डा. प्रदीपकुमार मैनाली : अनेकौँ भुक्तमान र हण्डर खेपेर बनेका स्रष्टा

डा. प्रदीपकुमार मैनाली : अनेकौँ भुक्तमान र हण्डर खेपेर बनेका स्रष्टा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  मंसिर ११, २०७९

उहाँको बुवा, आमा सामान्य किसान हुनुहुन्छ । खेतिपातीमै बित्थ्यो समय । बन्द व्यापार वा आर्थिक उपार्जन को अर्को काम थिएन । जे भने पनि नभने पनि खेतीपाती नै थियो । उहाँको जन्म २०३२ सालमा दोलखाको तत्कालीन सुन्नावती तथा हालको कालिन्चोकमा भएको हो । 

उहाँको बाल्यकाल पनि आम नेपालीको भैँ बितेको हो । गोठालो जाने, जात्रा मात्रामा साथी भाइलाई सँगै लिएर जाने । ठूलो ठूलो खोलामा पनि पोखरी बनाएर पौडी खेल्ने । पल्टन, कबड्डी डण्डी बियोलगायतका खेल पनि उहाँले खेल्नुभयो । देउसी खेल्दा पनि उहाँ आफैँले नेतृत्व गरेर खेल्नुहुन्थ्यो । 

उहाँले त्यस बेला फलामको बन्दुक बनाउन लगाएर त्यसमा दुई माना जति बारुद किनेर ल्याएर ४/५ इन्च बारुद राति खाँदेर राख्नु भएको थियो । बिहान पढेर बसेका बेला उहाँलाई बन्दुक खेलाउन मन लाग्यो । अनि पढ्दै गरेको टुकी बत्तीमा कताबाट बन्दुकको छुसी जसमा सलाईको बारुद हालिएको हुन्छ त्यो बत्तीको सम्पर्कमा आयो राखेको झण्डै दुई माना बारुद पड्कियो । ओछ्यान, राडी, सबै आगो लागे । तल्लो तलमा बसेर दिउँसोको लागि खाजा बनाउँदै गरेको बुवा माथि आउनुभयो र आगो निभाउनु भयो । अनि फेरि बुवाले रिसले यसको बन्दुक बालिदिनु पर्‍यो भनेर बन्दुकको कुन्दा लगेर आगोमा हाल्दा बन्दुकमा रहेको बारुद पड्केर चुल्होदेखि हाँडीसम्म सबै चकनाचुर भयो । धन्न त्यहाँ आमा अलि पर हुनुहुन्थ्यो र कुनै दुर्घटना भएन । त्यसपछि उहाँ दुई/तीन दिन घर नै आउनु भएन । बुवाको रिस शान्त भएपछि मात्र घर आउनु भयो । 

०००

उहाँको प्रारम्भिक शिक्षा कालिका निमाविबाट भएको हो । उहाँ घरमा भन्दा धेरै बुवासँग गोठमा बस्ने हुँदा स्कूल जाने आउने पनि गोठबाट गर्नुहुन्थ्यो । अनि ढोड बालेर पढ्ने गर्नुहुन्थ्यो । कहिलेकाहीँ घरमा आउँदा त उहाँलाई ठूलै सहर आएजस्तो लाग्थ्यो । 

स्कूलमा भौतिक पूर्वाधारको कमी थिएन । बस्नलाई बेञ्च अनि लेख्नलाई डेस्कको पनि व्यवस्था थियो । तर, उहाँ भर्ना हुनुभन्दा एक वर्ष अघि नै स्कूल जानुहुन्थ्यो । त्यो बेलामा भने पुरानो भवन भत्किएर नयाँ बन्ने क्रम चल्दै थियो । त्यस बेलामा भने उहाँहरु झण्डै ५/६ महिना चौरमा बसेर पढ्नु भयो । 

पाँच कक्षादेखि भने शुल्क तिरेजस्तो लाग्छ उहाँलाई । यति नै भन्ने यकिन नभए पनि ४०/४५ रुपैयाँ हुनुपर्ने उहाँको अनुमान छ । एकदेखि चार भुइँ तला र त्यसपछि सात कक्षासम्म माथिल्लो तलामा थियो स्कूल । त्यस बेला पनि कक्षामा महिलाको सहभागिता २५/३० प्रतिशत हुन्थ्यो । त्यो भनेको राम्रै उपस्थिति हो त्यसबेलाको । 

निमाविमा हुँदा पनि स्कूलमा अतिरिक्त क्रियाकलापहरु हुन्थे । कविता, वादविवाद तथा खेलकुद प्रतियोगिता हुन्थे । यो क्रम माध्यमिक तहमा आएपछि पनि भयो । माध्यमिक तहका लागि भने उहाँलाई झण्डै डेढ घण्टा हिँडेर स्कूल जानुपथ्र्यो । 

उहाँको माध्यमिक तहको पढाइ भने कालिनाग मावि सुनखानीमा भएको हो । त्यसबेला स्कूल भर्खर बन्दै गरेकोले बालुवा बोक्ने तथा काठ बोक्ने काम पनि गर्नुभयो । त्यसका अलवा जस्तापाता बोक्न जिल्ला सदरमुकामसम्म पनि गर्नु पर्थ्यो। 

माध्यमिक तह भने उहाँ मावलीमा बसेर पढ्नु भएको हो । उहाँको अनुहार पनि हजुर बुवासँग मिल्दो थियो । त्यसैले गाउँमा कसैले नदेखे पनि अनुहार हेरेरै फलानोको छोरो होइन भनेर उहाँको नाम लिएर सोध्थे उहाँलाई । 

एक पटकको कुरा हो उहाँ स्कूल नजिकैको एउटा पसलमा केही कामले हुँदा मावलीको ठूली आमा/सानी आमा पर्नेले बावु मावल आएको भनेर सोध्नुभयो । उहाँले जवाफमा होइन स्कूल पढ्न आएको भनेर जवाफ दिनुभयो । स्कूल त अनि उहाँको घर भएको ठाउँ दुम्कोटको नाउँ लिएर उता दुम्कोटमा पनि थियो  नि त भन्नु भयोे । उहाँको अनुहार हेरेर कलिलो देखेर निमावि त उतै थियो नि किन पढ्न यता आएको त भन्ने आशय थियो । उहाँको । उहाँले कति दुई/तीन कक्षामा पढ्छौ भनेर सोध्दा उहाँले होइन दश कक्षामा भन्ने जवाफ दिनु भएको थियो । उहाँको उमेर त्यस बेला १४ वर्षको थियो । त्यस बेला अरु विद्यार्थी भने अलि ढिलो स्कूल पढ्ने कारणले १८/२० को हुन्थ्यो ।

दिनको तीन हजारमा एक हप्ताका लागि भनेर निश्चित भएको काम विदेशीले किन्ने, खाने सबै ठाउँबाट आउने कमिशन गर्दा हप्ताको झण्डै साठी/सत्तरी हजार भएपछि भने उहाँलाई भाषामा पकड पनि हुने र काम पनि राम्रो भएको हुनाले केही वर्ष अगाडिसम्म अर्थात् कोरोना नआउञ्जेल सम्म जारी राख्नुभयो । 

उहाँले एसएलसी दिनुपर्ने चाहिँ २०४८ सालमा थियो । तर, दिनुभयो २०५० सालमा । त्यतिखेर घरबाट भागेर जाने एकप्रकारको चलन थियो । भयो के भने भर्खर भर्खर बहुदल आएको उहाँहरु चार जना पढ्न छोडेर भाग्नुभयो । एक जना काठमाडौँबाट र अर्को एक जना बाटैबाटो फर्किनु भयो । यहाँ दश कक्षामा पढ्दै गरेको मान्छे उहाँ भने दार्जिलिङमा गएर आठ कक्षामा भर्ना हुनुभयो  दार्जिलिङ पुग्नको कारण भने उहाँको काका त्यहाँ सरकारी जागिरे हुनुहुन्थ्यो । उहाँ दार्जिलिङमा आठ, नौ कक्षा पढेर फेरि यता आएर दश कक्षामा भर्ना भएर एसएलसी दिनुभयो । २०५० सालमा एसएलसी दिँदा उहाँको ब्याजमा झण्डै ४०/४५ जना विद्यार्थी हुन्थे । 

एसएलसी दिने बित्तिकै उहाँ फेरि दार्जिलिङ तथा कोलकाता जानुभयो । र, केही समय बसेर आउँदा यहाँ एसएलसीको रिजल्ट भएको रहेछ । रिजल्ट भएको दुई/तीन दिनमा बल्ल उहाँले आफू पास भएको थाहा पाउनु भयो । उहाँ द्वितीय श्रेणीमा पास हुनु भएको रहेछ । दार्जिलिङमा पढेर आएको हुनाले उहाँको नेपाली केही कमजोर भयो । त्यसका कारण मात्र उहाँको द्वितीय श्रेणी आएको रहेछ । अन्यथा उहाँ प्रथम श्रेणीमा उत्तीर्ण हुने उहाँको प्राप्ताङ्क थियो । 

०००

सदरमुकाम भए पढ्न खर्च दिन सक्छु नत्र पुर्याउन सक्दिन भनेर बुवाले उहाँलाई भन्नुभयो । तर, पढाइ रामो  भएका कारण उहाँलाई भने काठमाडौँ आएर पढ्न मन लाग्यो । अनि बुवाले दिएको तीन सय रुपैयाँ बोकेर उहाँ काठमाण्डौ आउनु भयो । 

काठमाडौँ आएर अस्कल तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्नाका लागि जाँच दिनुभयो । नाम त निस्कियो दुवै ठाउँमा तर, पैसा नभएका कारण भर्ना हुन सक्नुभएन । त्यसको सात महिनापछि बल्ल उहाँ आरआर क्याम्पसमा भर्ना हुनुभयो । 

त्यस बेल उहाँलाई काठमाडौँमा टिक्न बहुतै कठिन भयो । मजदुरी गर्छु भन्दा पनि काम पाइँदैन थियो । कहिले साथी कहाँ अनि कहिले कसै कहाँ बस्ने खाने गरेर चलाउनु भयो । सात महिनापछि बल्ल ललितपुरको ज्ञानोदय माविमा उहाँले नियमति पढाउन नभइकन कुनै कक्षा खाली भयो भने पढाउनका लागि भनेर काम पाउनु भयो । बस्ने खाने व्यवस्था स्कूलमा थियो । तलब भने महिनाको ७ सय ५० रुपैयाँ थियो । त्यो पैसा केही किताब किन्नमा खर्च भएको हो कि जस्तो लाग्छ उहाँलाई । आफू सरह काम गर्ने अरु हरुको तलब झण्डै दोब्बर भएको चाल पाएपछि आफू अलि अपमानित भएको जस्तो ठानेर उहाँ त्यहाँ ६ महिना मात्र काम गर्नुभयो । 

 त्यसपछि उहाँ दाइसँगै झम्सि खेलमै बस्न थाल्नुभयो । तर, दाइ पनि पढाउन अन्तै जाने भएपछि भने उहाँ अब पैसा कमाएर पढ्नु पर्छ भनेर फेरि भारततिर जानुभयो । र, सिक्किमको गान्तोकमा गएर गाडीमा झण्डै सात/आठ महिना काम गर्नुभयो । अनि फर्केर आएर आइए दोस्रो वर्षको जाँच दिनुभयो । आइए सकाउन पनि आर्थिक कारणले झण्डै चार वर्ष लाग्यो । र, यो समयमा मैनालीले चाइनिज रेष्टुरेण्टमा पनि काम गर्नुभयो । र, उहाँले पछि होटल तालिम लिएर झण्डै दुई वर्ष होटल रोयल सिंघिमा दुई वर्ष काम गर्नुभयो । 

होटलमा काम गर्ने क्रममा एक जना इटालियनले उहाँलाई एक वर्ष स्नातक पढ्नमा बाहिरबाट सहयोग गरे । पछि पनि त्यही विदेशीको सहयोगमा उहाँ पढ्नाका लागि भनेर इटालीको बोलोनिया युनिभर्सीटीमा जानुभयो । तर, त्यस अघि छ वर्ष पढ्नुपर्ने कारणले उहाँले सोझै युनिभर्सीटीमा पढ्न पाउनु भएन । र, उहाँ भाषा पढ्न तिर लाग्नुभयो । यता नेपालमा पनि होटलमा काम गरेको अनुभवका कारण काम पाउन गाह्रो परेन । र, भाषासमेत थपिँदा तलब पनि राम्रो पाउनुभयो । उहाँ झण्डै आठ वर्ष इटालीमा बस्नुभयो । श्रीमती छोरा पनि इटाली लैजानुभयो । तत्कालीन इटालीको कानुन अनुसार इटालीमा वैधानिक रुपमा छ वर्ष बसिसकेपछि त्यहाँको पासपोर्ट, नागरिकता पाउने हुन्थ्यो ।

तर, उहाँ भित्रको त्यो पढ्ने हुटहुटीले भने उहाँलाई कहिल्यै शान्त बनाएन । र, सपनामा पनि युनिभर्सीटी गएको देख्न थाल्नुभयो । त्यसैले उहाँलाई लाग्यो पैसा कमाउन त सकिने रहेछ तर, पढ्ने कुरा भने समय गएपछि गाह्रो हुन्छ । त्यसैले इटालीको काम छोडेर उहाँ उहाँ नेपाल फर्किनुभयो । अनि पढाइलाई जारी राख्दै स्नातकोत्तर गर्नुभयो । र, पढाइलाई टुंगो लगाएर विद्यावारिधिसम्म गर्नुभयो । युरोपमा धेरैले बुद्धको बारेमा सोध्ने तर, आफूलाई केही थाहा नभएकोले उहाँले बुद्धिज्म पनि पढ्न सुरु गर्नुभयो ।

नेपाल फर्केर केही समय घरजग्गा कारोबारमा पनि उहाँ संलग्न हुनुभयो । एकदिन उहाँ इटालीबाट आएको आफ्नो साथीलाई ठमेलमा भेटेर इटाललियन भाषामा कुरा गरिरहेको देखेर एक जना टुर गाइडले काम गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले नमान्दा नमान्दै पनि एउटा ग्रुपलाई टुर गराउने काम सुम्पनुभयो । दिनको तीन हजारमा एक हप्ताका लागि भनेर निश्चित भएको काम विदेशीले किन्ने, खाने सबै ठाउँबाट आउने कमिशन गर्दा हप्ताको झण्डै साठी/सत्तरी हजार भएपछि भने उहाँलाई भाषामा पकड पनि हुने र काम पनि राम्रो भएको हुनाले केही वर्ष अगाडिसम्म अर्थात् कोरोना नआउञ्जेल सम्म जारी राख्नुभयो । 

०००
उहाँ ५ कक्षामा पढ्दा झण्डै १० वर्षको उमेरमा त्यस बेला बडामहारानीको जन्मोत्सवको अवसरमा तेस्रो स्थान प्राप्त गर्नु भएको थियो । आइए पढ्दै गर्दा पनि उहाँले कविता र सायरीको एउटा डायरी नै बनाउनु भएको थियो । 

गोरखापत्र, मधुपर्क तथा विभिन्न अनलाइनहरूमा पनि उहाँका फुटकर कविता प्रकाशन भएका छन् । पछिल्लो समय उहाँ गजल विधामा सक्रिय हुनुहुन्छ । गजलको कृतिका रुपमा उहाँको पहिलो तुलसीको पात र नसुतेको रात अर्को गजल संग्रहका रुपमा प्रकाशित भएको छ । उहाँका मुक्तक तथा थुप्रै फुटकर कथाहरु पनि प्रकाशन भएका छन् । तर, कृतिका रुपमा आएका छैनन् । 

रातै हुन सबै खुन चिन्ता नराख केही
पुग्ने सबै उहीँ हुन चिन्ता नराख केही 
साउन बनेर कोही बर्सिन्छ सम्झनामा 
मंसिर हुनेछ मनसुन चिन्ता नराख केही

यस्ता चर्चित गजलमा कलम चलाउने उहाँका थुप्रै पुरस्कार र सम्मान पनि रहेका छन् । उहाँ पुष्प पराग साहित्यिक प्रतिष्ठानको अध्यक्षसमेत हुनुहुन्छ ।