कस्तो बन्ला अबको सत्ता समीकरण ? कति सम्भव सत्ता गठबन्धन सरकार ?

कस्तो बन्ला अबको सत्ता समीकरण ? कति सम्भव सत्ता गठबन्धन सरकार ?

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ११, २०७९

मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । मतपरिणाम अनुसार अहिलेको सत्ता गठबन्धन र एमालेको विपक्षी दुवै गठबन्धनलाई जनताले पूर्ण रुपमा नरुचाएको देखिन्छ । 

सत्ता गठबन्धनमा रहेका ५ दलले प्रतिनिधिसभाका १६५ सिटमा भागबण्डा गरेर चुनाव लडेका थिए । तर सत्ता गठबन्धनले सोचेजस्तो परिणाम ल्याउन सकेन । अघिल्लो निर्वाचनमा २३ सिटमा खुम्चिएको काँग्रेसले यसपटक ५३ सिट जितिसकेको छ भने ३ सिटमा अगाडि छ । काँग्रेस उम्मेदवार रहेका केही क्षेत्रमा गणना हुन बाँकी छ । 

यसैगरी गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले भने सत्ता गठबन्धनबाट खासै लाभ लिन सकेको देखिएन । अघिल्ला निर्वाचनमा जित्दै आएका क्षेत्र समेत यसपटक गठबन्धन गरेर पनि गुमाएको छ । उसले हालसम्म १७ सिट जितेको छ । माओवादी उम्मेदवार रहेको दोलखामा मतगणना बाँकी छ । 

यस्तै गठबन्धनमा रहेका एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र जनमोर्चाले १ सिट जितेको छ । यसरी हेर्दा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले हालसम्मको परिणाममा १६५ मध्ये ८८ सिट जित्ने देखिएको छ भने १/२ सिट थपिन सक्ने समेत देखिएको छ । 

प्रत्यक्षमा प्राप्त सिट र समानुपातिकको रुझान अनुसार सत्ता गठबन्धनको बहुमत आउने निष्कर्षसहित अहिलेकै ५ दलको सरकार बनाउने गृहकार्य सुरु भएको छ । प्रत्यक्षमा बहुमत आए पनि समानुपातिकमा काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय दल बनेर समानुपातिक सिट प्राप्त गर्ने निश्चित भइसकेको छ । एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने वा नबन्ने भन्ने निश्चित भइसकेको छैन । 

त्यसैले सत्ता गठबन्धनलाई अब सरकार बनाउन गणना हुन बाँकी क्षेत्रमा जित निकालेर पनि समानुपातिकमा करिब ४८ सिट आवश्यक पर्ने देखिन्छ । सत्ता गठबन्धनको फराकिलो मतान्तरसहित अग्रता भएका क्षेत्रमा समेत गठबन्धनका उम्मेदवार पराजित भएपछि मत ट्रान्सफर नभएको भन्दै असन्तुष्टि सुरु भएको छ । मुख्यगरी माओवादी र एकीकृत समाजवादीका केही नेताहरुले सत्ता गठबन्धनको मत एकीकृत नहुँदा र ट्रान्सफर नहुँदा परिणाम उत्साहपूर्ण नआएको बताइरहेका छन् । एकातिर सत्ता गठबन्धनको बलियो उपस्थितिका बाबजुद परिणाम सोचेजस्तो नआएका बेला अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर मिलेर अघि बढ्न प्रस्ताव गरेपछि त्यसले राजनीतिमा नयाँ खाले तरंग उत्पन्न गरिसकेका छन् ।

यद्यपि गठबन्धन सरकार बनाउन अहिलेको सत्ता गठबन्धनको बहुमत पुगेर मात्रै सहज देखिदैन । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता प्रमुख राजकीय पद भागबण्डा कसरी हुन्छ भन्नेमा समेत गठबन्धनको भविष्य निर्धारित छ । प्रधानमन्त्रीका लागि काँग्रेसभित्रै आधा दर्जन आकांक्षी छन् भने सत्ता गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादीबीच प्रधानमन्त्री आलोपालो हुँदा को पहिले प्रधानमन्त्री हुने भन्ने दौड छ । 

सत्ता गठबन्धनलाई फुटाउन ओलीले निर्वाचन अघिदेखि नै अनेकौं प्रयत्न गरेका थिए । सत्ता गठबन्धनमा रहेको जसपालाई एमालेसँगको गठबन्धनमा सामेल गराउँदाको फाइदा स्वरुप मधेसका कतिपय सिटमा जित हात पारेको छ । त्यसैले वर्तमान सत्ता गठबन्धनलाई थप टुक्रा बनाउन ओलीले कुनै कसर बाँकी राख्ने छैनन् । यही बुझेका काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन दलको बैठक राख्ने बारेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहमति गरिसकेका छन् । 

शनिबार भएको देउवा र प्रचण्डको छलफलमा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने र सरकार गठन गर्ने सहमति भएको देउवा निकट स्रोत बताउँछ । त्यसअघि शुक्रबार नै देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि टेलिफोन कुराकानी गरेका थिए । 

गणना भइसकेका १५५, गणना भइरहेका ७ र गन्न बाँकी ३ सिट तथा समानुपातिक सिटसहित १४० सिट पुग्ने सत्ता गठबन्धनको अनुमान देखिन्छ । प्रभु साह समूहले २ सिट जितेको छ र यो समूहलाई सत्ता गठबन्धनको साथ छ । विगतमा राष्ट्रिय जनता पार्टीबाट चुनाव जितेर पनि संसद छिर्न नपाएका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको ३ सिट र स्वतन्त्र निर्वाचित रेशम चौधरीका बाबु लालबिर चौधरीसहित चार सिट छ । निर्वाचन अघिमात्रै एमालेसँगको गठबन्धनमा गएको जसपालाई समेत मिसाएर सत्ता गठबन्धनको सरकार बनाउने कसरत सुरु भएको हो । 

यद्यपि गठबन्धन सरकार बनाउन अहिलेको सत्ता गठबन्धनको बहुमत पुगेर मात्रै सहज देखिदैन । प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता प्रमुख राजकीय पद भागबण्डा कसरी हुन्छ भन्नेमा समेत गठबन्धनको भविष्य निर्धारित छ । प्रधानमन्त्रीका लागि काँग्रेसभित्रै आधा दर्जन आकांक्षी छन् भने सत्ता गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादीबीच प्रधानमन्त्री आलोपालो हुँदा को पहिले प्रधानमन्त्री हुने भन्ने दौड छ । 

सरकार गठनमा राष्ट्रिय सँगै अन्तर्राष्ट्रिय चासो समेत देखिन थालेको छ । भारतीय राजदूत प्रधानमन्त्री निवासमै गएर सरकार गठनबारे चासो राखेका छन् । उनले सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना र अबको सरकार गठनका बारेमा चासो राखेको बताइन्छ । संसदमा पहिले भन्दा दलहरुको संख्या बढ्नु, कुनै पनि दलको बहुमत नहुनु जस्ता कारणले पनि अबको सत्ता समीकरण कस्तो हुन्छ भन्ने चासो बढेको छ । 

परिणामको सुरुवाती रुझानमा सत्ता गठबन्धनको बहुमत नपुग्ने देखेपछि माओवादी अध्यक्ष प्रचण्डसँग मिलेर जान प्रस्ताव गरेका एमाले अध्यक्ष ओली भने सरकार गठनबारे मौन छन् । उनले समानुपातिकतर्फ केही दलको मत धेरै बढेको प्रति भने शंका व्यक्त गर्दै आफ्ना प्रतिनिधिलाई चनाखो रहन भनेका छन् । 

यता काँग्रेसभित्रै साना साना पार्टीलाई लिएर सामान्य बहुमतको सरकार बनाउनुभन्दा एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज समेत मसिनो रुपमा उठ्न थालेको छ । खासगरी काँग्रेसको संस्थापन इतरका नेताहरु एमालेसँगको गठबन्धनको पक्षमा देखिन्छन् । 

यी तमाम प्रयासबीच अबको सत्ता गठबन्धन कस्तो बन्छ र कति स्थिर हुन्छ भन्नेमा आम चासो बढेको छ । अहिलेको संसदको समीकरणले सांसद खरिदबिक्री सम्मका विकृति निम्त्याउन सक्ने समेत चिन्ता नेताहरुले व्यक्त गर्न थालेका छन् । यस्तो अवस्थामा अब दलहरुले कसरी देशलाई स्थिरतातर्फ लैजान्छन् र संसदमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दलको भूमिका कस्तो हुन्छ भन्ने विषय झनै रोचक हुनेछ ।