विद्रोहको आगोमा सपनाको प्रतिस्पर्धा

समीक्षा

विद्रोहको आगोमा सपनाको प्रतिस्पर्धा

बोधराज पौडेल  |  साहित्य  |  मंसिर १०, २०७९

अन्याय कहाँ हुँदैन, बाबुले दुख गरेर हुर्काएको छोरालाई अंश दिदा हुन्छ । आमाले आफु नखाइ खुवाएको छोरालाई सबै दिन सक्छिन् । तर, छोराले जीवन साट्छु भनेर भित्र्याएकी बुहारीलाई कहिल्यै राम्रो देख्दिनँ । यहीबाट बिस्तारै फैलिन्छ चैत्रको हुरहुरे डँडेलो । एक पटक लागेपछि चिउला पलाउला भन्ने आश हुँदैन, यो माटो नै डढाउने डँडेलो को । 

देशमा विकास नभएको रोष । नेताले गरेको बेइमानी । जता पनि कर र कमिसन । नागरिकको राहत संविधानका अक्षरमा मात्र सीमित । आवाज बोल्यो भने त बन्दुकको गोलीले निर्भय बनाउँछ शरीरलाई । नागरिकका लागि यही कानून । अरुका लागि यही सधैं चैन र विलासी । यसैले जन्माउँछ मनको चिसोपनि, असारको खहरे जस्तै अनि न बगाउँछ आफ्नो क्षेत्र छोप्न आएका लहरा र झाडीलाई । यही चेतलाई शक्तिमा रूपान्तर गरेर कविता लेख्ने कवि हुन् प्रेम राई परीक्षित । 

 कविता समय अनुसार शक्तिशाली भइरहेको छ । यो चेतना र देशको परिवर्तनसँगै फरक भइरहेको छ । गोपाल प्रसाद रिमाल र भूपि शेरचनले सत्ताको मोहकतालाई गरेको गालीले ५० दशक नाघेको भएपनि सुधार केही हुन सकेको छैन । पात्र फेरिए । व्यवस्था बदलियो तर ढर्रा राणाकालिन भन्दा माथि आउन सकेन । तव न देशले दुर्भाग्य भोगिरहेको छ । देशको अवस्था र नागरिकको जीवनस्तरका बारेमा बोलिएका कविता नै राईको पहिचान हो भन्ने कुरा कविताले देखाएका छन् । 

कवितालाई उनले जीवनको परीक्षा हो भनेका छन् । यो सत्य पनि हो । जे हुन्छ र भोग्नु पर्छ, त्यो जीवनको परीक्षा नै हो । तर, यो नियति सधैं रहनु हुँदैन । सन्ततिले आफ्नो देशका कर्म गर्न पाउनुपर्छ भन्ने उनको आशा बलवान छ । यो तुषारापात नभइ आरामले हुर्किन सक्छ भन्ने कुरामा भने शंका छ । आखिर जीवन सोचे जस्तो सरल पनि त हुँदैन ।
 अव उनका कवितामा आएका केही अनुभूति हेरौँ ।

पढ्नु भनेको त 
जीवनमा हलो जस्तै बसिलाले ताछिनु रहेछ 
कपासमा जस्तै चर्खामा पेलिनु रहेछ
डल्लेठोले जस्तै डल्ला फुटाउनु रहेछ
दाँतेले जस्तै सम्म पार्नु रहेछ । (जीवनको परीक्षा)
वास्तवमा जीवन यता मिलायो उता भत्किएको हुन्छ । उता मिलायो यता भत्किएको हुन्छ । जीवन आफैंमा असारको समाहा हो । यता थुन्यो उता लड्छ , उता थुन्यो यता लड्छ ।

‘सपनाहरूको प्रतिस्पर्धा’ कृतिमा सय कविता रहेका छन् । कविता कुनै लामा र कुनै छोटा छन् । तर उचाइ र तौलका हिसाबले सबै बराबर । शब्दलाई मातृभाषाको जिब्रोको लवजले मिठासता भरेको भएपनि यो व्याकरण दोष हो, छ । पढ्दा यो भान हुन्छ ।

जीवनको बन्धनको परिभाषा आफ्नै छ कविको । कतै उचाइको अग्लो तलामा हुँदाको मोहकता र कहिले गहिराइमा डुब्दाको पीडा यसरी व्यक्त भएको छ ।
तिमी सगरमाथा जस्तै 
असीमित छौँ
चौघेरा वीहिन
म केचना जस्तै चौघेराभित्र छु । (भावनाको एकीकरण ।)
मान्छे कसरी योग्यता विहिन बन्छ योग्यताको परीक्षणमा अकल्पनीय तरिकाले शब्दहरु आएका छन् । 
त्यही अयोग्यताको खुड्किलो चढ्ने तिमी सफल 
तिम्रा हर चुनौती पछ्याउँदै हिँड्ने
म चाहिँ कसरी असफल ?
भनि देउ न कमरेड
इन्च नपुगेको छातीमा 
देश अट्छ कि अट्दैन ?
गोलीको छर्रा लागेर गुमेको आँखाले 
देश ढकमक्क फुलेको देख्छ कि देख्दैन । (योग्यताको परीक्षण)
यहाँ बालिग भएर पाएको नागरिकतामा पनि शंका व्यक्त गरिएको छ । नागरिकताको हस्ताक्षरमा पनि कमिसनको नमिठो गन्ध आएको प्रसङ्ग व्याङ्ग्यात्म रहेको छ । 
उता सकियो विश्व युद्ध
अनि ढल्यो बर्लिनको पर्खाल
यता निर्माण हुँदैछ 
बर्लिन भन्दा अजंगका पर्खालहरू । (बीरबहादुर चेपाङ ।)

यी र यस्ता कविताले उनको कविताको आधार के हो भन्ने कुरा प्रष्ट पारको छ । 

भोकको आगोले कति पोल्छ ? त्यसलाई स्यामन गर्नका लागि कत्रो शक्ति चाहिन्छ । आफ्नो छेउमा बडेमानको भुँडी बोकेर हिँडिरहेको सामन्त देखेपछि हुने चेतको आगो मात्र होइन एउटा लप्का पनि हो । त्यसले एकलाई मात्र होइन नजिकमा भएको सबैलाई पोल्छ । यहाँ रापमात्र छर्ने कुराको कल्पना मिथ्या । आगोको लप्काले यहाँ मन र देश मात्र होइन सारा ब्रह्माण्ड जलाउन सक्ने चेतावनी पनि छ । यो एक रापिलो राँको हो, यो बल्दा पोल्छ, नबल्दा हात कालो पार्छ । कविताको शक्तिलाई जोख्नका लागि तराजुले पुग्दैन । 

 श्रवण मुकारुङ भूमिकामा लेख्छन्–‘कविता भनेको सम्पूर्ण ज्ञान, भ्रम र बाँकी रहस्यहरूको समष्टि हो । त्यो उसको अवचेतनको मानसिक अन्तर द्वन्द्वको नितान्त निजी प्रयोगशाला हुँदै अन्ततः शब्दद्वारा प्रकट हुन्छ । पाठकको नजिक पुग्ने यो एउटा पुल हो ।’ र ‘देशको आन्तरिक विषय वा सौन्दर्यलाई कवितामा प्रस्तुत गरेर विश्वमा भइरहेको अमानवीयता, शोषण, दमनहरूको हुँ कार पनि कवितामा आएका छन् ।’ मैले पनि मुकारुङ दाजैलाई समर्थन गरे । 

‘सपनाहरूको प्रतिस्पर्धा’ कृतिमा सय कविता रहेका छन् । कविता कुनै लामा र कुनै छोटा छन् । तर उचाइ र तौलका हिसाबले सबै बराबर । शब्दलाई मातृभाषाको जिब्रोको लवजले मिठासता भरेको भएपनि यो व्याकरण दोष हो, छ । पढ्दा यो भान हुन्छ ।

यो साधनाको उचाइमा रफ्तारपूर्ण दौडमा टापको धुँलो आँखामा पसेर कतै दुखः दिइरहेको छ । अर्को कृतिमा यो धुँलोको कण नामेट भएर जानेछ भन्ने पूर्ण विश्वाससहित यो कृतिको पूर्ण सफलताको कामना गर्दै आगामी लेखनको शुभकामना भन्छु । धन्यवाद ।