्त क्रियाकलाप अन्तर्गत हाइ जम्प, लङ्गजम्प तथा भलिबल हुन्थ्यो । वीरेन्द्र शिल्ड प्रतियोगिता पनि हुन्थ्यो । फुटबल भएको भने उहाँलाई थाहा छैन । उहाँलाई भने खेलकुदमा खासै रुचि रहेन । अरु साथीहरु खेल्न जाँदा उहाँ भने कतै एकान्तमा वा छुट्टै बसेर कविता लेख्नुहुन्थ्यो । तर, अरु साथीहरुलाई उहाँ कविता लेख्नुहुन्छ भन्ने थाहा थिएन । उहाँले त्यस बेला कक्षा ९ मा पढ्दा वातावरण दिवसको उपलक्ष्यमा भएको निबन्ध प्रतियोगितामा रुखको महत्व शीर्षकमा निबन्ध लेखेर दोस्रो समेत हुनुभएको थियो ।

आफूले कविता लेखेर राखेको बारे घरमा कसैलाई भन्नु भएको थिएन । अनि उहाँ यता काठमाडौँ पढ्न आएपछि ती लेखिएर राखिएका डायरी दशैँमा घर लिपपोत गर्दा पुराना कापि भनेर कसैले फालिदियो होला भन्ने अहिले उहाँसँग अनुमान मात्र छ डायरी र त्यसमा भएका कविता भने छैन । उहाँ यसलाई जीवनको सबैभन्दा ठूलो क्षतिका रुपमा लिनुहुन्छ । यसमा उहाँका झण्डै २०५० सालसम्मका कुनै पनि रचना छैनन् । 

कविताका बारेमा साथीहरुलाई थाहा नभए पनि साथीहरुको अनुरोधमा  साथीहरुका लागि अटो भर्ने र प्रेमपत्र लेखिदिने काम भने उहाँले धेरै नै गरिदिनुभयो । यसका अलावा घोडचढी तथा पौडीमा पनि उहाँ निपुण नै हुनुहुन्थ्यो । त्यस बेला पूर्व व्यवसायिक शिक्षामा कृषि सम्बन्धी शिक्षा तथा पाक शिक्षा अन्तर्गत पकाउने पकाउने व्यवहारिक ज्ञानका बारेमा पढाइन्थ्यो । यसकारण पनि अहिलेको महँगो शुल्क लिने शिक्षाभन्दा उहाँलाई त्यस बेलाको शिक्षा नै गुणस्तरीय लाग्थ्यो । उहाँहरुलाई पढाउने अंग्रेजी शिक्षकले कहिल्यै नेपाली नबोल्ने तथा अंग्रेजी राम्रो भएका कारण उहाँहरुको पनि अंग्रेजी राम्रो भएको उहाँको बुझाइ छ । अंग्रेजी शिक्षकले नेपाली बोलेको नसुन्दा उहाँहरुलाई सरको नेपाली कस्तो होला भन्ने जिज्ञासा पनि रहन्थ्यो । 

स्कूल राम्रो भएका कारण विद्यार्थीहरु पनि धेरै झण्डै दुई हजार विद्यार्थी थिए । उहाँहरुको कक्षामा पनि विभिन्न सेक्सन थिए । छ कक्षामा पढ्न सुरु गरेका छात्राहरु आठ कक्षासम्म आइसक्दा कम भइसकेका हुन्थे । रजस्वला हुने, अंग्रेजी पढाइमा कमजोर भएका कारण फेल हुँदा हिनताबोध भएर स्कूल नजाने एउटा कारण थियो भने अर्को भनेको महिलाहरु पढ्न अलि उमेर भएपछि सुरु गर्ने र माथिल्लो कक्षामा आइपुग्दा बिहेको चटारो भइसक्ने हुँदा पनि एक तिहाइको संख्या घटेर तीन/चारमा सीमित हुन्थ्यो । 
उहाँले २०४७ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचका करिब ७८ जना विद्यार्थी थिए । जसमा दश जना पास भएका थिए । दशै जना प्रथम श्रेणीमा उत्तिर्ण  भएकोमा तीन जना छात्रा थिए । जसमा उहाँ पनि हुनुहुन्थ्यो । 

०००

प्रथम श्रेणी पनि आएको, परिवार पनि सम्पन्न अनि सानैदेखि जिज्ञासु स्वभाव पनि भएकोले उहाँको रोजाइ परेको विज्ञानमा परिवारको पनि आपत्ति हुने कुरै भएन । उहाँ यति जिज्ञासु कि प्रश्न सोधेर सरलाई हैरान बनाउनु हुन्थ्यो । प्रश्न गरे वापत उहाँले धेरै पटक कुटाइ पनि खानु भएको छ । उहाँको दाई पनि २०४० सालतिर पोखराको पृथ्वी नारायण क्याम्पसमा पढ्ने हुनाले पनि विज्ञान परिवारमा नौलो पनि थिएन । 

उहाँ त्यसपछि पद्मकन्या क्याम्पसमा विज्ञान संकायमा भर्ना हुनुभयो । तर, दोस्रो वर्ष पढ्दै गर्दा निमोनिया भएका कारण पढाइ छोडेर उहाँ फेरि बाग्लुङ फर्कनु भयो । त्यतिखेर उहाँको परिवारको व्यापार पनि बाग्लुङमा सरिसकेको थियो । आइ एमा अंग्रेजी तथा अर्थशास्त्र अनि  बि एमा पनि अंग्रेजी लिएर बागलुङबाट नै सकाउनु भएको थियो । स्नातकोत्तर भने त्रिविबाट समाजशास्त्रमा गर्नु भएको हो । 

०००

उहाँको कामको सुरुवात भने स्कूलबाट भयो । उहाँले प्रवीणता प्रमाणपत्र तह (आइए) पढ्दै गर्दा कालीगण्डकी बोर्डिङ स्कुलमा ९/१० कक्षालाई विज्ञान विषय पढाउनु भयो । त्यहाँ उहाँको तलब ३५ सय थियो । त्यो नै उहाँको पहिलो तलब थियो । दुई वर्ष त्यहाँ पढाए पनि पहिलो तलब के मा खर्च भयो उहाँलाई त्यति हेक्का छैन । तर, जापान जानका लागि कुक तालिममा पुनः भारत जान लाग्नु भएका दाइलाई काम गर्न जान लाग्दा उहाँले दुई महिनाको पैसा दिएको भने राम्रै याद छ । पहिले तालिमका लागि दिल्ली जाँदा खान नपाएर तीन दिन पाउरोटी मात्रै खाएको कुरा गर्दा भोकै नबस्नु खानुपर्छ भनेर उहाँको कवि छचल्किएर त्यो पैसा दिएको जस्तो लाग्छ उहाँलाई ।

त्यसपछि भने अंग्रेजी राम्रो भएका कारण उहाँ स्नातक तहमा पढ्दै गर्दा युएनडीपीको वैकल्पिक उर्जासम्बन्धी प्रोजेक्ट आरइडीपीमा काम गर्नुभयो । उहाँ त्यसपछि काठमाडौँ आएर ललितपुरको मञ्जुश्री स्कूलमा पढाउनुभयो र स्कूलमा पढाउने क्रम जारी रह्यो पनि । अनि स्नातकोत्तरपछि भने उहाँले टेकुको क्यापिटल हिल, महाराजगन्जको ओरियन्ट कलेजाम पनि पढाउनु भयो । करिब छ वर्ष पढाए पछि भने स्वास्थ्यमा समस्या कारण उहाँले पढाउन छोडेर स्कूल व्यवस्थापनको काममा लाग्नुभयो । यसको सुरुवात कालिमाटीको कुमुदिनी कुञ्ज स्कूलबाट भयो । उता करिब छ वर्ष बिताएपछि औषधि व्यवसायी श्रीमानलाई सघाउन आउनु भयो यता । तर, यता उहाँको कवि मन नरमाएपछि उहाँ अहिले फेरि कालिमाटीको स्कूलमा फर्किनुभएको छ ।

०००

पहिलो कविता ठ्याक्कै याद नभए पनि कक्षा गत, गीत तथा कक्ष गत रुपमा हुने यो घर कसको आलेको , भित्र बाहिर टालेको, भोटे कुकुर पालेको जस्ता कविताको उहाँ दुरुस्तै अर्को कविता लेख्नुहुन्थ्यो । तर, यसरी लेख्दा लेख्दै उहाँले आफ्नो मौलिक कविता लेख्न थाल्नुभयो ।

तर, विडम्बना के भने झण्डै आठ वर्षको उमेरदेखि कविता लेखेको अनि अठार वर्षमा झण्डै सात सय कविता लेखेको र सयौँ अंग्रेजी कविता, कथा लेखेको एउटा मान्छेलाई पुनः कवि हुन भने लामो समय लाग्यो । 

उहाँले आफूले कविता लेखेर राखेको बारे घरमा कसैलाई भन्नु भएको थिएन । अनि उहाँ यता काठमाडौँ पढ्न आएपछि ती लेखिएर राखिएका डायरी दशैँमा घर लिपपोत गर्दा पुराना कापि भनेर कसैले फालिदियो होला भन्ने अहिले उहाँसँग अनुमान मात्र छ डायरी र त्यसमा भएका कविता भने छैन । उहाँ यसलाई जीवनको सबैभन्दा ठूलो क्षतिका रुपमा लिनुहुन्छ । यसमा उहाँका झण्डै २०५० सालसम्मका कुनै पनि रचना छैनन् । 

उहाँको घरमा सबैको छुट्टाछुट्टै कोठा अनि पढ्नाका लागि छुट्टाछुट्टै  टुकी हुन्थे । उहाँ टुकीमा मट्टितेल सकिउञ्जेल लेख्नुहुन्थ्यो । कक्षा आठका केही थोरै सम्झना छन् तर, त्यसभन्दा अगाडिका केही याद छैनन् ।

२०५१ सालमा पर्वतबाट निस्कने सगुन मासिक पत्रिकामा उहाँको पहिलो कविता प्रकाशित  थियो भने कालीको सुसेली भन्ने स्थानीय साहित्यिक पत्रिकामा पनि थुप्रै कविता छापिएका थिए।  २०५६ सालमा बिहे भएपछि २०७४ सालसम्म उहाँ विविध घरायसी कारणले साहित्यबाट झण्डै १८ वर्ष टाढा रहनु पर्ने परिस्थिति बन्यो ।

हुनत उहाँका अप्रकाशित कविताका रुपमा रहेका आठ/दश डायरी अझै छन् । तर, भित्र भएको कुरा बाहिर प्रकाशनमा नल्याएसम्म अरुलाई जानकारी हुने कुरो रहेन । यसै बीचमा २०७७ सालमा उहाँको बरफका कोइलाहरू शीर्षकको कविता संग्रह प्रकाशन भएको छ । यसमा भने उहाँको २०७५ सालदेखि लेखिएका कविता समावेश भएका छन् । यस अघि लेखिएका कविता यसमा समावेश भएका छैनन् ।

उहाँ अहिले एउटा कथा संग्रह निकाल्ने तयारीमा पनि हुनुहुन्छ । त्यस्तै अंग्रेजी कविता संग्रह निकाल्ने सोच पनि बनाइरहनु भएको छ । प्रज्ञा नारी मुक्तकमा उहाँका दश वटा मुक्तक संयुक्त संग्रहमा समावेश भएका छन् । कविता पनि संयुक्त संग्रहमा समावेश भएका छन् ।

२०७५ सालपछि उहाँले फेसबुकमा कविता राख्न थालेपछि भने उहाँका कविता रुचाइन थाले । र यसरी खोजिन थालेको हो कवि राधिका कल्पित अनि उहाँका कविता । उहाँका कविता अलि चर्का छन् ।  शायद ! त्यसैले पनि पाठ/स्रोताका आँखामा परेका होलान् !

उहाँलाई कविता वाचनका लागि पनि थुप्रै ठाउँबाट बोलावट आउँछ । तर, उहाँलाई माइक अनि स्टेजसँग एक प्रकारको फोबिया नै छ । स्टेजमा गएर माइक समातेर कविता भन्न उहाँलाई पटक्कै सहज लाग्दैन । यसकारण लकडाउन धेरैका लागि अभिशाप भए पनि उहाँका लागि भर्चुअल माध्यमबाट कविता सुनाउने एउटा अवसरका  रुपमा उपयोग गर्नु भयो ।  यसरी उहाँको परिचय फराकिलो बन्दै गयो ।

पुरस्कारमा भने अनेसासले आयोजना गरेको सन् २०२२ को राष्ट्रिय कविता प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्दै उहाँले पुरस्कार प्राप्त गर्नुभएको हो । बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्ट २५ कथामा उहाँको कथा परेको छ । त्यस्तै गएको कात्तिकमा विमल स्मृति प्रतिष्ठानले आयोजना गरेको कविता प्रतियोगितामा पनि उहाँले तेस्रो स्थान प्राप्त गरी पुरस्कार प्राप्त गर्नु भएको छ ।

संघसंस्थामा आबद्धताको कुरा गर्दा लेखकहरू संघसंस्थामा लाग्ने भन्दा पनि आफ्नो सृजनामा रमाउनुपर्छ भन्ने उहाँको मान्यताका कारण पनि उहाँ यस्ता साहित्यिक संघसंस्थामा आबद्ध हुनुहुन्न । विभिन्न संस्थामा बसिदिने आग्रह उहाँलाई नआउने होइन तर, उहाँ प्राय यसलाई अस्वीकार नै गर्नुहुन्छ ।

घरपरिवार र व्यवहार पनि लगभग सकिएका हुँदा अब चाँडै नै उहाँ एक प्रकारले अन्य कामकाजबाट अवकाश लिएर साहित्यमा मात्र लाग्ने तयारीमा हुनुहुन्छ । जसमा नयाँ सृजना र भएका सृजनालाई परिमार्जन गरी पूर्ण लेखकीय जीवन बिताउने उहाँको चाहना छ ।

साहित्य र शिक्षामा लामो समय बिताएका कारण पनि उहाँ आफ्ना दुई आँखालाई एउटा शिक्षा अनि अर्को साहित्य भन्न पनि रुचाउनुहुन्छ ।

उहाँ आफूले आफूलाई कविको रुपमा स्वीकार नगरि रहेको अवस्थामा रेडियो प्रस्तोता अच्युत घिमिरे ‘बुलबुल’ले तपाइँ भित्र कवि छ भनेर कविता वाचन गर्ने अवसर दिएका कारण आफ्नो कविको छवि बाहिर आएको भन्ने लाग्छ उहाँलाई । यसकारण पनि उहाँ घिमिरेलाई हृदयदेखि धन्यवाद भन्न पनि चाहनुहुन्छ ।